कोरोना भाइरसको कहरले विश्वलाई नढाकेको भए अहिले इन्द्रप्रसाद शिल्पकार जर्मनीमा हुन्थे। आफूले कुँदेको काठका विभिन्न आकृतिको एकल प्रदर्शनीमा आएकाहरुलाई नेपालको मौलिका काष्ठकलाबारेमा बताइरहेका हुन्थे। तर कोभिड १९ ले उनको वर्षौंदेखि देखेको सपनामा ब्रेक लगाइदियो।
जुन १८ देखि जर्मनीको होफेस्टेट्टेनमा एकल काष्ठकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको थियो। जर्मनीका ५ शहरमा पाँच हप्ताको प्रदर्शन तालिका बनिसकेको थियो। प्रत्येक शहरमा ४-४ दिन प्रदर्शन गर्ने। जर्मन भाषामा किताब छाप्नेदेखि प्रदर्शनीस्थलसमेत सबै तय भइसकेको थियो। जुन २६ देखि भने उनको लक्ष्य थियो म्युनिख। त्यसपछि प्रियन, मार्कट्रेडबिच र वाइगोलसेउसेनमा उनको काष्ठकला प्रदर्शनी हुनु थियो।
जर्मन नागरिक हिल्डे बनेकटले जर्मनीमा प्रदर्शनी गर्ने सम्पूर्ण तयारी गरिदिएका थिए। प्रदर्शनीका लागि भन्दै उनले करिब ४० वटा काष्ठकला भने जर्मनी पठाइसकेका थिए। कृतिमुख, श्रदुल, टुँडाल, गन्धर्व, किन्नर, मकर भगीरथ, ग: झ्या, गणेश, बुद्ध, इन्द्र लगायतका काठका मूर्ति जर्मनी पुगिसकेको थियो।
जेठ अन्तिमतिर उनी जर्मनी उड्ने तय थियो। तर कोरोना संक्रमणका कारण चैतमै भइदियो लकडाउन। कोरोनाले जर्मनीपनि अछुतो रहेन। सबै अन्तर्राष्ट्रिय उडान स्थगित भए। कोरोनाका कारण सार्वजनिक कार्यक्रम गर्न नि भएन। उनी नेपालमै रोकिए।
‘धेरै वर्षको मिहिनेतपछि त्यहाँ एकल प्रदर्शनी गर्ने पक्का भएको थियो। तर कोरोनाका कारण त्यसलाई स्थगित गर्न पर्यो।’ उनी भन्छन्, ‘प्रदर्शनीको लागि सामानहरु उत्तै छन्। साथीकहाँ सुरक्षित रहेको छ। अवस्था सामान्य रहे अर्को वर्ष प्रदर्शनी गर्छौं।’
विदेशमा नै ‘सोलो’ प्रदर्शनी गर्ने इच्छा बोकेर नै उनले काठका मूर्तिहरु बनाउन सुरु गरेका थिए। बुवासँग विभिन्न मठ मान्दिर घुमेर त्यहाँका काष्ठ कलाबारे अध्ययन गर्दै काष्ठकला निर्माण गरेका थिए।
शिल्पकारका बुवा इन्द्रकाजीले सन् २००२ मा जर्मनीमा साथीहरुसँग मिलेर प्रदर्शन गरेका थिए। त्यसबेला काष्ठकलामात्र नभइ अन्य धातुका कलाकृतीहरु समेत प्रदर्शन गरिएको थियो। बुवाबाट सिक्दै आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिँदै आइरहेका इन्द्रप्रसादको सपना थियो विदेशमा एकल प्रदर्शनी गर्ने। बुवा र नेपालको नाम र काम चिनाउने। बुवा इन्द्रकाजी पनि छोराको लक्ष्यलाई लिएर उत्साहित थिए। तर यस वर्ष अधुरै रह्यो सपना।
इन्द्रकाजी आफूले पहिला जर्मनीमा गरेको प्रदर्शनी सम्झँदै भन्छन्, ‘कलाकारका रुपमा जर्मनी पुग्दा नेपालबाट आएको भनेर धेरैले सम्मान गरे। त्यो बेलाको कुरा सम्झदाँ नेपालको नाम चिनाउँन पाउँदा निकै खुशी लाग्छ अहिले पनि।’
इन्द्रकाजी स्कुले विद्यार्थी छँदा नै उनको बुवाले उनको हातमा ज्याबल थम्याइदिएका थिए। त्यसपछि उनले अरु कुरामा फर्केर हेरेनन्। काठमा चित्र बनाउँदै त्यसलाई विभिन्न आकृति दिन्थे। बुवा र ठूलो बुवासँग सिक्दै उनले पर्खौली शिल्पलाई जीवन्त बनाइराखे। भक्तपुर, पाटन, काठमाडौंमा मन्दिरको काम गर्दै गए।
तर, समय परिवर्तनसँगै आफ्नो छोरालाई भने यही पेशामा लाग्न गाह्रो हुने बुझेर होला उनले इन्द्रप्रसादलाई ज्याबल समाउन हतारो गरेनन्।
इन्द्रप्रसाद सम्झन्छन्, ‘स्कुले विद्यार्थी छँदा घरमा बुवाले बनाउने काष्ठ कला नियाल्ने काम गर्थे। बुवा भने उनलाई रोक्ने गर्थे। बुबाले काठको काम नगर भन्नु भयो। यसमा राम्रो भविष्य छैन। पैसा पनि कमाउन सकिन्न भन्नुहुन्थ्यो।'
त्यस बेला काठको काम मात्रै गरेर जीविकोपार्जन गर्न गाह्रै थियो। मिहिनेत धेरै लाग्ने ज्याला भने कम पाउने। त्यसैले पनि बुवाले आफूलाई काठको काम गर्न रोक्न खोजेको हुन भन्ने लागेको थियो।
तर बुवाले कुरा उनले मानेनन्। विद्यालय विदा हुँदा ज्याबल समाइ हाल्थे। काठमा बुट्टा भर्न सुरु गर्थे। एसएलसी सकाए र काठमा चित्र कोर्दै गए।
उच्च शिक्षा हासिल गर्ने लक्ष्य भने छोडेनन्। अरु विषयमा पढ्नुभन्दा आफैले जानेको विषयमा दख्खल राख्ने सोचे र भोटाहिटीस्थित ललितकला क्याम्पसमा भर्ना भए। त्यहाँबाट स्नातक सकाए र त्रिभुवन विश्वविद्यालयबाट समसामयिक मूर्तिकलामा स्नातकोत्तर गरे।
‘तर हामीले गर्ने काम र पढाई अलि फरक हुने रहेछ। हाम्रो पुराना मूर्तिकला र काष्ठकलाभन्दा आधुनिक खालको कोर्स रहेछ। तर पनि आफ्नो विषयको रुची भएकोले राम्रै भयो।’ पढाईको बारेमा सम्झदै भने।
++
भक्तपुरको खौमा बहालमा पुर्खौली घर छ शिल्पकार परिवारको। त्यसकै पछाडी नेवारी वास्तुकलामा आधारित रहेर घर बनाएका छन्। घरको लागि चाहिने खापादेखि झ्यालको काम सबै आफ्नै गरेको बताउँछन् इन्द्र।
पहिला काठको काम सबै घरबाटै हुन्थ्यो। २०७२ सालको भूकम्पपछि भक्तपुरको कासलमै वर्कशप बनाए।
‘भूकम्पपछि पुनर्निर्माणको काम धेरै भयो। घरमा मात्रै काम गर्ने अवस्था रहेन। त्यसैले अलि ठूलो स्थान खोजेर काम सुरु गर्यौं।’
अहिले शिल्पकार परिवार पाटन दरबार क्षेत्रमा रहेको भाइदेग: को पुनर्निमार्णका लागि आवश्यक काष्ठकला निर्माण गरिरहेका छन्।
घरमा भने सानो म्युजियम बनाएका छन् इन्द्रप्रसादले। चन्दनको काठमा कुँदेको मूर्तिदेखि बुवा र आफूले बनाएको काठका मूर्तिहरु सजाएका छन्। यस्तै, काष्ठकला, मूर्तिकला र किसानको दैनिकीमा काममा आउने औजारहरुलाई समेत सम्हालेर घरमै सजाएका छन्।
‘काठकै काम गरेकोले हुँदा आफ्नो चिनाउन पनि यो शैलीमा घर निर्माण गरेका हौं,’ इन्द्रप्रसाद भन्छन्।
काष्ठकलाको भविष्य
एक त भनेको जस्तै काठ पाउन गाह्रो। त्यसमाथि बुट्टा र बनावटमा समय धेरै लाग्ने। काम गरेको प्रतिफल पनि कम आउने। पुर्खौंली शिल्पको यो काममा युवा पुस्ताको धेरै ध्यान जान सकेको छैन। त्यसमाथि कोभिड १९ को महामारीले काष्ठकला क्षेत्रलाई समेत नराम्रो धक्का दिएको छ।
‘कोभिड १९ को महामारीले गर्दा सबै क्षेत्र प्रभावति भएको अवस्था हो। तर यस क्षेत्रमा काम गर्ने सबैको अवस्था राम्रो छैन। घरमा बसेर काम गर्नेहरुलाई पनि भोलि काम होला कि नहोला भन्ने चिन्ता छ। अहिले पुनर्निर्माण र घरको काममा बाहेक काष्ठकलामा काम गर्नेहरुलाई निकै गाह्रो छ। पर्यटक नआउने हुँदा पनि पर्यटक लक्षित काम गर्नेहरुलाई नि समस्या छ।’ इन्द्रप्रसाद भन्छन्।
बुवा इन्द्रकाजी काष्ठकलाको काम गर्ने मानिसहरु भएपनि यसलाई निरन्तरता दिनेको कमी हुन सक्ने बताउँछन्।
‘मूर्ति बनाउने मान्छेहरु त देखिन्छ। तर मन्दिरको काष्ठकला बनाउनेहरु भने कम मात्रै देखिन्छ। पुराना मन्दिरहरुको काम गर्दा बुट्टा राख्नेमात्रै काम हुँदैन। काठको आकारप्रकार, बनावट सबैको ज्ञान हुनुपर्छ। ’
अहिले त ज्ञानमात्रै भएर नि हुन्न। त्यही काममा खट्ने अठोट र आत्मविश्वासले पनि धेरै महत्व राख्छ। त्यसमाथि आफ्नो कलालाई मानिसहरुबीच चिनाउन झनै गाह्रो छ। कला चिनाउन र बिकाउन नि ‘एक्सपोजर’ चाहिन्छ।
गत वर्ष असारमा बौद्ध टुसालमा रहेको तारागाउँ म्युजियममा इन्द्रप्रसादले बनाएका काष्ठ कलाको प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा उनले बनाएका विभिन्न मन्दिरमा रहेका काष्ठ कलाका प्रतिमूर्ति 'रेपिल्का' राखिएको थियो।
प्रदेशनी हेर्न आउनेले आफ्नो कामको प्रशंसा गरेकोमा शिल्पकार सन्तुष्ट थिए। त्यसले पनि उनले नेपाली शिल्पलाई विदेशयात्रा गराउने सोचेका थिए। यसबाट युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न सक्ने उनले विश्वास लिएका थिए।
‘जेनेरेसन ग्याप’ हुँदा नेपालीहरुको पुर्खौंली शिल्प लोप हुन सक्ने इन्द्रप्रसादको मत छ। कोरोनाको कहर सकिएपछि काष्ठकला उद्योगले गति लिनेमा उनको विश्वास छ।
‘बुवाबाटै यो पेशा सिकेको हो। अहिले यो ट्रेन्ड हट्दै गएको छ। नयाँ प्रविधि भित्रिए। मानिसको चाहना बढ्दै गयो। यो क्षेत्रमा दिनभर बसेर मिहिनेतले काम गर्ने क्रम घट्दै गएको छ।’ उनले भने, ‘नयाँ जेनेरेसनलाई यो क्षेत्रमा त्यति चासो छैन। केही आफ्नो पुर्खौली पेशालाई धान्न काम गरिरहेका छन्। तर सबैजनाले यही पेशालाई निरन्तरता दिने अवस्था भने अहिले छैन।’