काठमाडौं : 'नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने? कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।'
राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता र सांसदले कोरोना भाइरस फैलाएको आरोप लगाए। राहत वितरणका नाममा गाउँगाउँमा मान्छे जम्मा पारेर नेताहरुले कोरोना भाइरस सारेको उनको तर्क थियो।
पछिल्लो समय काठमाडौं उपत्यकामा भित्रिएका कोरोना भाइरसका संक्रमितहरु सरकारको लापारवाही, सर्वसाधरणको हेलचेक्राइ र नेताहरुको बलमिच्याइका कारण देखिएका हुन्।
आइतवार कपन सिल गरियो। सर्लाहीबाट आएकी किशोरीमा कोरोना संक्रमण देखियो। उनीहरु मोटरसाइकलमा काठमाडौं आएका थिए, रातारात। तर, सुरक्षा निकायले भनिरह्यो - काठमाडौं नाका सुरक्षित छ। मानिसहरु आउजाउ पूरै रोकेका छौं।
बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी कपिलबस्तुकी बालिकालाई दूधको ट्यांकरमा लुकाएर काठमाडौं ल्याइयो। उनलाई ल्याउने अभिभावकको हेलचेक्राँइ त थियो नै सरकारी लापारवाहीले पनि ट्यांकरबाट काठमाडौं भित्रिएकी उनलाई रोक्न सकेन।
अहिले त्रिवि शिक्षण अस्पताल नै क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आयो।
बिहीवार काठमाडौंका एक बालकमा कोभिड- १९ पोजेटिभ देखियो। चन्द्रगिरि नगरपालिका वडा १ को दहचोकका उनी बाराबाट आएका हुन्। लकडाउन लाग्नुअगाडि उनकी आमाले माइती बारा लिएर गइन्। त्यहीदेखि २५ दिन अगाडि एम्बुलेन्समा छोरो लिएर फर्किइन्।
त्यस्तै, काठमाडौंमा संक्रमित पुष्टि भएकी अर्की महिला सशस्त्र प्रहरीकी श्रीमती हुन्। प्रहरीकै गाडीमा लकडाउनकै बीच कञ्चनपुर पुगेर फर्किइन्। उनमा पनि कोरोना संक्रमण पुष्टि भयो।
कञ्चनपुरबाट आएकी उनलाई श्रीमानले सशस्त्र प्रहरीको अस्पतालमा परीक्षणका लागि लगे। कोरोना पोजेटिभ देखियो। सशस्त्र प्रहरीकै गाडीमा आएकी उनीसँगै अन्य ८ जना पनि काठमाडौं आएका थिए।
लकडाउन जारी भएसँगै जिल्ला प्रशासन कार्यालयले पास जारी गर्यो। यसरी जारी गरिएका पासहरु नेता तथा सांसदहरुको पहुँचमा हुनेले दुरुपयोग गरे।
सर्वसाधारणलाई काठमाडौंमा भोकले मर्ने देखेर घर हिँड्दै जानेहरुलाई प्रहरीले नाका नाकामा रोक्यो तर त्यस्ता पास बोकेकाहरु निर्धक्क काठमाडौं बाहिर पुगे। घुमे फर्किए कोरोना भाइरस बोकेर।
भक्तपुरमा पुष्टि भएकी एक युवती लकडाउनकै अवधिमा सुनसरी पुगेर फर्किएको खुलेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास लिएर उनी आफ्नो घर सुनसरी पुगिन र फर्किइन्। उनमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
उनमा संक्रमण पुष्टि भएसँगै उनी कार्यरत अस्पताल निधान अस्पताल पनि क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यता आइ लाग्यो।
लकडाउन सुरु हुँदै गर्दा काठमाडौंमा डेरा गरी बसेका सांसदहरु काठमाडौंबाट बाहिरिए। संसदको हिउँदे अधिवेशन सुरु भयो। गाउँगाउँ पुगेका सांसदहरु पनि नेपाल आइपुगे। यसरी बाहिरबाट काठमाडौं आउनेहरु आफ्नै निजी साधन भएका र शक्तिशाली पार्टीका शक्तिशाली सांसदहरु बढी छन्।
विकट जिल्लाका आफूसँग साधन नभएका सांसदहरु भने जिल्लामै गाउँमै रोकिएका छन्।
'यस्तो अवस्था छ। गाडी चलेका छैनन्। कसरी काठमाडौं फर्किनु। गाउँमै छु,' अछामका सांसद यज्ञ बोगटीले भने।
लकडाउनको सुरुवाती दिनमा संक्रमण कम थियो। लकडाउन लम्बिँदै गयो। संक्रमितको संख्या दुई सय नाघिसकेको छ। यसबीच सांसद नेताहरु राहत बाँड्ने नाममा तस्विर खिचाउन भिड जम्मा गरे। यिनै भिडले संक्रमणको जोखिम बढाएको राष्ट्रियसभा सदस्य विडारीले बताएका थिए।
स्थानीय तहलाई राहत बाँड्ने जिम्मा दिनुपर्ने उनको तर्क थियो।
काठमाडौंमा एक पछि अर्को गर्दै लकडाउनकै अवधिमा बाहिरबाट आउनेमा संक्रमण पुष्टि हुनु सरकारको लापारवाही र सर्वसाधरणको हेलचेक्राइ बढी देखिन्छ।
संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले प्रयाप्त मात्रामा परीक्षणको दायरालाई बढाउन सकिरहेको छैन। सरकारले एक पछि अर्का जोखिम बढाउने निर्णय गर्दै गएको छ। सरकारले साता अगाडि गरेको निर्माण लगायतका उद्योग तथा व्यवसाय सञ्चालनको अनुमति दियो। यसबीच बाहिरिएका मजदुरहरु लुकिछिपी काठमाडौं भित्रिन थाले। योसँगै संक्रमणको जोखिम बढ्यो।
महिना अगाडि काठमाडौंमा रहेकालाई बाहिर जान दिने निर्णय गर्यो सरकारले। पुन: निर्णयबाट पछि हट्यो। सत्तारुढ दलका नेता सांसद स्थानीय तहका प्रतिनिधिहरुले ठूलो रकम खर्च गरेर चुनावका लागि मतदाता ओसारे जस्तै गरी सर्वसाधारण फर्काए। उनीहरुमा संक्रमणको जोखिम थियो। तर, परीक्षण हुन सकेको छैन।
काठमाडौंबाट बाहिर गएकाले बाहिरलाई जोखिम बढाए। बाहिरबाट लुकिछिपी काठमाडौं आएकाले काठमाडौंमा जोखिम थपे।
यसबीच बाग्लुङ जिल्लाबाट पर्सा पुगेकामा संक्रमण पुष्टि भयो। चितवनबाट हिँड्दै बारा पुगेकामा संक्रमण देखियो। लकडाउन लगाए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेन्। हुने खाने र पहुँच पुग्नेले रहरले उल्लंघन गरे। शक्ति देखाउँदै घुमेर फर्किए। हुँदा खानेहरु खान नपुगेपछि बाध्य भएर उल्लंघन गरे।
सरकारको लापारवाहीले थप संक्रमणको जोखिम बढायो।