PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली र प्रचण्डका १४ दिन, ८ वार्ता : असारको गर्मीमा चिसिएको सम्बन्धमा होला त सुधार?



प्रकाश भण्डारी

ओली र प्रचण्डका १४ दिन, ८ वार्ता : असारको गर्मीमा चिसिएको सम्बन्धमा होला त सुधार?

काठमाडौं : कहिले मुखै नहेर्ने त कहिले छलफलका छलफल। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई साता यसैगरी बिताइदिए। दुईवटा अध्यादेश ल्याएर ट्र्यापमा परेका प्रधानमन्त्री ओलीको राजीनामा त वैशाख ८ गतेबाटै माग्न सुरु भएको हो। विवाद थामिएर नेकपाको राजनीतिमा लागेको घाउमा खाटा नबस्दै असार १० ले फेरि समस्या बल्झायो।

पटकपटक पार्टीको स्थायी कमिटी बैठक टार्दै आएका थिए अध्यक्ष ओलीले। तर, असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक उनको राजनीतिका करिअरमा 'घाँडो' नै बन्न पुग्यो।

बैठकको सुरुवात द्वन्द्वबाट सुरु भयो। उद्‍घाटन मन्तव्यमै प्रचण्ड र ओलीका परस्पर विरोधी अभिव्यक्तिले संकट गहिर्‍यायो। पार्टीमा व्यक्ति प्रधान कि विधि भन्ने बहस सुरु भयो। पार्टी फुटाउने अभिव्यक्तिसम्म सार्वजनिक भए। असार १० गते यताका १४ दिनमा ओली प्रचण्डबीच ८ पटक वार्ता भयो। सुरुवातका वार्ता कटुतापूर्ण भए पनि पछिल्ला दिनमा भने सहज बन्दै गएको नेताहरुले निष्कर्ष निकालेका छन्। ओली प्रचण्डका १४ दिनका ८ भेट यस्तो तनावपूर्ण रहे :

स्थायी कमिटीको उद्‍घाटन, विवादको ट्रेलर

असार १० गते बिहानै प्रचण्ड बालुवाटार गए। कारण अरु केही थिएन, त्यसै दिन तय भएको स्थायी कमिटी बैठकको एजेण्डामा छलफल गर्नका लागि उनी पुगेका थिए। अघिल्लो दिनसम्म पनि एजेण्डा नटुङ्ग्याएका ओली र प्रचण्डले बैठक सुरु हुनु केही बेर अघिमात्रै बैठकका एजेण्डा सार्वजनिक गरे। एजेण्डामा कोरोना, सरकारका काम, सीमाना समस्या लगाएका ७ वटा एजेण्डा राखे पनि प्रधानमन्त्रीको राजीनामाको विषय समावेश थिएन।

ओली र प्रचण्डको भाषणबाट सुरु भएको स्थायी कमिटी बैठक त्यति सहज ढंगले अघि भने बढेन। सुरुकै दिन ओली र प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप गरे। नेताहरु बीच घोचपेच चल्यो। स्थायी कमिटी बैठक नेकपा विवादको सानो ट्रेलरमात्रै थियो। त्यसको दुई दिनपछि असार १२ गतेको बैठकमा सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले ओलीको राजीनामा मागे, प्रधानमन्त्री पद र पार्टी अध्यक्ष दुवैबाट।

एजेन्डा एकातिर, बहस अर्कोतिर

बैठकको उद्घाटनमै ओलीमाथि दबाब कायम गर्न सफल प्रचण्ड-माधवकुमार नेपाल समूह ओलीलाई अर्को बैठकमा उपस्थित गराउन चाहन्थ्यो। उनकै अघिल्तिर बहुमत सदस्यको मुखबाट राजीनामाको माग गरेको सुनाउन पनि आतुर थियो। त्यसैले ११ गते फेरि पनि प्रचण्डले ओलीलाई भेटे। सदस्यहरुले उठाउन सक्ने विषयका बारेमा उनीहरुले कुरा गरेका थिए। र, ती मुद्दा कसरी 'फेस' गर्ने भन्नेबारे छलफल भएको थियो। स्थायी कमिटी बैठकका सात एजेण्डामा ओलीको राजीनामा थिएन तर स्थायी कमिटी बैठक कुरेर बसेको प्रचण्ड-नेपाल गुटले १२ गते राजीनामाको एजेण्डा बैठकमा प्रवेश गरायो।

राजीनामा मागेपछि चिढिएका ओली पद जोगाउने रणनीति बनाउन ब्यस्त थिए। उनले १४ गते बालुवाटारमा भएको कार्यक्रमलाई त्यसका लागि अवसर बनाए। मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा उनले पद जोगाउने अस्त्र फ्याँके।

'बाहिर भन्न नसक्ने। भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ। दिल्लीका सञ्चारमाध्यम सुन्नुस्। यहाँका होटलहरु हेर्नुस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता हेर्नुस् त्यसले पनि देखाइरहेको छ,' 'कहीँ पे निगाहे, कहीँ पर निशाना' शैलीमा उनको अभिव्यक्ति भारतभन्दा पनि आफ्नै पार्टीका नेता लक्षित थियो।

पदबाट हटाउन आफू विरोधी नेता भारतसँग मिलेको उनले आरोप थियो। र, उनको अभिष्ट थियो प्रचण्ड-नेपाल गुटको ह्वातै आलोचना बढने छ र उनीहरुमाथि जनदवाव बढ्ने छ। तर, परिस्थित ठीक उल्टो भयो। ओलीले लगाएको आरोपको प्रतिवादका लागि समय कुरिरहेका प्रचण्डले १६ गतेको स्थायी कमिटी बैठमा सोझै भने, 'राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।'

प्रचण्ड-नेपाल समूहले ओलीमाथि दबाब थप बढायो। ओलीको अग्रसरतमा निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले दर्ता गर्न लागेकोबारे पनि प्रचण्डले स्पष्टिकरण मागेका थिए बैठकमा।

चुलिएको झगडा

असार १२ गतेपछि झण्डै ६ दिनको अवधिमा प्रचण्ड ओली बीचको सम्बन्ध यसरी बिग्रियो कि उनीहरु दुई जनाबीच पहिलेकै शैलीमा भेट भएन। स्थायी कमिटीमा बाहेक उनीहरु सँगै देखिएनन्। प्रचण्ड - नेपाल खेमाले ओलीलाई कमजोर बनाउने नीति लियो। उनीहरुले आफ्नो माग सम्बोधन हुने भएमात्रै भेट गर्ने अभिब्यक्ति दिएका थिए। दबाब बढ्दै गएपछि दुवै मोर्चाका आ-आफ्ना भेला र बैठक तीब्र गतिले अघि बढ्यो। असार १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए। क्याविनेटका अधिकांश मन्त्रीबाहेक उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतसँग छलफल गरेका थिए।

यता १७ गते साँझ ललितपुरको एक होटलमा प्रचण्ड - नेपाल समूहको भेला भएको थियो। भेलाले ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनायो।

भोलिपल्ट बिहान १८ गते प्रचण्ड निवास खुमलटारमा ओलीनिकट नेताहरु पनि पुगे। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु मार्फत् प्रचण्डले ओलीलाई सन्देश पठाए- दुवै पदबाट हट्नुको विकल्प छैन्। प्रचण्डको सन्देश सुनेका ओलीले ११ बजे सुरु भएको स्थायी कमिटी बैठक रोके र १२ बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाए। शीतल निवासमा छलफल सकेर हतारहतार बालुवाटार पुगेका ओलीले संसद अधिवेशन अन्त्यको निर्णय पनि हतारमै गरिहाले जबकि प्रचण्डनिकट मन्त्री त्यहाँ उपस्थित भएकै थिएनन्।

राष्ट्रपतिलाई भेटेर चाजोपाजै मिलाएका ओलीले संसदको अधिवेशन अन्त्य गरेको सिफारिस गर्ने बितिकै राष्ट्रपति कार्यालयले सूचना जारी गरिहाल्यो - संसाद अन्त्य भयो। त्यसै दिन बिहान ओली र प्रचण्डबीच छोटो भेट भएको थियो। भेटमा संसद अधिवेशन अन्त्य नगर्ने ओलीले बचन दिएका थिए। तर, एक्कासी संसद अधिवेशन अन्त्य भएपछि स्थायी कमिटी रोकेर प्रचण्ड पनि शीतल निवासतिर हान्निए। उनले राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न गरे। राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले स्थायी कमिटीका नेतालाई ब्रिफिङ गरेका थिए - पार्टी फुटी नै सक्यो तर औपचारिक घोषणा नभएकाले म रोक्ने प्रयास गर्छु। त्यहीँ दिन ओली र प्रचण्डबीच 'वान अन वान' वार्ता बालुवाटारमा भयो। उनीहरुले बैठक २० गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरे। छलफलमा बस्ने सहमति पनि गरे।

बालुवाटारमा वार्ता, धुम्बाराहीमा धर्ना

विवाद चरम अवस्थामा पुगेपछि ओली र प्रचण्ड १९ गते 'युद्धविराम'को मुडमा पुगे। बिहान पनि प्रचण्ड बालुवाटार पुगे र ३ घण्टा वार्तामा बसे। यस वार्तालाई नेताहरुले निर्णायकको संज्ञा दिएका थिए। उनीहरुले भने जसरी ओली प्रचण्डको चौथो वार्ता निर्णायक त भएन तर विवाद केही मत्थर भने भयो। ओली प्रचण्डको वार्तामा ओली समूहका विष्णु पौडेल थिए भने प्रचण्ड समूहका जनार्दन शर्मा सहभागी थिए।

उनीहरु सहभागी हुनुको नेकपामा रणनीतिक अर्थ पनि थियो। उनीहरु दुवैजना पूर्व एमाले र माओवादी एकताका सूत्राधार थिए। पार्टी फुटको संघारमा पुगेको प्रचण्डको अभिव्यक्ति सुनेका नेकपाका दोस्रो र तेस्रो तहका नेताले पार्टी जोगाउनुपर्ने भन्दै धुम्बाराहीमा धर्ना दिन पुगे। यता, युवा नेताहरुको धर्ना चल्दा उता बालुवाटारमा ओली प्रचण्डको वार्ता चलेको थियो। त्यस दिन नेकपाको आन्तरिक राजनीतिक सरगर्मी ह्वात्तै बढेको थियो। पार्टी फुटबाट जोगाउनुपर्नेमा अधिकांश नेताहरु सहमत थिए। त्यसैले कृषिमन्त्री घनश्याम भुसालको सरकारी निवासमा मन्त्रीहरु योगेश भट्टराई, वर्षमान पुनसँगै नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ओलीका सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरुले भेला भए। बिहान ८ देख ११ बजेसम्म उनीहरु छलफलमा जुटिरहे। उक्त बैठकले संवादबाट नै समाधान खोज्नुपर्ने धारणा बनायो। एमाले र माओवादबीच एकता हुँदा भएको ५ बुँदे सहमति र २०७६ मंसिर ४ मा भएको सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिने उनीहरुको निष्कर्ष थियो।

त्यसै दिन ओलीले मन्त्रीहरुलाई बोलाएर 'जस्तोसुकै निर्णय गर्न सक्ने भएकाले कित्ता क्लियर गर्न' निर्देशन दिएका थिए। राष्ट्रपति र आफूमाथि षड्यन्त्र भएको उनले मन्त्रीहरूलाई बताएका थिए। मन्त्रीहरुलाई यस्तो ब्रिफङ गर्नुअघि ओली शीतल निवास पुगेर फर्केका थिए। ओली शीतल निवास गएकाले यता प्रचण्ड - नेपाल समूहमा डरको ग्राफ बढेको थियो।

यसैबीच ६ जना सचिवालय सदस्य २० गते खुमलटारमा भेला भए। सचिवालयका ६ जनाको भेलाले जारी स्थायी कमिटी बैठकबाट पार्टीलाई एकताबद्ध बनाएर जाने निर्णय गर्‍यो।

डरको ग्राफ बढ्दा वार्ता भने सहज

प्रचण्ड-नेपाल गुट यतिसम्म डराइसकेको थियो कि ओलीले जुनसुकै बेला पनि आफू अनुकूल हुनेगरी अध्यादेश जारी गर्छन्। त्यसलाई जसरी पनि रोक्नुपर्छ भन्ने रणनीतिमा पुगेका प्रचण्ड-ओली गुटका नेता २१ शीतल निवास पुगे। राष्ट्रपतिलाई महाअभियोग लगाउने विषय झुटो भएको सुनाए। ओलीले कुनै अध्यादेश ल्याएमा रोक्न आग्रह गरे। त्यसपछि भने ओलीसँगको वार्तामा जुटे प्रचण्ड। यसअघिका भन्दा पाचौं पटकको वार्ता अलि फरक थियो। ओलीका तर्फका विष्णु पौडेल, शंकर र ईश्वर पोखरेल सहभागी थिए भने प्रचण्ड पक्षबाट जनार्दन शर्मा र वर्षमान पुन थिए। दुवै पक्ष जोड्न दोस्रो तहका नेता निर्णायक रहे।

'वान अन वान'को श्रृङ्खला, नेपाल असन्तुष्ट

दोस्रो तहका नेता सहभागी वार्तापछि प्रचण्ड र ओली एक्ला एक्लै छलफलमा बस्न सहमत भए। यसबाट नेकपाभित्रको रडाको २० को १९ भएको अनुमान भयो। बालुवाटारमा २२ गते प्रचण्ड ओलीबीच एक्ला एक्लै कुराकानी भएको थियो। त्यसै दिन बोलाएको स्थायी कमिटी बैठक २४ गते सम्मका लागि स्थगित गरियो। स्थायी कमिटीको चर्काचर्की पछि ओली र प्रचण्ड लामै समय छलफलमा रहे। तर, त्यसबाट कुनै निष्कर्ष भने निस्किएन। फेरि २३ गते पनि एक्लाएक्लै वार्ता भयो। वार्तामा ओली र प्रचण्ड दुवै आफ्नै अडानमा रहे। निष्कर्षहीन सकियो वार्ता। त्यो श्रृखला जारी नै छ। नेकपाका दुई अध्यक्ष कहिलेसम्म वार्तामा बस्ने हुन् र कहिले विवाद किनारा लाग्ने हो नेकपाकै अधिकांश नेतालाई थाहा छैन। आजका लागि तय स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित भएको छ।

नेकपा भित्रको विवाद समाधानका लागि भन्दै ओली प्रचण्ड वार्तको टेबुलमा बसे पनि प्रचण्डका अहिलेका सहयात्री नेपाल भने उनीहरुको 'वान अन वान' वार्ताबाट सशंकित छन्। नेपाल समूहका नेताहरुले ओली र प्रचण्डको वार्ताले मात्रै निकास ननिस्कने अभिव्यक्ति दिन थालेका छन्। समाधानका लागि पार्टी कमिटीको निर्णयमात्रै मान्य हुने नेपाल खेमाले अडान राख्दै आएको छ। तर, धेरैजसो नेताहरुले भने दुई अध्यक्षबीच सहमति नभइ पार्टी कमिटीले निर्णय गरेमा दुर्घटना हुने भन्दै विवाद समाधानको जिम्मा उनीहरुलाई नै दिनुपर्ने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell