PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यही रफ्तार कायम रहे घटस्थापनाको दुई दिन अगाडि कट्नेछ २५ हजार एक्टिभ केस, लकडाउनको जोखिम कायमै



विधुर ढकाल

यही रफ्तार कायम रहे घटस्थापनाको दुई दिन अगाडि कट्नेछ २५ हजार एक्टिभ केस, लकडाउनको जोखिम कायमै

काठमाडौं : कोभिड-१९ संक्रमण मा खराब देशहरुको सूचीमा नेपाल अगाडि बढ्दै गएको छ। दुई दिन अगाडि ४९ औं स्थानमा रहेको नेपाल ४७ औं स्थानमा उक्लिसकेको छ। नेपाल अहिले कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा रहेको चीन भन्दा ४ स्थान माथि र जापान भन्दा दुई स्थान माथि छ।

संक्रमणको यही अनुपातमा बढ्दै जाने हो भने साता भित्रै चीन र जापानलाई खराब सूचीमा उछिन्न सक्छ नेपालले।

यो दुई दिनमा नेपालले पोर्तुगल, कोस्टारिका र होन्डुरसलाई पछाडि पारेको छ। पछिल्लो २ साताको संक्रमणको तथ्यांक हेर्दा दैनिक औशतमा एक हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भइरहेको छ। दैनिक परीक्षण औशतमा १० हजार ५ सय ८४ छ। परीक्षण गरिएका मध्ये १३.१३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। पछिल्लो दुई सातामा एक लाख १६ हजार ४ सय २४ नमुना परीक्षण गरिएकोमा १५ हजार ३३ जना संक्रमित पहिचान भएका छन्। यसरी हेर्दा परीक्षण गरिएका ७ मध्ये १ जनामा संक्रमण देखिँदै आएको छ।   

यो दुई सातामा दैनिक औशतमा एक हजार १ सय २५ जना संक्रमित संक्रमण मुक्त भएर फर्किएका छन्। दुई साताको अवधिमा डिस्चार्ज हुनेको संख्या १२ हजार ३ सय ७५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म संक्रमण पुष्टि भएका ७६ हजार २ सय ५८ मध्ये ७२.६ प्रतिशत अर्थात् ५५ हजार ३ सय ७१ संक्रमित संक्रमण मुक्त भएर फर्किएका छन्। हाल नेपालमा २० हजार ३ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सक्रिय संक्रमित २५ हजार माथि पुगे पुन: स्मार्ट लकडाउन घोषणा गर्न सुझाव दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल दैनिक औशतमा २ सय ६५ ले संक्रिय संक्रमितको संख्या बढिरहेको पछिल्लो दुई साताको तथ्यांकले देखाउँछ।

पछिल्लो एक सातामा संक्रमण यो दर दैनिक औशतमा ३ सय ३१ ले बढ्दै गएको छ। दुई साता अगाडि भदौ ३१ मा १६ हजार २ सय ४२ सक्रिय संक्रमित रहेकोमा असोज १३ सम्म आइपुग्दा यो संख्या २० हजार ३ सय ९६ पुगेको छ।

पछिल्लो दुई साताको अनुपातमा औशतमा सक्रिय संक्रमित बढ्दै गए आगामी १७ दिनमा संक्रमितको संख्या २५ हजार नाघ्ने देखिन्छ। त्यस्तै पछिल्लो साताको अनुपातमा संक्रमण बढ्दै गए १४ (१३.९) दिनमा २५ हजार नाघ्ने देखिन्छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साता अगाडि बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रालयको निर्णय गर्दा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ थियो। यसबीच यो संख्या २० हजार ३ सय ९६ पुगिसेको छ। अबको दुई साता अर्थात् असोज २८ गते घटस्थापनाको दुई दिन अगाडि २५ हजार नाघ्ने देखिन्छ। र, पुन: लकडाउनको सिफारिस हुने छ।

५५ प्रतिशत सक्रिय संक्रमित उपत्यकामै

पछिल्ला दिनहरुमा उपत्यकासहित मोरङ, चितवन, रुपन्देही, सुर्खेत लगायतका जिल्लाहरुमा संक्रमण बढिरहेका छन्। यी जिल्लाहरुलाई सरकारले उच्च जोखिममा रहेको भन्दै सतर्क हुन भनेको छ।

घना बस्ती भएका यी जिल्लामा संक्रमण बढी रहेकोले उच्च जोखिमा रहेका यी जिल्लामा अनावश्यक घर बाहिर ननिस्कन तथा दीर्घ रोगी तथा जेष्ठ नागरिक तथा रोग प्रतिरोधी क्षमता कम भएका लाई बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले भनेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार हाल १६ जिल्लामा संक्रमणको बढी जोखिम रहेको देखाउँछ। यी १६ जिल्लामा सक्रिय सक्रमितको संख्या दुई सय भन्दा बढी छ।

जसमध्ये प्रदेश १ का दुई जिल्ला मोरङ र सुनसरी, प्रदेश २ का तीन जिल्लाहरु सप्तरी, सिराहा र बारा, वागमती प्रदेशका पाँच जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर छन्। त्यस्तै गण्डकी प्रदेशको कास्की प्रदेश ५ का रुपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको कैलाली 'रेड जोन' को रुपमा छन्।

जसमध्ये मोरङ, सिराहा, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मंगलवारसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्र ११ हजार २ सय ७४ सक्रिय संक्रमित छन्। यो कूल सक्रिय संक्रमितको ५५.२७ प्रतिशत हो। नेपालमा हाल २० हजार ३ सय ९६ प्रतिशत संक्रमित छन्।  

जसमध्ये काठमाडौं जिल्लामा ९ हजार २ सय ५३, ललितपुरमा एक हजार १ सय ४१ र ललितपुरमा ९ सय ८० सक्रिय संक्रित छन्। त्यस्तै मोरङमा १ हजार ४१, चितवनमा ७ सय ६३ र  रुपन्देहीमा ८ सय ६९ जना सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell