काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सत्तारुढ दलभित्रै चेपुवामा छन्। पार्टीभित्र अल्पमतमा हुँदा पार्टी कमिटीका बैठकहरु छल्दै आएका उनले आफ्नो पक्षका नेताहरुसँग भने बाक्लै छलफल र भेटघाट गरे। त्यतिमात्र होइन मदन भण्डारी फाउन्डेसनको नाममा कार्यकर्ताहरुलाई सम्बोधन गर्नसमेत भ्याए।
पार्टीभित्र आफू अफ्ठ्यारो अवस्थामा पर्दा उनले पटकपटक एउटा अस्त्र फाल्ने गरेका छन्- 'राजीनामा'को। गत साता त्रिवि शिक्षण अस्पतालमा भएको एक कार्यक्रममा चिकित्सक तथा कर्मचारीमाझ उनले राजीनामाको अस्त्र फ्याँके। ओली पार्टीभित्र अल्पमत र दबाबमा थिए। सचिवालय बैठक टारिरहेका थिए। खुमलटार र कोटेश्वरमा ओली पक्ष इतरका बहुमत सचिवालय सदस्यहरु ओलीलाई 'डाउन साइज' गर्नका लागि छलफलमा जुटिरहेका थिए।
त्यत्तिकैमा कार्तिक १९ गते शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उनले भने, ''सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन। मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ... केही पनि हुनेवाला छैन।'
त्यसको एक सातापछि उनी किमाथांका पुगे। दोस्रो पटक मृगौला प्रत्यारोपणपछि उपत्यका बाहिर पहिलोपटक पुगेका उनले त्यहाँ पुगेर पनि राजीनामाको प्रसंग कोट्याए। उनले त्यहाँ पुगेर भनेका थिए- 'म जनताको विश्वासले सरकारमा आएको हो। अहिले सरकार परिवतर्न हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु ब्यर्थ छ। कसैले राजीनामा माग्दैमा राजीनामा दिन्न।'
प्रधानमन्त्री ओलीले राजीनामाको 'बेमौसमी' कुरा उठाएको पहिलो भने होइन। उनले यसअघि पनि यस्तै कुरा उठाएका थिए। देश कोभिड-१९ विरुद्धको लडाइमा रहेको छ। कोभिड-१९ विरुद्ध शून्य मृत्युको नीति बनाएको सरकार संक्रमण नियन्त्रणमा असफल हुँदै गएको छ। संक्रमितको संख्या दुई लाख नाघिसकेको छ। मृत्युको आँकडाले १२ सय छुन लागेको छ।
असफलता लुकाउनकै लागि प्रधानमन्त्रीले राजीनामाको अस्त्र फालेर सेन्टिमेन्टसँग खेल्न खोजेको आरोप नेकपा भित्र लागेको छ।
ओलीले राजीनामा मागिएको भन्दै दिएको अभिव्यक्तिप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटेरै प्रधानमन्त्रीसँग आपत्ती जनाइसकेका छन्। २० गते भएको भेटमा प्रचण्डले आपत्ती जनाएका थिए।
'कसैले पनि नउठाएको राजीनामाको कुरा उठाउनुभयो। त्यो गम्भीर र आपत्तिजनक विषय हो। ती विषयवस्तुमा पार्टी कमिटी बैठकमा नै छलफल गरेर अघि बढौं,' भेटमा प्रचण्डको प्रस्ताव थियो। यहीबीच आज शुक्रवार नेकपाको सचिवालय बैठक बस्दै छ। बैठकमा प्रधानमन्त्रीले राजीनामा दिन्न भनेर दिएको अभिव्यक्तिबारे सोधिने सचिवालयका एक सदस्यले बताए।
'न त अहिले उहाँको कसैले राजीनामा मागेको छ। पार्टीभित्र पनि बाहिरबाट पनि उहाँको राजीनामा कसैले मागेका छैनन्,' ती नेताले भने, 'उहाँले किन राजीनामा मागियो भन्दै हल्ला गर्दै हिँड्नु भएको छ? यसबारेमा सोधिन्छ।'
ओलीले आफ्नो असफलता ढाक्न सँधै राजिनामाको अस्त्र फ्याक्ने गरेको ती नेताले आरोप लगाए।
'सरकारको कामको समीक्षा गर्ने हो भने सन्तोषजनक छैन। पार्टी सञ्चालनको कुरा गर्ने हो भने उहाँ अटेरी बन्दै जानु भएको छ। पार्टी कमिटीको निर्णय मान्दिन। पार्टीको निर्णयलाई टेर्दिन भन्दै हिँड्नुहुन्छ,' तीन नेताले भने, 'पार्टीभित्रको दवावबाट बाहिरिनका लागि कार्यकर्ताको सेन्टिमेन्टमा खेल्दै राजीनामाको अस्त्र फ्याँकेका हुन्।'
अहिलेमात्र होइन, उनले गत वैशाखमा जब उनले विवादास्पद राजनीतिक दल सम्बन्धी अध्यादेश सिफारिस गरे त्यतिबेला उनको राजीनामा माग्न थालिएको थियो। उनले त्यतिबेला कार्यकर्ताको सेन्टिमेन्टमा खेल्दै 'भारतको इसारा'मा आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका थिए।
त्यतिबेला पनि प्रचण्डले सचिवालय बैठकमै ओलीलाई भनेका थिए- 'भारतले होइन मैले मागेको हुँ राजीनामा दिइहाल्नुस्।' उनले त्यतिबेला राजीनामाको अस्त्रबाटै आफूमाथि आएको दबाबलाई विषयान्तर गरेका थिए।
गत असारमा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन स्थायी कमिटीका सदस्यहरुले माग गरेका थिए। उनले सोही अस्त्र प्रयोग गर्दै सडकमा मदन भण्डारी फाउन्डेशन मार्फत समर्थक उतारे- 'आइ एम विथ केपी ओली' भन्दै।
अहिले पनि ओलीले फाउन्डेशनका गतिविधिलाई सक्रिय पारेका छन्।
अर्कोतिर त्यतिबेला पूर्व माओवादी पक्षका केही स्थायी कमिटी सदस्यहरु ओलीको राजीनामाको विपक्षमा उभिए। उपाध्यक्ष गौतमले ओलीलाई सहज हुने गरी उनले प्रस्ताव सार्वजनिक गरे। ओलीलाई सहज बनाइदियो। सचिवालयले कार्यदल गठन गर्यो। कार्यदलको सिफारिस अनुसार अगाडि बढ्ने भन्दै ओलीले आत्मालोचना गरे।
कार्यदलले प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओलीलाई सरकारको जिम्मेवारी चलाउन सुझाब दियो। सोही सुझाब अनुसार स्थायी कमिटीमा ओलीको राजीनामाको विषय मथ्थर भयो।
तर, कार्यदलको मात्र होइन स्थायी कमिटीको निर्णय कार्यान्वयन भने ओलीले गरेनन्। उल्टै कार्यकारी अध्यक्ष रहेका प्रचण्डलाई दोस्रो तहको अध्यक्ष रहेको आफ्नो सहमति बिना केही नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन्।
कार्यदलले गुटगत भेला नगर्ने र फाउन्डेसन र प्रतिस्ठानका गतिविधिमा सहभागी नहुने सुझाब दिएअनुरुप स्थायी कमिटीले पनि सोही निर्णय गरेको थियो। पार्टी केन्द्रीय कार्यालयको तर्फबाट आन्तरिक पार्टी निर्देशन (आपानी) जारी गर्दै गुटगत भेला र प्रतिष्ठानका भेला नगर्ने भनिएको छ।
तर, ओली आफैले प्रदेश १ का कार्यकर्ताहरुलाई मदन भण्डारी फाउन्डेशनका नाममा सम्बोधन गर्दै जबजको बहस चलाउन निर्देशन दिए। गत असारमा सुरु भएर भदौमा सकिएको स्थायी कमिटीको बैठकमा ओलीको राजीनामाको विपक्षमा उभिएका पूर्व माओवादी नेताहरुले यसपटक प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने स्पष्ट पारिसकेका छन्। अर्कोतर्फ गौतम पनि ओलीको विपक्षमा उभिएका छन्। यस्तोमा ओली थप दबाबमा छन्।
शुक्रवार अपराह्न पार्टी सचिवालय बैठक बस्दै छ। आजको बैठकमा दुबै पक्ष आ-आफ्ना रणनीतिसहित प्रस्तुत हुने तयारीमा छन्।
ओली पक्ष राजीनामाको हल्ला र गुटगत भेलाको विषय उठाएर गन्थन मन्थन गर्दै बैठकलाई एजेन्डामा प्रवेश नगराई सक्ने रणनीतिमा लागेका छन्। अर्कोतर्फ प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु ओलीको 'राजीनामा'को 'बेमौसमी रटान' र पार्टी केन्द्रीय कमिटीको बैठक, स्थायी कमिटीको बैठक र कार्यदलले दिएको सुझाव कार्यान्वयनका विषयमा ओलीमाथि हावी हुने रणनीतिमा प्रस्तुत हुने तयारीमा जुटेको छ।
यो पनि:
पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'