PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाले लडेको देश, बेखबर प्रधानमन्त्री!



सहयोग रञ्जित

कोरोनाले लडेको देश, बेखबर प्रधानमन्त्री!

जतिबेला देश कोरोना भाइरस संक्रमणसँग लड्ने तयारीमा थियो ठिक त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य अवस्थालाई स्थिर बनाउन लडिरहेका थिए। कुरा धेरै पुरानो होइन। गत फागुनको हो। प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदा देशमा कोभिड १९ को एउटा केस देखिएको थियो। संक्रमित पनि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। केही मन्त्रीको भाषामा 'नेपाल कोरोना मुक्त थियो।' नेपालमा कोरोनाले महामारीको रुप नलिनेमा धेरैजना विश्वस्त थिए।  

शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि भर्ना भएका ओलीको स्वास्थ्यलाई लिएर धेरै अड्कल भए। प्रत्यारोपण सफल हुने नहुने आशंकाबीच शल्यक्रिया सफल भयो। शल्यक्रियापछि ओलीले नेपाली नागरिकलाई स्पष्ट सन्देश दिए 'अब मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्छ।

यसबीच पहिलो कोभिड १९ केस देखेर नआत्तिएको काठमाडौं कोरोनाको 'जिरो एक्टिभ केस' हुँदा त्रासमा बस्न सुरु भइसकेको थियो।

फागुन ३० गते प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट निवास फर्किए। भर्खरै शल्यक्रियाबाट उठेका प्रधानमन्त्री ओलीले आत्मविश्वास झल्काउन हात हल्लाउँदै मिडियासामु आए। झण्डै लडेका प्रधानमन्त्रीलाई चिकित्सक र सुरक्षाकर्मीले सम्हाले।

धेरैको विश्वास थियो, प्रधानमन्त्री ओलीले नेपाललाई कोरोनाबाट लड्नबाट सम्हाल्नेछन्। तर कोरोनासँग लड्ने रणनीति बनाउन न त प्रधानमन्त्री अग्रसर भए न विभागीय मन्त्रीले ठिकठाक तयारी थाले। प्रधानमन्त्रीभन्दा बढी गैरजिम्मेवार त स्वास्थमन्त्री भानुभक्त ढकाल भए। कहिले चीनले जसोजसो गर्छ हामीले उसै गर्ने हैन हामीकहाँ संक्रमित छैनन् भनेर विपक्षी दललाई व्यङ्ग्यवाण गरे। कतिपय दिन उनका घरमा 'पाहुना' आए।

चैत ११ बाट मुलुक लकडाउनमा गयो तर कार्यकारी जिम्मेवार देखिएनन्। लकडाउनमा गर्नुपर्ने परीक्षणले तीव्रता पाएन। बरु उल्टै प्रधानमन्त्रीबाट आह्वान भयो म निवासबाटै शासन चलाइरहेको छु तपाईँहरु पनि घरभित्रै बस्नुस्। दुई सातामै विडम्वना यस्तो भयो कि व्यवस्थापनका लागि सडकमा निस्कनुपर्ने शासक बालुवाटार र पुल्चोकमा सीमित भए, घरमै बस्नुपर्ने नागरिक घरबाहिर निस्किए। लाम लागेर अस्तव्यस्त रुपमा गाउँ फर्किए।   

लकडाउनकै बीचमा पनि राजनीतिक माथापच्चीसीले प्रधानमन्त्रीलाई कोरोना केन्द्रित हुनै दिएन। जसोतसो आफूलाई सम्हाल्दै बालुवाटारमा टिकिरहेका ओलीमाथि आफैँले बाँडेका सपना भारी भइरहेका थिए। यसपटक भाइरसबाट नेपाललाई बचाउने चुनौतीले उनलाई थप थिचेको छ।

प्रधानमन्त्री ओली कुनै पनि चुनौतीलाई हल्का रुपमा लिँदैनन्। विरोधीलाई बाँकी पनि छाड्दैनन्। तर यसपटक विरोधी अदृश्य भाइरसको रुपमा देखिएको छ। जसबाट प्रधानमन्त्री आफैँ बच्नु छ र जनतालाई बचाउनु छ।

तर, देशमा संक्रमण फैलिन नदिन सरकारले जति तयारी गरेको बताएपनि 'ग्राउन्ड जिरो' को तयारी निकै फितलो छ।

चैत ११ गते लकडाउन सुरुगर्दा देशमा कोरोनाको एउटामात्रै एक्टिभ केस थियो। लकडाउनको दुई महिना कटिसक्दा संक्रमितको संख्या ६ सय नाघिसकेको छ।

तर पनि प्रधानमन्त्री विश्वस्त छन्, 'हाम्रो तयारी अरु देशभन्दा राम्रो छ।'

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसक्दा प्रधानमन्त्री 'ग्राउन्ड रियालिटी' बाट पर बालुवाटारभित्र छन्। त्यसैले त देशमा सोमबार 'लाइभ' सम्बोधनका क्रममा उनले नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताए।

कोरोनोले देशमा भय नै मच्चाइसकेको छैन कि मृतकको संख्या थाहा पाउन हम्मेहम्मे परोस्। तर, प्रधानमन्त्री बेखबर छन्।

प्रधानमन्त्री आफैँ भन्छन्, 'म दैनिक १६ घण्टा काम गर्छु।' प्रधानमन्त्रीको आत्मविश्वासमाथि कसैको सन्देह छैन पनि। तर, काम कुरो एकातिर कुम्लो बोकी बालुवाटारमा मात्रै बस्दा जनताबीच पुग्न प्रधानमन्त्री सकेका छैनन्।

कुन अनलाइनले कति बजे फोटो अपलोड गर्‍यो भनेर याद गर्ने प्रधानमन्त्रीलाई मृतकको संख्या अपडेट हुन रोक्ने प्रम्पटरलाई कारबाही हुनुपर्ने हो। यसमा उनको भाषण लेख्नेको कुनै गल्ती छैन।

संख्याको कुरा छाडौं। स्वास्थ्यकर्मीहरुले कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको मृत्यु कोरोनाकै कारण नभएको ठोकुवा गर्छन् प्रधानमन्त्री।

एक साताअघि राष्ट्रियसभामा उनले भनेका थिए' अहिले दुईजना मर्‍यो भनेको कोरोनाले छोएपछि मेरकोलाई कोरोनाले मरेको नै मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्रै कोरोनाले भनेको हो। वास्तवमा कोरोनाले बितेका होइन। बितेको अरु कारणले हो। अरु कम्पिल्केसनले हो। कोरोना विमारीले भएको होइन त्यस्तो।'

प्रधानमन्त्रीले यसो भनिरहँदा दुई जनाको मात्रै मृत्यु भएको थियो। अहिले मृतकको संख्या ४ पुगिसकेको छ। प्रधानमन्त्रीका लागि ३ नै सही।

प्रधानमन्त्रीलाई थाहा होला कि नहोला? चार मृतकमध्ये तीन जनाको कोरोना पुष्टि मृत्युपछि मात्रै भएको थियो। मृतकलाई आफूलाई कोरोना लागेको समेत थाहा थिएन। मृत्युको कारक कोरोना हो।

कोरोनाका कारण पहिलो मृत्यु हुनु एक दिनअघिसम्म सरकारको नीति थियो,'कोरोनाबाट जिरो डेथ'। पहिला 'कोरोना मुक्त राष्ट्र बनाउने' भनेको जस्तै। तर संक्रमितको मृत्यु भएपछि सरकार आफ्नो नीतिबाट पछि हट्नुपर्‍यो। त्यसो भन्दैमा 'अरु कम्पिल्केसन' भन्दै पन्छिन प्रधानमन्त्रीलाई छुट छैन।

जेठ ४ गते मृत्यु भएका व्यक्तिको स्वाबको रिपोर्ट जेठ १२ गते आउँछ। यसबीच मृतकको दाहसंस्कार समेत गरिन्छ। काठमाडौंमा आइसोलेसन नहुँदा एम्बुलेन्समा मै संक्रमित अस्पतालमा पालो कुर्न बाध्य हुन्छन्। एम्बुलेन्स नआउँदा बाइक चलाएर संक्रमित अस्पताल पुगेका छन्। आफू संक्रमित भएको प्रमाण दिन बाध्य छन्।

प्रधानमन्त्री भने निरोगी नेपाल निर्माणको तयारीमा छन्। भन्छन्, 'यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।'

विज्ञ सल्लाहकारको बीचमा रहेका प्रधानमन्त्रीलाई थाहा हुनुपर्ने हो क्वारेन्टाइनको अवस्था। जहाँ संक्रमित सरकार खोजिरहेका छन्। सरकारले गरेको भनेको तयारी खोजिरहेका छन्।

त्यस्तो त 'लाइभ' भनिएको उक्त सम्बोधनमा प्रधानमन्त्रीले एसईई परीक्षाको बारेमा समेत गलत बोले। कोरोनाको कहरबीच सरकारलाई एसईई स्थगित गर्न धेरैले आग्रह गरेको थियो। तर, एसईई हुनु एक दिनअघिमात्रै सरकारले परीक्षा स्थगित गर्‍यो। जसकारण परीक्षा दिन सदरमुकाम पुगिसकेका विद्यार्थीहरु निकै समस्यामा परे। यता, प्रधानमन्त्री भने दुई दिनअघि परीक्षा स्थगित गरिएको भाषण सुनाउँदैछन्। देशको कार्यकारी प्रमुखले भनेको कुरा कसरी विश्वास गर्ने?

देश कोरोनाले लडेको छ। भाइरससँग भिडिरहेको छ। यसबीचमा सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको जमिन फिर्ता ल्याउने अठोट गरेको छ। जुन कुरामा नागरिक सरकारको साथमा छ। रहन्छन् पनि।

तर, भारतसँगै कै खुल्ला सीमाबाट हजारौंको संख्यामा नेपाली भित्रिरहेका छन्। यो समस्या हाल सरकारको प्राथमिकतामा पर्नुपर्ने हो। तर प्रधानमन्त्रीको बुझाइ यी नागरिक देशलाई कोरोनामुक्त घोषणा गर्ने बाधक हुन्। प्रधानमन्त्री पटकपटक भनेका छन् जनप्रतिनिधिको दबाब, नागरिकको चेतना र सीमामा आएर बस्नले त्यसो हुन दिएनन्।

संक्रमण रोग विशेषज्ञहरुका अनुसार तराईका जिल्लामा भाइरस समुदायस्तरमा फैलिएको हुन सक्छ। तर, त्यसको निर्क्यौल गर्न पर्याप्त मात्रामा परीक्षण भएको छैन।

कोरोनाका कारण भारतबाहेक अन्य देशमा अलपत्र परेका र रोजगारी गुमाएका लाखौं नेपाली स्वदेश फर्कन पाउनुपर्ने माग गरिरहेका छन्। उनीहरुको व्यवस्थापन गर्ने स्रोत जुटाउन सरकारले छलफल गरिरहेको बताइन्छ। यसबीच सीमामा नेपाल फर्कन चाहेनको भीड छ। जति भित्रिएका छन् न त उनीहरु सबैको परीक्षण गरिएको छ न त सरकारले क्वारेन्टाइनमा नै राख्न सकेको छ। पछिल्लोपटक संक्रमितको संख्या ह्वात्तै बढ्नुको एक कारण सीमा क्षेत्रमा भएको निर्वाध आवतजावत हो। हुनत, सरकारले अन्तर्राष्ट्रिय सीमा पूरा बन्द गर्ने निर्णय गरेको छ। तर, व्यवहारमा यो लागू भएको छैन।

यसबारेमा प्रधानमन्त्री बेखबर छन् भने यसले देशलाई गम्भीर स्थितिमा पुर्‍याउन सक्छ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले चुनौतीको सामना गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्रलाई व्याख्या गरेका थिए। कोरोनालाई पराजित गर्ने यो युद्धमा हामी लडिसकेका छौं। तर,'कोरोना मुक्त राख्ने नाममा गरिएका अपरिपक्व तयारी'को संक्रमणबाट बचाउन प्रधानमन्त्री नै अघि आउनुपर्छ। सडकको सत्य तीतो छ।

अन्त्यमा, सत्यमेव जयते!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell