PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थायी कमिटीमा पुराना अडान दोहोर्‍याउँदै प्रचण्ड - नेपाल समूह, बैठक टार्दै आएका ओली के गर्लान्?  



प्रकाश भण्डारी

स्थायी कमिटीमा पुराना अडान दोहोर्‍याउँदै प्रचण्ड - नेपाल समूह, बैठक टार्दै आएका ओली के गर्लान्?  
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असार १० गतेका लागि बोलाएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली इतरका नेताहरुले आफ्ना पुरानै एजेन्डा उठाउने तयारी गरेका छन्। ओली इतरका नेताहरुले सरकारका गतिविधिको समीक्षा गर्नुपर्ने, एक व्यक्ति एक जिम्मेवारीलगायतका मुद्दा उठाउँदै आएका छन्।

एमसीसीबारे छलफल गर्न बैठक बोलाइएको भनिए पनि एमसीसीसँगै आफूले उठाएका विषयमा छलफल हुने उनीहरुको जिकिर छ। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पुराना मुद्दा यथावत भएको बताइन्। उनले सरकारका कमीकमजोरीबारे छलफल हुने जानकारी दिइन्। उनले प्रधानमन्त्री केपी ओलीले पार्टी तथा सरकार सञ्चालनमा गरेको एकलौटीका विषयमा कुरा उठाउने तयारी गरेको बताइन्। 'पार्टीको विधान मिचिएका कुरा छन्। हामीले पहिले जुन विषयमा बैठक बोलाउनुपर्छ भनेका छौं। ती विषयमा त कुरा उठाइहाल्छौं। एमसीसीबारे भनेर भनिएको रहेछ। एमसीसीबारे मात्रै कुरा हुँदैन,' उनले भनिन्। आफूले उठाएका विषयमा बरु केही मुद्दा थप हुने उनको भनाइ थियो। कोरोना रोकथाममा सरकारले अनियमितता गरेको, संक्रमण रोक्न असफल भएको लगायतका विषयमा आलोचना भइरहेकाले ती विषय थप हुने शाक्यले जानकारी दिइन्। स्थायी कमिटी बैठकका लागि सचिवालय बैठकले एजेण्डा तय गर्ने गरेको भए पनि यसका लागि स्थायी कमिटी हालसम्म बोलाइएको छैन। शाक्यले सचिवालय बैठक नै नबसेकाले आफूहरुले आफ्ना पुरानै विषय उठाउने बताइन्।

अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि एमसीसीसँगै अरु विषयमा पनि छलफल हुने बताए। उनले आफूले पार्टीमा देखिएको विधान मिचिएका विषयमा कुरा उठाउने बताए। सरकारका कामका विषयमा पनि चौतर्फी आलोचना भएकाले त्यसको समीक्षा गर्नुपर्ने माग फेरि पनि यथावत रहेको उनको भनाई छ। तर बैठक अन्तिम समयमा आएर स्थगित भइरहेकाले फेरि पनि स्थागित हुनेमा गजुरेलले आशंका व्यक्त गरे। 'अहिलेसम्म त बैठक बस्ने भन्ने नै छ। तर पटक पटक स्थगित पनि हुने गरेको छ। पछि त के हुन्छ थाहा भएन। एमसीसीका बारेमा पनि छलफल होला तर त्यति विषयमा मात्रै छलफल केन्द्रित हुदैन,' उनले भने।

पहिलोपोस्टसँगको कुराकानीमा सचिवालय सदस्य झलनाथ खनालले पनि एमसीसीबारे मात्रै छलफल नहुने बताएका थिए। एमसीसीसँगै अरु एजेन्डा पनि बैठकमा उठ्ने खनालले जानकारी दिए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट मानिने २० जना स्थायी कमिटी सदस्यले वैशाख १० गते बैठक बोलाउन लिखित माग गरेका थिए। प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि तत्काल बैठक बोलाउन नेकपामा आवाज उठेको हो। अध्यादेशको चर्को आलोचना भएपछि ओलीले अध्यादेश खारेज गरेका थिए। माधव नेपाल समूहका नेताहरुले एक व्यक्ति एक मुख्य जिम्मेवारीको मापदण्ड पालना हुनुपर्ने अडान लिदै आएका छन्। पार्टीले बेलाबेल स्थायी कमिटी र सचिवालय बैठक बोलाएको भए पनि ओलीले विभिन्न बाहाना देखाएर स्थगित गर्दै आएका छन्।

यसअघि जेठ ३१ गतेका लागि बोलाइएको बैठक कोरोना संक्रमणलाई देखाएर सुरु हुनुभन्दा केही समयअघि मात्रै स्थगित भएको थियो। त्यसअघि वैशाख २५ गतेका लागि राखिएको बैठक पनि ओलीले आफूलाई सञ्चो नभएको भन्दै स्थगित गरेका थिए। ओलीले स्वास्थ्य समस्या देखाएर बैठक टार्दै आएका छन्। स्थायी कमिटी र सचिवालयमा अल्पमतमा परेपछि ओलीले बैठक टार्न थालेका हुन्। तर असार ३ गते बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटपछि असार १० गते बैठक बोलाउने समझदारी भएको हो। नेकपाको विधानमा तीन महिनाको एक पटक बैठक बस्नुपर्ने ब्यवस्था भए पनि गत मंसिर २९ गते बसेको स्थायी किमिटीपछि अर्को बैठक बस्न सकेको छैन।

यसैबीच दुई अध्यक्ष स्थायी कमिटी कसरी अगाडि बढाउने भन्नेबारेमा मंगलवार बालुवाटारमा छलफलमा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell