
जनकपुरधामः सोमबार जनकपुरधाम उपमहानगरको बोर्ड बैठक बस्यो। उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्न बैठक बोलाइएको थियो। तर बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाध्यक्षहरुले विरोध जनाए। त्यसपछि मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भयो।
बैठक रोकियो। आन्दोलित वडाध्यक्षहरु बाहिरिए। तर उनीहरुलाई कार्यालयबाट बाहिर जान दिइएन। नगर प्रहरीले उपमहानगरको गेटमा ताला लगाएर असन्तुष्ट वडाध्यक्षहरुलाई भित्रै थुने।
‘नगर प्रमुखको आदेशमा’ आफूहरुलाई बन्धक बनाइएको आन्दोलनरत् वडाध्यक्षहरुले आरोप लगाए। करिब साढे एक घण्टा गेटभित्र थुनिएका उनीहरुले नगर प्रमुखले विगत तीन वर्षदेखि तानाशाही तरिकाले काम गर्दै आइरहेको आरोप लगाए।
नाराबाजीबीच प्रहरीको स्कर्टिङमा नगर प्रमुख साह कार्यालयबाट बाहिरिए। त्यस क्रममा वडाध्यक्षहरुले ‘नगर प्रमुखको तानाशाही चल्दैन’ भनेर नारा लगाएका थिए।
नगर प्रमुख बाहिरिएसँगै कार्यालयबाहिर केही बेर नाराबाजी गरेका वडाध्यक्षहरु पनि आ-आफ्नो घर फर्किए।
उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहले नगर प्रमुखविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए।
वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको विवरण र नीति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेको बताएका छन्। विवाद लम्बिँदै जाँदा उपस्थित वडाध्यक्षहरुले तयार पारिएको माइन्युट समेत च्यातेका थिए।