PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिहान नागढुङ्गामा लागेको भिड, दिउँसो एकाएक पातलियो : आखिर विराटनगरबाट आएका कहाँ गए?



सविन ढकाल

बिहान नागढुङ्गामा लागेको भिड, दिउँसो एकाएक पातलियो : आखिर विराटनगरबाट आएका कहाँ गए?

काठमाडौं : 'सर मेरो श्रीमान् गाडी लिएर आउँदै हुनुहुन्छ। म जान्छु है?'

सोमवार बिहानै नागढुङ्गामा विराटनगरबाट आएकी एक महिलाले भन्दै थिइन्। उनले काखे बालक च्यापेकी थिइन्। शनिवार झन्डै १० घण्टा लामो यात्रा गरेर नागढुङ्गासम्म आइपुगेकी उनी चढेको बसलाई प्रहरीले रोक्यो। त्यसपछि उनीहरु बसबाट उत्रिए। उनी सहित १ सय ६० जनालाई प्रहरीले काठमाडौं प्रवेश गर्न नदिने बताएपछि उनी हारगुहार गरिरहेकी थिइन्।

एकैछिनपछि खटिएका प्रहरीलाई उनको हालत देखेर टिठ लाग्यो। सुटुक्क भने - 'एकछिन बस्नुस् अनि जानुहोला।'

ती प्रहरी माथिल्लो निकायबाट आउने आदेशको अनुमानमा बोलिरहेका थिए या उनको श्रीमान् आइपुगे भने जाने दिन सोचमा त्यो चाहिँ अनुमान मात्र गर्न सकिन्थ्यो। तर, बिहान नागढुङ्गमा देखिएकी उनी मध्यदिनसम्म त्यहाँबाट कतै गइसकेकी थिइन्।

बिहान साढे ९ बजेतिर नागढुङ्गा पुग्दा १ सय ६० जना मानिस रोकिएका थिए। सातवटा गाडीमा आएका थिए उनीहरु। विराटनगर महानगरपालिकाले बस रिजर्भ गराएर उनीहरुलाई काठमाडौं पठाएको सुनाउँदै थिए यहाँ अलपत्र परेकाहरु।

त्यहाँ मानिसको भिड भने घटिरहेको थियो। कोही कता लागे कोही कता। प्रहरीको घेरा यस्तो थियो कि कसैले काठमाडौं छिर्ने मुड बनायो भने, नसक्ने कुरै थिएन। सायद प्रहरी पनि त्यही चाहिरहेका थिए, कसैगरी जाउन्। किनकि रातारात गरेर बिहान काठमाडौं आइपुगेका उनीहरु प्रहरीसँग विवाद गरिरहेका थिए। उनीहरुसँग जति कुरा गरे पनि केही पार लाग्नेवाला थिएन।

त्यसो त प्रहरी पनि सरकारको तयारीले आजित भइसकेको छ लकडाउनका समयमा। भन्नलाई लकडाउन र व्यवहारमा घर जाउन् भन्ने सोच राख्ने सरकारी पाराले उनीहरुलाई आपत् पारिरहेको थियो। काठमाडौंबाट मानिस बाहिर पठाउँदा त कसैले केही भनेनन्। तर, यसपाला काठमाडौं भित्रिरहेका थिए - कोरोनाको सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रबाट। त्यसैले उनीहरुलाई अलमल्याएको थियो।

यसरी सडकमा अलपत्र परकाहरु कोही बच्चालाई खानेकुरा किन्ने त कोही पानी किन्ने बहानामा यताउती गरिरहेका थिए। त्यसैको असर हो मध्य दिनसम्म मानिसको संख्या पनि कम भइसकेको थियो।

मध्यान्न १२ बजे त भिडको सङ्ख्या करिव ५० देखि ६० मा सीमित भयो। आखिर अरु मानिस कहाँ गए? नागढुंगामा यसरी मानिस आइरहेका छन् भन्ने मिडियाबाट जानकारी पाएपछि काठमाडौं जिल्ला प्रशासनका कार्यालयका प्रमुख जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल लगायतको समूह नागढुङ्गा पुग्यो।

तर, उनीहरु पुग्दा करिब ५० जनाको मात्र समूह बाँकी थियो। त्यहाँ पुगेका उनीहरुले विराटनगर नै फिर्ता पठाउन निर्देशन दिए।

'करिब ५० जना हुनुहुन्थ्यो। उहाँहरुलाई फर्काउने निर्णय भएको छ,' एसएसपी ज्ञवालीले भने।

तर बाँकी मानिस कहाँ गए त? 'हामीले बुझ्दा उहाँहरु फर्किनु भएको छ भन्ने थाहा भयो,' एक प्रहरीले भने।

नागढुङ्गाको प्रहरी जाँच हुने ठाउँ छलेर मानिसहरु काठमाडौं भित्रने बाटोहरु धेरै छन् जहाँ प्रहरीले निगरानी गर्न सक्दैन।

यो पनि पढ्नुहोस्

न योजना, न कुनै सूचना : पूर्वबाट धमाधम यात्रु बोकेका बस काठमाडौंतिर

विराटनगरबाट आएका काठमाडौँवासी नागढुंगामै रोकिए, म्यासेज गरिगरी बोलाउने अहिले रोक्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell