PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संक्रमण पुष्टि भएका प्रहरी ठीक भएर घरमा, शंकामात्र भएका चाहिँ क्वारेन्टाइनमै!



सविन ढकाल

संक्रमण पुष्टि भएका प्रहरी ठीक भएर घरमा, शंकामात्र भएका चाहिँ क्वारेन्टाइनमै!

काठमाडौं : जेठ ७ गते महानगरीय प्रहरी वृत्त सिल गरियो। करिब २ सय जना प्रहरीलाई कार्यालयको भवनभित्र राखियो। कसैलाई पनि बाहिर निस्किन दिइएन। कारण एउटै थियो - कोरोना संक्रमण। वृत्तमा कार्यरत दुई प्रहरीलाई कोरोना देखिएपछि वृत्त पूरै सिल गरेर राखिएको थियो।

कालीमाटीको प्रहरी वृत्त नै सिल, २ सय प्रहरी क्वारेन्टाइनमा

संक्रमति प्रहरीसँग सम्पर्कमा आएका प्रहरीलाई पनि कोरोना भएको हुनसक्ने आशंकामा यसरी राखिएको थियो। पाँच दिनसम्म उनीहरु क्वारेन्टाइनमा नै बसिरहे। उनीहरुको स्वाब समेत संकलन भएन। पाँच दिनपछिमात्रै अर्थात् जेठ ११ गते उनीहरुको स्वाब संकलन गरियो। र पठाइयो, राष्ट्रिय प्रयोगशाला टेकु।

२ सय ३१ जना प्रहरीको स्वाब लिइएको थियो। यता, संक्रमण देखिएका एक सई र प्रहरी जवानलाई भने उपचारको लागि अस्पताल लगियो। स्वाब लिएको तीन दिनपछि पहिलो लटमा परीक्षणको रिजल्ट आयो। १ सय १६ जनाको रिजल्टमा सबैको नेगेटिभ देखियो। नेगेटिभ देखिए पनि उनीहरुलाई सबैको रिजल्ट नआइ घर पठाउन मिलेन। उनीहरु पनि क्वारेन्टाइनमा नै बसे।

'उनीहरु समूहमा बसेका थिए। त्यसैले सबैको रिजल्ट नआइकन कसरी पठाउनु?,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

कालीमाटीका १ सय १६ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, तर केही समय क्वारेन्टाइनमै

यता अस्पतालमा भर्ना भएका दुई प्रहरीमा अन्तिम पटकको परीक्षणमा रिजल्ट नेगेटिभ आयो, यसैबीच। उनीहरुलाई शनिवार नै डिस्चार्ज गरेर घर पठाइसकिएको छै। जसलाई संक्रमण थियो, उनीहरु घर पुगिसके। तर, जो शंकामा रहे उनीहरु क्वारेन्टाइनमा नै रहिरहे।

वृत्तमा रहेका २ सय ३१ जनामध्ये ९ जना बाहेक अरुको पनि रिजल्ट आइसकेको छ। उनीहरुमा पनि नेगेटिभ देखिएको छ। तर, बाँकी नौ जनाको रिजल्ट नआउँदा उनीहरु क्वारेन्टाइनमा नै छन्।

'अब ९ जनाको बाँकी छ। उनीहरुको रिजल्ट आइसकेपछि मात्र सिल खोलिन्छ,' एसएसपी ज्ञवालीले भने।

पछिल्लो समय कोरोना संक्रमणको शंका लागेका व्यक्तिको थ्रोट स्वाब संकलन गरेर ल्यावमा पठाइने तर ल्याबको क्षमता भन्दा बढी संकलन हुन थालेपछि रिजल्ट आउन लम्बिएको छ। त्यसैको असर हो, संक्रमण देखिएका मानिस निको भएर घर फर्किँदा पनि शंकामा रहेकाहरु क्वारेन्टाइनमा नै छन्। शनिवार टोखा र बुढानीलकण्ठ नगरपालिका दुई जना पनि पाँच दिनमा नै घर फर्किए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा प्राथमिकताको आधारमा परीक्षण हुने भएकाले यस्तो अवस्था आएको बताउँछिन्। 'क्वारेन्टाइनमा रहेका मानिस सुरक्षित हुन्छन् तर समस्या परेकालाई अस्पताल लगिएको हुन्छ, उनीहरुको छिटो परीक्षण गर्नुपर्छ,' डाक्टर झाले भनिन्। उनका अनुसार टेकुमा मात्रै दैनिक १५ सय जति स्वाब परीक्षणका लागि ल्याइन्छ। धेरैजसो प्रदेश २ बाट थ्रोट स्वाब यहाँ ल्याइन्छ।

'असुरक्षित छन् भन्नेलाई पहिलो प्राथमिकता हुनेगर्छ। त्यसैले केही स्वाबहरु परीक्षण गर्न समय लाग्छ,' झाले भनिन्, 'दैनिक ९ सयदेखि हजार स्याम्पलको रिजल्ट दिने गरेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell