PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फुटबल भनेको धान रोपेजस्तो होइन, चिया खेतीजस्तो हो : कर्मा छिरिङ शेर्पा (अन्तर्वार्ता)



पहिलोपोस्ट

फुटबल भनेको धान रोपेजस्तो होइन, चिया खेतीजस्तो हो : कर्मा छिरिङ शेर्पा (अन्तर्वार्ता)

अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्मा छिरिङ शेर्पाले नेतृत्व लिएको दुई वर्ष पूरा भएको छ। वैशाख २२ गते उनको नेतृत्वले दुई वर्षे कार्यकाल पूरा गर्‍यो। अघिल्लो वर्ष २२ वैशाखलाई एन्फा दिवसका रुपमा मनाइएको भए पनि यसपाला सुनसानमात्रै रह्यो। कोरोनाको बढ्दो संक्रमण दर र लकडाउनका कारण खेलका गतिविधि झै यो दिवस पनि ओझेमा पर्नु अस्वभाविक थिएन। फुटबलमा परिवर्तनको नारा लिएर आएका शेर्पाको २ वर्षे कार्यकालबारे मुकुन्द घिमिरेले गरेको कुराकानी।

एन्फाको नेतृत्वमा २ वर्षलाई कसरी हेर्नु भएको छ?

यो दुई वर्ष चुनौतीपूर्ण थियो। हामी आउँदा नेपाली फुटबलको अवस्था ध्वस्त थियो। लिग रोकिएको थियो। एकेडेमीहरु पनि सन्चालन नभएको अवस्थामा थिए। हरेक क्षेत्रमा भद्रगोल। आर्थिक रुपमा पनि नाजुक। हामीले हरेक कुरा जिरो लेभलबाट शुरु गर्‍यौं। कामहरु अघि बढायौं। राष्ट्रिय टिमहरु सबै उमेर समूहको महिला पुरुष बनाउन पनि हामी सफल भयौं। त्यही अनुसारको राष्ट्रिय प्रतियोगिताहरु गराउन पनि सफल रह्यौं। एन्फा एकेडेमी सात वर्षपछि सन्चालन गर्‍यौं। त्यसपछि एन्फा डे मनाउन थाल्यौं। खेलाडीको तलब बढाउने काम थाल्यौं। धेरै कोचहरुले अहिले राम्रो तलब पाउने हुनुभएको छ। कोचहरु हुनुहुन्छ। अबका दिनमा जिल्ला, प्रदेश, केन्द्रहरुमा नियमित प्रशिक्षण गराउने कार्यक्रमहरु तय गरेका छौं। महिला लिगको सुरुवात गर्‍यौ।

यी गतिविधिले फुटबल खेलको स्तर चाहिँ कहाँ पुगेको मूल्यांकन गर्नुहुन्छ?

पुरुष फुटबलमा दक्षिण एसियाली खेलकुदमा छोटो समयको तयारीको बाबजुद ३५ वर्षपछि आफ्नै भूमिमा स्वर्ण पदक ल्याउन सफल रह्यौं।

विश्वकप छनोटको खेलहरुमा कुवेतसँगको दोस्रो खेलमा राम्रो प्रदर्शन गर्दै १-० ले मात्र पराजित भयौ। त्यस्तै हामीभन्दा माथिल्लो बरियतामा रहेको चाइनिज ताइपेइलाई जित्न सफल भयौं।

महिला फुटबलमा उल्लेखनीय उपलब्धि हात पार्‍यौं। त्यो भनेको महिला फुटबल टिमले ओलम्पिकको दोस्रो चरणमा ऐतिहासिक रुपमा पुग्न सफल भयौं। एएफसीमा यू १९ का महिलाहरु दोस्रो चरणमा पुग्न सफल भए। अन्तर्राष्टिय प्रतियोगितामा हिरो गोल्डकपमा दोस्रो हुन सफल भयौं। कीर्गस्तानमा भएको नाडेज्दा कपमा दोस्रो हुन सफल भयौं।

हामीले हामी भन्दा माथिल्लो वरियताका इरान र इन्डियालाई पनि पराजित गर्‍यौं। म्यानमार र थाइल्यान्डसँग बराबरी गर्‍यौं।

मुलुकभित्र फुटबलमा परिवर्तन के भए त?

एन्फाको कोचिङ कन्भेक्सनका लागि एएफसीमा एप्लाई गरेका छौं। एन्फाको आफ्नो करिकुलमहरु विकास गरेका छौं। अबको आउने दिनहरुको कोचहरुकै लागि विदेशीहरुको मुख ताक्नुपर्ने अवस्था आउँदैन। नेपालमै ए लाइसेन्स, बी लाइसेन्स, सी लाइसेन्स, डि लाइसेन्स को व्यवस्था हामीले गरेका छौं।

सातै वटा प्रदेशमा डी लाइसेन्सको कोर्स गरेका छौं। सातैवटा प्रदेशमा रेफ्रीको बेसिक कोर्षहरु शुरु गर्‍यौं। राष्ट्रिय रेफ्रीको १४ वर्षपछि कोर्षहरु गरायौं। यसले गर्दा अहिले धेरै रेफ्रीहरु उत्पादन भएका छन्। धेरै कोचहरु पनि उत्पादन गर्न सफल भएका छौं। यसले अबका दिनमा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।

स्थगित भएको स्कुल टुर्नामेन्ट पनि हामीले सुचारु गर्‍यौं। पहिलो पटक मोफसलमा महिला साफ गेम विराटनगरमा गर्न सफल भयौ|।

यसले दुई वर्षको अवधिमा त्यसमा पनि केही समय कोभिड १९ ले खाएको छ, शुरुमा तयारी गर्ने विधान बनाउनु पर्ने कामले पनि केही डिस्टर्ब भएको थियो। विधानलाई संघीय संरचना अनुसारको बनाउन सफल भएका छौं। आर्थिक नियमावली र आर्थिक कार्यविधी, कर्मचारी नियमावली र कर्मचारी कार्यविधी लागू गर्न हामी सफल भएका छौं। मोफसलका प्रतियोगिताहरुलाई व्यवस्थित गर्न मोफसल नियमावली पनि जारी गरेको छ।

आर्थिक नियमावली, कर्मचारी प्रसाशन नियमावली, खेलाडी दर्ता नियमावली बनाउने,राष्ट्रिय लिग गर्नुछ भन्नु भएको थियो अध्यक्षमा विजयी भएको दिन। यसमा कति सफल हुनु भयो?

अब यसमा खेलाडी अनलाइन दर्तामा हामी १०० प्रतिशत सफल भएका छौं। त्यसपछि क्लबहरुको दर्ता पनि अनलाइन गर्नेमा पूरा सफल भएका छौं। जिल्ला लिग सफल भएको छ। प्रदेश लिग तीनवटा प्रदेशमा सफल भएको छ। तीनवटा प्रदेशमा तयारी अवस्थामा थियो। अहिले कोभिड १९ का कारण स्थगित भएको छ। यसलाई वैशाख भित्र सक्ने हाम्रो खेल तालिका थियो। अब यो कोभिड १९ बाट पार लागेपछि र सहज रुपमा अवतरण भएपछि कुनैपनि कार्यक्रम जहाँबाट स्थगित भएको छ, त्यहीबाट सुरु गर्ने हिसाबले हामी तयारी अवस्थामा छौं।

ग्रास रुटलाई प्राथमिकतामा राख्ने भन्नु भएको थियो। तर, २०७६ सालमा त यू १५, यु १६, यु १८ र यू १९ उमेर समूहमा प्रदर्शन उत्साहजनक देखिएन नि?

हामीले हालसम्म आफ्नै खेलाडी उत्पादन गर्न सकिरहेका छैनौं। खेलाडी यो यू १५, यू १६ भनेको तयारी गर्दा खेरी यो क्वीक्स कपलाई आधार बनाएर खेलाडीहरु छनोट गरेको हो। कुनै पनि उमेर समूहको खेलाडी तयार गर्न हामीले कम्तीमा पनि १ देखि २ वर्ष लाग्छ। अब अर्को साल पनि रिजल्ट आएन भने चाहिँ हामीलाई प्रश्न उठाउन सक्नुहुन्छ। किनभने अब हामीसँग यू १५ का खेलाडीहरु धरान र बुटवलमा ५२ जना खेलाडी राखेका छौं। विभिन्न स्थानमा हामीले नियमित तालिम गराइरहेका छौं। त्यसले गर्दा अबका दिनहरुमा यू १५ को क्लब स्तरीय खेलहरु खेलाउने, यू १८ को क्लब स्तरको खेलहरु खेलाउने लगायतको योजनाहरु पनि हामीले बनाइरहेका छौं। त्यसले गर्दा अब आउने दिनहरुमा नतिजा आउँछ।

फुटबल भनेको धान रोपेजस्तो होइन। फुटबल भनेको चिया खेती गरेजस्तो हो। यसको चाहिँ फाउन्डेसन राम्रो बनाउन सकियो भने त्यसले दीर्घकालीन फल दिन्छ। त्यसैले गर्दा यू १५, यू १६ को व्यवस्थित विकासका लागि एकेडेमीहरु सन्चालन गर्ने, स्कुल लिगहरु सन्चालन गर्ने गर्दैछौं। नियमित प्रतियोगिता, नियमित प्रशिक्षण र पूर्वाधार भयो भने मात्रै हुनसक्छ भन्ने हिसाबले कार्ययोजना सहित हामी अघि बढ्दै छौ|।

कोरोनाले सबै फुटबल गतिविधि ठप्प पार्‍यो। बी डिभिजन बीचमै रोकियो। सी डिभिजनको अत्तोपत्तो छैन। अब कोरोना पछि कसरी माथि उठ्ने योजनामा हुनुहुन्छ?

कोरोनापछि भनेको मैले अघि पनि भने जहाँ कुनै पनि कार्यक्रम स्थगित भएको छ, त्यहीबाट कार्यक्रमहरुलाई अघि बढाउँछौं। विनासले पनि विकास निम्ताउछ भनेजस्तै महामारी आयो भनेर हामी चुप लागेर बस्दैनौ। बसेका छैनौं। अब अझ हामीले नयाँ चुनौतीका साथ, नयाँ कार्यक्रमका साथ अघि बढ्छौं र नेपाली फुटबललाई यो भन्दा माथिल्लो स्तरमा पुर्‍याउने काम गर्छौं। अहिले पनि हामी कार्ययोजना सहित अघि बढेका छौं। अहिले एन्फाको वेबसाइटलाई अझ आधुनिक बनाउने हिसाबले लागेका छौ। भोलिचाहिँ पत्रकारले खेलाडीको बारेमा जान्न चाह्यो भने खेलाडीहरु कुनकुन क्लबमा दर्ता भएको छ भनेर पृष्ठभूमिसहित वेबसाइटमा देख्न सकिने छ। कोको विदेशमा खेल्न गयो? को पदाधिकारी कहाँ गयो भन्ने लगायतका सबैकुराहरु वेबसाइटमै देखिने गरेर एन्फाको विधान के छ? पब्लिकेसनहरु केके छ? अहिले सम्म केके गरेको छ? ग्रास रुटको कार्यक्रम केके हो? क्यालेन्डर केके हो? टाइसिटहरु के हो? सबै कुराहरु वेभसाइटमा अपडेट गर्ने गरेर हामी काम गरिरहेका छौ। त्यस्तै विभिन्न रेगुलेसनहरु बनाउने काम हामीले गरिरहेका छौं।

सम्बन्धित समाचार:

एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमबारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ

२०७६ मा फुटबल : घरेलु मैदानमा नजुरेको त्यो अवसर...

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell