PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

भर्चुअल कक्षा बहस : अघि बढ्यो विश्वविद्यालय, सबै विद्यार्थी समेटिएलान् त?



मुकुन्द घिमिरे

भर्चुअल कक्षा बहस : अघि बढ्यो विश्वविद्यालय, सबै विद्यार्थी समेटिएलान् त?

कोरोना भाइरसको बढ्दो प्रकोपसँगै शिक्षा क्षेत्र पनि प्रभावित छ। लकडाउन सुरु हुँदा त्यसको भोलिपल्टबाट तय एसइई, स्नातकोत्तर लगायतका परीक्षा प्रभावित बने। त्यस्तै त्यसपछि तय प्लस टु र स्नातकलगायतका परीक्षा र कक्षाहरु प्रभावित बनेका छन्। स्कुल लेभलमा नयाँ सेसन सुरु हुने समय आएको छ।

तर कक्षा कसरी शुरु गर्ने?

वैशाखको आधा महिना हुँदासम्म पनि कक्षा शुरु नहुँदा विकल्पबारे बहस चलिरहेको छ।

विकल्पमा भर्चुअल शिक्षाको बहस सबैभन्दा माथि छ अहिले। बहसमात्र होइन यसलाई कार्यान्वयन गराउन त्रिभुवन विश्वविद्यालयले परिपत्रसमेत गरिसकेको छ। र, त्यहीअनुसार कतिपय आङ्गिक क्याम्पसहरुले सूचना नै निकालेर भर्चुअल कक्षामार्फत अध्यापन गराउन विद्यार्थी र विभागहरुमा निर्देशन दिइसकेको छ।

तर, कतिपय विद्यार्थी र प्राध्यापकहरु नै टियुको यो निर्णयमा सन्तुस्ट छैनन्। कतिपय प्रविधिमा फड्को मार्ने अवसर आएको भन्दै रमाइरहेका छन्। विद्यार्थी सङ्गठनहरु मिश्रित प्रतिकृया दिइरहेका छन्। विशेषगरी यो कतिको उपयुक्त छ भन्नेमा विद्यार्थी संगठनहरु खुल्न नसकिरहेको देखिन्छ। यद्यपि भर्चुअल रुम उपलब्ध गराउँदै आएका सञ्जालबाट हुने यस्तो कक्षाबाट सबै विद्यार्थी नसमेटिने पनि सबैले बुझेका छन् र यो भन्दा गतिलो अर्को विकल्प नभएको पनि बुझेकै छन् सबैले।

काठमाडौं उपत्यका बाहिर गएका ग्रामीण भेगका विद्यार्थीलाई भने यो निर्णयले चिन्तित बनाएको छ।

‘कसरी धान्ने? नेटवर्क नै आउँदैन। मोबाइल पनि गतिलो छैन। यो प्रविधि प्रयोग गर्न आउँदैन।’ यस्तै गुनासो र समस्याहरु बाहिरिएका विद्यार्थीका छन्। कति सामाजिक सन्जालमा पोखेका छन् कति छैनन्।

+++

त्रिभुवन विश्वविद्यालका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा अहिलेको लकडाउन र भाइरस प्रकोपको समयमा घरमै बसीबसी शिक्षा लिने वातावरणको सिर्जना गरेको दावी गर्छन्।

त्यस्तै आवश्यक उपकरणमा पनि मोबाइल र इन्टरनेट भए खासै समस्या नहुने उनको ठहर छ।

‘इक्विपमेन्ट मोबाइल भए पुग्छ। ल्याप्टप भयो भने आइडिएल हुने त्यहीँ हो। संसारभरी चलेको। होइन भने मोबाइलबाट पनि मज्जाले हुन्छ। त्यसैले इन्टरनेट भएको ठाउँमा समस्या छैन,’ बास्कोटाले पहिलोपोस्टसँगको कुराकानीमा भनेका छन्, ‘हाम्रो दुर शिक्षा विभागले विकट जिल्लाहरु डोटी, कैलालीलगायत त्यहाँका विद्यार्थीलाई त पहिलेदेखि नै पढाइराखेको छ। अर्को कुरा नेपाल टेलिकमसँग डेटा माग्दा धेरैसँग पहुँच रहेको देखियो। दोस्रो, इन्टरनेट भएको ठाउँमा विद्युतको आपूर्ति भएन भने समस्या हुन्छ। अहिले बिजुली नियमित भएको अवस्था छ।’

उनको तर्क अझै टेलिकमलगायतका निकायहरुसँग समन्वय गरेर अवस्था सजिलो बनाउने भन्ने छ।

यद्यपि बास्कोटाकै तर्कलाई मानेर देशभर अवस्था सहज छ भन्ने अवस्था चाहीँ छैन। बुझ्न पर्ने कुरा के छ भने नेपाल काठमाडौंमात्र होइन दार्चुला पनि हो र हुम्ला र ताप्लेजुङ पनि हो।

यसैबीच बढ्दो असन्तुस्टिलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यलयले वैशाख १४ गते आङ्गिक क्याम्पसका पदाधिकारीलगायत सँग भिडियो कन्फरेन्समार्फत बैठक गर्‍यो। त्यसयता भर्चुअल शिक्षाबारे कडा सुनिदै आएका पदाधिकारीहरु पनि यसप्रति नरम सुनिन थालेका छन्।

टियुको कुनै प्रभावकारी योजना आउने भएर पो हो कि? या अरु केही?

+++

त्यस्तै त्रिभुवन विश्वविद्यालयले सोमवार विद्यार्थी संगठनका नेताहरुसँग भर्चुअल बैठक गरेको थियो। बैठकमा सहभागी नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले यसबारे सोमवार पहिलोपटक बैठकमा आफूहरुलाई बोलाएको बताए।

त्रिभुवन विश्वविद्यालयको सबैलाई यसरी समेटेर लैजाने भन्ने खाल्को योजना नसुनिएको र जति सम्भव हुन्छ त्यतिलाई समेटेर लैजाने खालको योजना देखिएको उनले बताए।

‘सबैलाई समेट्ने भन्ने खालको कुरामा लागियो भने कहिल्यै सम्भव हुँदैन। जति सकिन्छ गर्दै लैजाने। बाँकीलाई पनि समेट्दै लैजाने भन्ने खालको कुरा आयो,’ उनले भने।

टियुमा प्राध्यापकहरुले गरेको एक अध्ययन बमोजिम नेटवर्क नै नआउने ठाउँ करिब १० प्रतिशत विद्यार्थी रहेको र ३० प्रतिशत चाहीँ नेटवर्क भएर पनि चलाउन नसक्ने अवस्थामा रहेको एक अध्ययनको हवाला दिँदै तिनीहरुलाई कसरी समेटने भनेर आफूले विषय उठाएको बताए।

तिमल्सिनाले नेविसंघको तर्फबाट १७ बुँदामा बैठकमा उठाएका विषयहरु भन्दै सामाजिक सन्जालमा उल्लेख गरेका छन्।

जसमा भर्चुअल कक्षाबारे विश्वसनीयता, दीर्घकालीन नीति, प्रविधिको पहुँच, पूर्वतयारी लगायतका विषय छन्।

‘अनलाईन कक्षा सन्चालन निर्देशिकामा शिक्षकको कक्षा रेकर्ड गर्ने, सहभागिको क्रियाकलाव निकाय प्रमुखलाई बुझाउनु पर्ने, अनलाइनमा सिकाइ सामाग्री राख्नु पर्ने ब्यवस्थाले त्यसको प्रतिलिपि अधिकार कतिको सुरक्षित छ?’ तिमल्सिनाले प्रश्न उठाएका छन्, ‘अबको शिक्षा कुन मोडालिटीमा जाने हो? त्रिवि कतै खुला विश्वविद्यालय त बन्ने होइन?’

त्यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले भर्चुअल कक्षा सन्चालनमा आफ्नो समर्थन रहे पनि सबै विद्यार्थी समावेश हुनपर्नेमा आफ्नो चासो रहेको बताए।

त्रिभुवन बिश्व विद्यालय ले ०७७ बैशाख १५ गते आयोजना गरेको प्रविधिको प्रयोग बाट Online कक्षा संचालन सम्बन्धि Virtual...

Posted by Baldev Timalsina on Monday, April 27, 2020

‘सबैको पहुँच पुर्‍याउनका लागि सबैभन्दा पहिला त त्रिभुवन विश्वविद्यालले नेपाल टेलिकमसँग यसको सम्झौत गर्नु पर्‍यो। एनटिसीले सबैतिर नेटवर्क विकास गरेर सके निशुल्क नभए पनि सहुलियत दिनु पर्‍यो,’ नेता महरले भने, ‘एनटिसीसँग पनि हामीले कुरा गरेका छौ। त्यसमा सकारात्मक छ। तर टियुले सम्झौता गराउनु पर्‍यो। त्यस्तै शिक्षामन्त्रीसँग पनि कुरा गरिसकेका छौं,’

बहसहरु बीच टियुका आङ्गिक क्याम्पसहरुले भर्चुअल कक्षा सन्चाालनका लागि सम्बन्धित विभागलाई पत्राचार गर्न पनि शुरु गरिसकेका छन्। अब विशेषगरी काठमाडौंबाहिरका विद्यार्थीलाई यो प्रणालीले कतिसम्म समेट्न सक्छ त्यो महत्वपूर्ण छ। 

सम्बन्धित समाचार :

लकडाउनको दुई सातापछि परीक्षा, अहिले चाहिँ अनलाइनबाटै शिक्षा : त्रिवि उपकूलपति धर्मकान्त बास्कोटा (अन्तर्वार्ता)

भर्चुअल कक्षाका कुरा: हुनेखानेलाई शिक्षा, नहुनेलाई निषेध?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell