PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिड-१९ संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि



विधुर ढकाल

कोभिड-१९ संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि

काठमाडौं : विभिन्न जिल्लामा थप ६  जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय तथा अस्पतालले सोमवार बिहान यो समाचार तयार पार्दासम्म ६ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्।

मृत्यु पुष्टि भएका संक्रमितहरुमा मोरङ र नवलपरासी पूर्वका २/२ तथा कपिलवस्तु, महोत्तरीका १/१ जना रहेका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पछिल्लो २४ घण्टामा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले पुष्टि गरेका छन्।

मृत्यु हुनेमा मोरङको धनपालथान वडा नम्बर ६ का एक पुरुष र विराटनगर १२ का पुरुष छन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धनपालका ४० वर्षीय ती पुरुषमा गत २६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा उनको आइतवार राति ८:४५ बजे मृत्यु भएको उनले जानकारी दिए।

प्रतिष्ठानको अब्जर्बेसन वार्डमा भर्ना भएका उनको प्रतिष्ठानकै प्रयोगशालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो। कुनै पनि किसिमको दीर्घ रोग नभएका ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएकै दिन राति १०:३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

मोरङकै विराटनगर महानगरपालिकाका १२ का ७० वर्षीय पुरुषको पनि आइतावर नै मृत्यु भएको डाक्टर सापकोटाले जानकारी दिए। विराटनगरको म्याक्स अस्पतालबाट रेफर भएका ती व्यक्तिमा गत १६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

ज्वरो, खोकी श्वासप्रश्वासमा कठिनाई भएपछि अस्पताल भर्ना भएका ती व्यक्तिको प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो। उनमा उच्च रक्तचापको दीर्घ रोग थियो।

गते १७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आइतवार दिउँसो २:१८ बजे मृत्यु भएको डा. सापकोटाले जानकारी दिए।

नवलपरासी पूर्वका दुई जनाको मृत्यु पुष्टि

यता चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा नवलपरासी पूर्व गैँडाकोट-९ की ६२ वर्षकी महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतवार राति ११:३० मा मृत्यु भएको डाक्टर लम्सालले बताए।

यता नवलपरासी पूर्वकै मध्यबिन्दु-१२ का ६० वर्षका पुरुषको पनि मृत्यु भएको सोमवार बिहान स्वास्थ्य निर्देशनालय गण्डकी, पोखराले जनाएको छ। निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार गराईरहनुभएको उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २६ गते दिउँसो ४:३० बजे मृत्यु भएको अस्पताल प्रशासनलाई उदृत गर्दै निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुगेको छ।

कपिलवस्तुको नवौं मृत्यु

यता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका क्रममा कपिलवस्तुकी थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानामा उपचारका क्रममा कपिलवस्तु शिवराज नगरपालिका वाड नं. ५ का बर्ष ४७ की महिलाको महिलाको आज बिहान ४:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

मिर्गौला तथा उच्च रक्तचापको बिरामी रहेकी उनमा २१ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। योसँगै कपिलवस्तुमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ९ पुगेको छ।

यही भदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो। उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

महोत्तरीको १३ औं मृत्यु

यता प्रदेश २ को महोत्तरीका थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय पुरुष छन्।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले जानकारी दिए।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उनको मृत्युसँगै महोत्तरीमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या १३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell