PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

जब भाइले घरभित्र छिरेर हेर्दा सबै परिवार मृत देखे…

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ: मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा साढे तीन तलाको एकनाले घर छ। घरको भुइँ तलामा नै सानो किराना पसल। शुक्रबार दिउँसोदेखि भने निकोसेराको यही घर धेरैको लागि चासोको केन्द्र बन्यो। कारण थियो घरभित्र भेटिएका शंकास्पद शव।

एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परे।

कोरोना कहरका कारण तीन हप्तादेखि उपत्यका ठप्प थियो। निषेधाज्ञाका कारण मानिसहरुको हिँड्डुल प्रतिबन्धित थियो। बिहीबारबाट निषेधाज्ञा खुकुलो भएपछि भने चहलपहल बढ्यो। शुक्रबार मृतक सुदीपका भाइ दाइको घरमा पुगेका थिए। घरमा मानिसको चालचुल थिएन। तर घरको ढोका भने आधा खुला थियो। जब उनी घरभित्र छिरे, त्यहाँ दाजु, भाउजु र भतिजको शव देखे। त्यसपछि प्रहरीकहाँ खबर पुग्यो र प्रहरी घटनास्थल पुग्यो।शव फेला परेपछि प्रहरीसँगै स्थानीय पनि भेला भए। भाई सशस्त्र प्रहरीमा कार्यरत छन्।

‘आफ्नै भाइले पहिलोपटक शव देखेका रहेछन्। ढोका खुल्लै रहेको उनले बताएका छन्।’ महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले भने।

साढे तीन तलाको घरभित्र प्रत्येक तलामा रहेको कोठामा श्रीमान्, श्रीमती र छोराको शव फेला परेको थियो।

घटनास्थलको प्रकृति हेर्दा उनीहरुको मृत्यु केही दिनअघि नै भएको देखिएको छ। शव गन्हाउने अवस्थामा छ। मृतक महिला र उनका छोराको शव गन्हाउने अवस्था रहेको थियो। दुई वटा शव भने खाटमा फेला परेको थियो।

त्यस्तै घरमा पालेको सेतो रंगको कुकुर पनि मरेको अवस्थामा फेला परेको छ।

अहिलेसम्म घटना हत्या वा के हो भन्ने खुलिसकेको छैन। तीन वटै शवलाई पोष्टमार्टमको लागि दधिकोटमा रहेको केएससी अस्पतालमा लगिएको छ। उनीहरुले संचालन गर्दै आएको पसल तीन दिनदेखि बन्द रहेको स्थानियले प्रहरीलाई जानकारी  दिएका छन्।

‘घटना शंकास्पद रहेको छ। थप कुरा पोष्टमार्टबाट खुल्ने छ,’ एसपी कार्कीले भने।

घटनाको अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली समेत परिचालन गरिएको छ। प्रहरीले घटनाको प्राविधिकदेखि अन्य पक्षबाट अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित समाचारहरुः-

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'



ट्रेन्डिङ पोस्ट

Ncell