PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कोरोना परीक्षण निरन्तर ओरालो : तथ्यांकमा यस्तो देखिन्छ पछिल्लो अपडेट



विधुर ढकाल

कोरोना परीक्षण निरन्तर ओरालो : तथ्यांकमा यस्तो देखिन्छ पछिल्लो अपडेट

काठमाडौं : मंगलवार ४ हजार ३६१ जनाको नमुना परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भयो। पछिल्लोपटक कोरोना फ्री भएको संखुवासभा, धनकुटामा फेरि संक्रमण देखिएका छन्। पछिल्ला दिनहरुमा संक्रमणको दर घटिरहेको छ भने डिस्चार्ज हुनेको संख्या बढिरहेको छ। हालसम्म नेपालमा १७ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १० हजार ३२८ जना निको भइसकेका छन्। यो कुल संक्रमितको ६०.५ प्रतिशत हो। त्यस्तै हाल ६ हजार ६९५ जना संक्रमित उपचारकै क्रममा छन्।

परीक्षण र संक्रमणको ट्रेन्ड

जेठको अन्तिमसम्म आइपुग्दा संक्रमितको दर दैनिक औसतमा पाँच सयको हाराहारीमा थियो। असारको तेस्रो हप्तादेखि घटेर दैनिक औसतमा २११ मा झरेको छ। पछिल्लो १२ दिनको तथ्यांकअनुसार संक्रमण औसतमा २११ मा झरेको हो। पछिल्लोपटक सबैभन्दा बढी असार १९ गते ७२० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण संख्या दूई सयको को आसपास हुँदै पछिल्लो साता एक सयको आसपासमा झरेको छ।

पछिल्लो पटक असार २७ गते ७० जनामा मात्र संक्रमण पुष्टि भएको छ। यो एक महिना यताकै सबैभन्दा कम थियो। त्यस्तै २८ गते ८२ जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमणको दर घट्दै गएको देखिए पनि परीक्षणको दर पनि घट्दै गएको थियो। पछिल्लोपटक असार ६ गते ७ हजार ४१६ जनाको परीक्षण भएको थियो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जेठ २६ गते संसदमा असार १५ गते देखि दैनिक १० हजार परीक्षण गर्ने बताएका थिए। तर, स्वास्थ्य मन्त्रीले १० हजार परीक्षण गराउने भने पनि पुगनपुग ४ हजारको हाराहारीमा मात्र अहिले परीक्षण भइरहेको छ।

सम्बन्धित समाचार: स्वास्थ्यमन्त्री भन्थे, 'दैनिक दश हजार जनाको कोरोना परीक्षण' : तर, पाँच हजार पनि पुगनपुग

स्वास्थ्य मन्त्रालयले परीक्षण दर घटाउँदै जाँदा संक्रमितहरु कम भएको आरोप स्वास्थ्यकर्मीहरुले लगाउँदै आएका छन्। यद्यपि मन्त्रालयले क्वारेन्टाइनमा रहेनेको संख्या घट्दै गएको हुँदा परीक्षणको दर घटेको बताउँदै आएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले क्वारेन्टाइनमा रहनेहरुको संख्या दैनिक घटिरहेको र बाहिरबाट आउनेको संख्यामा पनि कमी आएका कारण परीक्षण दर केही भएको बताए। यद्यपि उनले नेपालमा पीसीआर परीक्षण दर दक्षिण एसियामा भारत पाकिस्तान लगायतका देश भन्दा अगाडि रहेको बताए।

उनले संक्रमण दर केही घट्दै गएको देखिए पनि संक्रमणको जोखिम भने उत्तिकै रहेको बताए।

परीक्षण कम हुँदा संक्रमण कम पुष्टि भएको २७ गतेको आकँडाले पुष्टि गर्छ। २७ गते पछिल्लो महिना यताकै सबैभन्दा कम संक्रमण पुष्टि भएको थियो। परीक्षण पनि महिना यताकै कम हो। असार २७ गते तीन ६४८ जनाको नमुना परीक्षण भएको थियो। त्यस्तै असार २८ गते ८२ जनामा संक्रमण पुष्टि भएको दिन तीन हजार ९१६ जनाको नमुना परीक्षण भएको थियो। पछिल्लो १२ दिनको परीक्षण दर औसतमा ४ हजार ६६४ रहेको छ। 

जेठ २७ गते एक लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा थिए। असार २७ सम्म आइपुग्दा २४ हजार ९७ मात्र क्वारेन्टाइनमा रहेको तथ्यांक मन्त्रालयसँग छ। असार ३० सम्म आइपुग्दा २४ हजार ७१६ पुगेको छ। यो एक महिनामा परीक्षणदर भन्दा क्वारेन्टाइन छाड्नेको संख्या बढी छ।

यो पनि: संक्रमित बढ्दै, खाली हुँदै क्वारेन्टाइन: दैनिक औसत ४७८ विना परीक्षण घर पठाउँदा समुदायमा संक्रमण फैलिने जोखिम

उमेर समूहका आधारमा

उमेर समूहका आधारमा संक्रमण

हाल संक्रमण पुष्टि भएकामध्ये असार ३० गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्ष उमेर समूहका छन्। संक्रमण पुष्टि भएकामध्ये यो उमेर समूहका ३७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जुन ६ हजार ३८३ हो। त्यस्तै ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका २३ प्रतिशत छन्। जुन तीन हजार ९३६ हो।

अर्को बढी जोखिममा रहेको समूह हो ११ देखि २० वर्ष उमेर समूह यो उमेर समूहका संक्रमितहरु २१ प्रतिशत छन्। जुन तीन हजार ४९५ हो। त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका १० प्रतिशत संक्रमित छन्। काम गर्ने उमेर समूह भनेर चिनिने २० देखि ५० वर्षसम्मका उमेर समूहका संक्रमितको कुल संख्या ७० प्रतिशत छ।

त्यस्तै १० वर्ष भन्दा कम उमेर समूहका ४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। १० वर्षभन्दा कम उमेरका ६३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ६१ देखि ७० वर्ष उमेरका एक प्रतिशत अर्थात २०३, ७१ देखि ८० वर्ष सम्मका ५१ र ८० वर्षभन्दा माथिक १२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशगत अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ३८ जनाको मृत्यु भएको छ। तर प्रदेशका विवरण जोड्दा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। जसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा १३ जना रहेका छन्। यहाँ मृत्यु भएका ३ जनालाई मन्त्रालयले जोडेको छैन। संक्रमितमध्ये दूई जनाले संक्रमण पुष्टि नहुँदै आत्महत्या गरेका हुन् भने एक जना व्यक्ति भारतमा मृत्यु भई नेपालमा परीक्षण गर्दा पुष्टि भएका हुन्।

सुदुरपश्चिम प्रदेश र कर्णाली र गण्डकीमा ६/६ जना संक्रमितको मृत्यु भएको छ। कर्णाली प्रदेशका २ जनाले संक्रमण पुष्टि नहुँदै आत्महत्या गरेका हुन्। जसमध्ये एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका हुन्।

त्यस्तै कर्णाली प्रदेशको गोरखाका एक जनाले आत्महत्याको प्रयास गरेका थिए। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। यी ६ मृत्युलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा समावेश गरेको छैन।

हालसम्म सबैभन्दा बढी प्रदेश २ चार हजार ३९२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका संक्रमित मध्ये दुई हजार ४८१ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।

प्रदेश ५ मा चार हजार ९२ जना कुल संक्रमित मध्ये तीन हजार ३३६ जना डिस्चार्ज भएका छन्। त्यस्तै १३ जनाको मृत्यु भएको छ।

सुदुरपश्चिम प्रदेशमा तीन हजार ९५६ जना संक्रमित मध्ये एक हजार ४१८ जना डिस्चार्ज र ६ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेशमा एक हजार ७४७ जना संक्रमितमध्ये एक हजार ३७१ जना डिस्चार्ज भएका छन्। ६ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै गण्डकी प्रदेशमा १ हजार २७८ जना संक्रमितमध्ये ७७१ जना डिस्चार्ज भएका छन्।  वागमती प्रदेशमा संक्रमितको संख्या ८२१ पुगेको छ। संक्रमितमध्ये ३४७ जना डिस्चार्ज भएका छन भने ९ जनाको मृत्यु भएको छ।

सबैभन्दा कम संक्रमण पुष्टि भएको प्रदेश हो प्रदेश १। यहाँ ७७५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६०४ जना डिस्चार्ज भइसकेका छन्। यहाँ कोही पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell