PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रतिष्ठानको आवरणमा मौलाउँदै नेकपाको गुट भेला, कोही पुष्पलाल कोही मदन भण्डारीको ब्यानरमा



पहिलोपोस्ट

प्रतिष्ठानको आवरणमा मौलाउँदै नेकपाको गुट भेला, कोही पुष्पलाल कोही मदन भण्डारीको ब्यानरमा

शनिबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गुटको भेला नगर्न चेतावनी दिए। प्रचण्डको नाम लिन समेत असहज मानिरहेका प्रधानमन्त्री ओलीले गुट भेलाको औचित्य नरहेको र गुटको प्रस्ताव बैठकमा पेस गर्नु औचित्यहीन रहेको समेत बताए।

तर, गुटको भेलाको औचित्य नरहेको बताइरहने ओली भने विभिन्न ब्यानरमा स्वयम् गुट भेलामा लागेका छन्। भेला पार्टीका पूर्व नेताका नाममा गठित प्रतिष्ठानहरुले भेला गरिरहेका छन्। पछिल्लो समय मदन भण्डारी फाउन्डेशनलाई ओलीले रणनीतिक रुपमा उपयोग गरिरहेका छन्। बालुवाटरबाट नै भर्चुअल रुपमा ओली स्वयम् ती भेलाहरुमा सामेल भइरहेका छन्। यद्यपि यो उपयोगको श्रृङ्खला नौलो र पहिलो हैन।

ओलीमात्र हैन पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले पनि पुष्पलाल मित्रता केन्द्रका नाममा नेतृत्व शुद्धीकरणको अभियान चलाइरहेका छन्।

दुरुपयोग हुँदै प्रतिष्ठान

पार्टी विवाद चुलिँदै जाँदा नेतृत्वको रक्षामा मदन भण्डारी फाउन्डेशनले सडकमा समेत सहभागिता जनाइरहेको छ। विवाद चुलिएका पार्टीका रणनीतिक अस्त्र फ्याक्न समेत ओलीले फाउन्डेशनको फोरम उपयोग गर्दै आएका छन्। स्थायी समिति बैठकमा विवाद उत्कर्षमा रहेका बेला गत असारमा भारतले आफ्नो राजीनामा चाहेको अभिव्यक्ति समेत ओलीले फाउन्डेशनकै फोरमबाट बाहिर ल्याएका थिए।

पछिल्लो विवाद चुलिँदै गर्दा पुनः फाउन्डेशनलाई ओली समूहले रणनीतिक रुपमा प्रयोगमा ल्याएको छ। धुम्बारही र बालुवाटारमा गुट भेला सक्रिय हुँदा कार्यकर्ता तहमा फाउन्डेशनका ब्यानर प्रयोगमा आइरहेका छन्।

गत सोमबार ओली पक्षका नेताहरुले फाउन्डेशनको कार्यालय गौशालामा भेला भएका थिए। प्रधानमन्त्री ओलीले बालुवाटारमा महासचिव महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु विष्णु रिमाल, शंकर पोखरेलहरुलाई घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। सोही अनुरुप ती नेताहरु गौशालामा पुगेर ओली पक्षका नेताहरुलाई सरकारको प्रतिरक्षामा लाग्न निर्देशन दिएका थिए।

गौशाला भेलामा मन्त्रीद्वय भानुभक्त ढकाल र पार्वत गुरुङ समेत सहभागी भएको स्रोतको दाबी छ। प्रधानमन्त्रीको सल्लाहकार राजन भट्टराई तथा सांसद राजेन्द्र गौतमसमेत सहभागी भएको स्रोत बताउँछ।

फाउन्डेशनको आवरणमा छलफलको श्रृङ्खला यत्तिमा नै सीमित रहेन। शनिबार पुनः वसुन्धरामा ओली पक्षका कार्यकर्ताहरुको भेला भयो। ओली पक्षका नेता तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको नेतृत्वमा पूर्व एमाले भित्रको ओली समूहका नेताहरुको भेला भएका थिए। भेलामा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सन्देश लिएर पुगेका थिए।

भेलामा ओली समूह बाहेक अन्य समूहका नेता सहभागी भएनन्। गुटको भेलाभन्दा पनि केन्द्रमा भइरहेका गतिविधि जानकारीका लागिमात्र छलफल भएको सहभागीहरुको दाबी छ। भेला पार्टी विभाजनका लागि नभएको समेत ओली पक्षको दाबी छ।  

गत सातामात्र ओली समूहले यस्तै गुट भेला फाउन्डेशनको नाममा गरेको थियो। प्रदेश १ का ओली पक्षीय नेता कार्यकर्ता सहभागी भएको भेलालाई ओली र ईश्वर पोखरेलले भर्चुअल रुपमा सम्बोधन गरेका थिए। जसप्रति पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए।

भेलामा ओलीले पार्टी विधानमा आगामी महाधिवेशनसम्मका लागि थाती राखिएको ‘जबज’ अन्तिम बटमलाइन भएको भन्दै जबजका विषयमा छलफल अगाडि बढाउन निर्देशन दिएका थिए। भेलामा नेपाल पक्षका नेताहरु सहभागी थिएनन्। यद्यपि, तल्लो तहसम्म जबजको छलफल लैजाने र नेपाल पक्षका नेताहरु पनि स्वत सहभागी हुँदै आउने निष्कर्ष बैठकले निकालेको बताइएको छ। 

त्यस्तै, गत आइतबार ओली पक्षका नेताहरु लाजिम्पाटमा भेला भएका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरु लाजिम्पाटमा भेला भइ पूर्व एमालेलाई एक बनाउन र नेपाल पक्षलाई फकाउने निष्कर्षसहित टुंगिएको थियो।

यो समूह प्रचण्ड नेपालको समीकरण भत्काउँदै नेपाललाई ओली नजिक ल्याइ प्रचण्डलाई एक्ल्याउने रणनीतिमा लागेको छ। सोही अनुरुप ओली गुटका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापालगायत राजनीतिबाट टाढा भइसकेका नेता प्रदीप नेपाललाई भेटर माधव नेपाललाई फकाइदिन अनुरोध समेत गरेका थिए।

बारम्बार ओलीले आफू संकटमा पर्दा फाउन्डेसनको प्रयोग गर्ने गरेका छन्। त्यसैले यिनको खारेजीको आवाज पनि उठ्दै आएको छ।

ओली समूहले मात्र हैन पछिल्लो समय नेपाल समूले पनि पुष्पलाल मित्रता केन्द्रका नामबाट शुद्धीकरण अभियान चलाइरहेको छ। नेतृत्व शुद्धीकरण भन्दै शनिबार बुटवलमा कार्यक्रम सम्पन्न गरिएको थियो। अभियानमा पूर्व माओवादी र वरिष्ठ नेता नेपाल निकट नेता सहभागी छन्।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विजय पौडेल र बामदेव क्षेत्रीले पार्टी फुट हुनबाट बचाउन आग्रह गरेका थिए। पार्टीका गलत काम कारबाहीको खबरदारी गर्नुपर्ने उनीहरुले बताए। विधि र विधान नमान्ने नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भेलाले निष्कर्ष निकालेको छ।

गुट चलाएको आरोप

एमालेको अध्यक्ष हुँदा नै ओलीले फाउन्डेशनमार्फत् पार्टीभित्र गुट चलाउँदै आएको नेकपाका केन्द्रीय सदस्य राजेन्द्र राई आरोप लगाउँछन्। हिजो एमाले हुँदादेखि नै गुट चलाउनकै लागि फाउन्डेशन र प्रतिष्ठान खोलिएका उनको दाबी छ। ‘यिनै प्रतिष्ठानमार्फत् प्रधानमन्त्रीले गुट चलाउँदै आउनु भएको हो, ’ राईले पहिलोपोस्टसँग भने, ‘अहिले फेरि यसैको प्रयोग गर्दैछन्।’

नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल पनि ओलीले फाउन्डेशनका नाममा हिजो पनि गुट चलाएको र आज पनि चलाइरहेको बताउँछन्।

‘मदन भण्डारी फाउन्डेशन र मदन भण्डारी स्मृति प्रतिष्ठान पार्टीको आधिकारिक निर्णयमा खुलेका होइनन्। उहाँहरुले व्यक्तिगत रूपमा सञ्चालन गर्नुभएको हो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘१० वर्षयता फाउन्डेसनका नाममा स्थानीय तहसम्मै गुटको विस्तार गर्ने काम भइरहेको छ।’

गत असारमा पनि सचिवालय र स्थायी कमिटीमा रक्षात्मक अवस्थामा ओली पुगेका थिए। त्यतिबेला ओलीको राजीनामा मागिएको थियो। ओलीले यिनै फाउन्डेशनका नाममा आफ्ना पक्षका कार्यकर्ताहरुलाई सरकारको पक्षमा सडकमा उतारेका थिए

कोभिड१९ माहामारी फैलिरहेको अवस्थामा ओलीकै निर्देशनमा सरकारको पक्षमा सडकमा कार्यकर्ता उतारेका ओलीले अहिले फेरि बैठक बोलाए अल्पमतमा पर्ने भन्दै बैठक छल्दै फाउन्डेशनमार्फत् आफ्नो गुट परिचालन गरिरहेका छन्। अहिले फाउन्डेसनको नाममा गुट परिचालनसँगै जबजको अस्त्र लगाएर नेपाल पक्षका नेता कार्यकर्ताहरुलाई पनि आफ्नो पक्षमा ल्याउने प्रयास ओलीले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell