PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मेलम्चीमा कमजोर संरचना? सुरुङ भित्रबाटै गाडीसहित बगाएका दुई जना फेला परेनन्, स्थानीयलाई सुरक्षाको प्रत्याभूति गराउन माग



नेत्र तामाङ

मेलम्चीमा कमजोर संरचना? सुरुङ भित्रबाटै गाडीसहित बगाएका दुई जना फेला परेनन्, स्थानीयलाई सुरक्षाको प्रत्याभूति गराउन माग

काठमाडौं : मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना अझै बेपत्ता छन्।

सुरुङको१७ नम्बर गेट फुस्केर पानी फँर्कदा जिपमा गएका इन्जिनियरको टोली बगाएको थियो। जिप बगाउँदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका हुन्।

मंगलवार दिउँसो बगाएर बेपत्ता भएकाहरु साँझ दोलालघाटसम्म खोज्दा पनि भेटिएका छैनन्।

निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएकोमा दुई जनाको उद्धार गरी हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल लगिएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको थियो। घटनामा परी कन्सल्टयान्ट शेखर खनाल र पेम्बा दोर्जे घाइते भएका हुन्।

पानीको प्रेसर जाँचका लागि इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। सुरुङभित्र निरीक्षणका लागि पुगेका बेला१७ नम्बर गेट फुस्किएपछि उनीहरु सवार जिप बगाएको हो। सुरुङभित्रैबाट बगाएर ल्याएको जिप मुहान नजिकै खोलाको बीचमा भेटिएको छ।

प्रहरी निरीक्षक तामाङका अनुसार दुईवटा इक्जिटमध्ये एउटामा पुल जोडिएको छ भने अर्कोमा जोडिएको छैन। 'पुल जोडिएकोपट्टीबाट दुई जना बगाउँदा पुलमाथि फ्याँकिएका दुई जना घाइते भए। अर्कोतिरको इक्जिट प्वाइन्टमा भने पुल छैन। त्यहाँबाट सीधै खोला हुँदै बगाएछ,' तामाङले भने।

अस्थायी संरचनाबाट पानी पठाउन परीक्षण भइरहेकोमा त्यही निरीक्षण गर्न पुगेका बेला यो घटना भएको हो। आयोजनाले सुरुङमा प्रत्येक घण्टा पानीको प्रेसर जाँच गर्दै आएको थियो। कफर ड्यामदेखि पहिलो अडिट टनेल करिब ७०० मिटरमा छ। सोही अडिट टनेलमा रहेको गेट फुस्किएको हो।

गेट फुस्केपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स जिप बगाएको हो।

‘स्थानीय असुरक्षित’

मेलम्ची खानेपानी आयोजनाको 'माइलस्टोन' मानिएको सुरुङमार्गको परीक्षण असार २१ बाट शुरु भएको थियो।

असार २२ बाट नियमित रुपमा पानी सुरुङतर्फ पठाउने थालिएको हो।

यसरी पानी पठाउन थालिएको मंगलवार ८ दिन पुगेको छ। यो अवधिमा ९ किलोमिटरसम्म पानी पुगेको थियो। २७ किलोमिटर लामो सुरुङ भरिन २० दिन लाग्ने अनुमान गरिएको थियो। त्यसपछि थप २ महिना सुरुङ परीक्षणकालमै राखिने थियो।

तर, पानी हालेको आठौं दिनमा यस्तो घटना भएपछि खोलाका तटीय क्षेत्रका गाउँपालिकावासीले असुरक्षित महसुस गर्न थालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

'मेलम्ची भनेको राष्ट्रिय योजना हो। तर, यस्तो कमजोर संरचना बनाएको रहेछ। पुरै सुरुङ भरिएर फुटेको भए त खोला छेउछाउका गाउँ नै बगाउने रहेछ,' अध्यक्ष शेर्पाले भने।

आज दुखद् घटना भएको उल्लेख गर्दै शेर्पाले थप सुरक्षा सतर्कता आयोजनाले अपनाउनुपर्ने सुझावसमेत दिए। भने, 'आज दुखद घटना भयो। यस्तो घटना भोलिका दिनमा हुन सक्दैन भन्ने ग्यारेन्टी जनतालाई दिनसक्नुपर्छ।'

मेलम्ची खोलाको वरपर बस्ती भएकोले मेलम्ची आयोजनाले पानी सुरुङमा हाल्न शुरु गरेको दिन स्थानीयलाई चेतावनी दिएको थियो।

आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको थियो। आयोजनाले माछा नमार्न र पौडी नखेल्नसमेत भनेको थियो।

यता गाउँपालिकाले भने सुरुङमा पानी हाल्ने कार्य गर्दा गाउँपालिकालाई जानकारी नदिइएको भन्दै आपत्ति जनाएको थियो।

सुरुङमार्गमा पानी छाडिएकै दिन गाउँपालिकाले राष्ट्रिय गौरव आयोजनामा स्थानीय सरकार र स्थानीयलाई निरन्तर संग्लन नगराउने सम्पूर्ण कार्यहरुप्रति घोर आपत्ति जनाउदै यस्ता अनुचित र गैरजिम्मेवार कार्यविरुद्ध आगामी दिनहरुमा सहयोगको लागी असहज वतावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य चेतावनी समेत दिएका थियो।

मंगलवारको घटनाले स्थानीय बासिन्दालाई सुरुक्षाको प्रत्याभुति नदिएसम्म अब सुरुङमा पानी खसाल्न दिन नहुने पक्षमा स्थानीय उत्रने गाउँपालिकाले जनाएको छ।

सिन्धुपाल्चो क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद शेरबहादुर तामाङले पनि पहिलादखि नै सुरुङको गुणस्तर र स्थानीयसँग संवाद नभएको विषयलाई उठाउँदै आएका छन्। मंगलवारपनि एक विज्ञप्ती जारी गर्दै तामाङले ‘राम्रोसँग सुरुङ र गेटको सेटिङ परीक्षण नै नगरी पानी छाडिएको त होइन?’ भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रिय आयोजना भनिएको मेलम्चीको सबै संरचना कमजोर हुन सक्ने भन्दै यसबाट स्थानीयलाई विश्वासमा लिएर सतर्कता अपनाउनुपर्ने माग गरेका छन्।

हालमा बनेको संरचनाले सुन्दरीजलतिरको गेटसमेत भत्कन सक्ने खतरा देखिएको स्थानीयले बताएका छन्। 'पानी भरिएर सुन्दरीजल तिरको गेट फुटेमा क्षति आँकलन गर्न सकिन्न,' एक स्थानीयले भने, 'यताको तटीय क्षेत्रको कुरै नगरौं।'

खानेपानी मन्त्री बिना मगरले मेलम्ची काठमाडौंमा चाँडै आइपुग्ने बताउँदै आएकी थिइन्।

तर, गाउँपालिका अध्यक्ष शेर्पाका अनुसारअहिले सुरुङ खाली भएको छ। आयोजनाले तत्काल सुरुङमा पानी नहाल्ने देखिएकाले काठमाडौंमा मेलम्चीको पानी आउने दिनसमेत पर धकेलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell