PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

गृहमन्त्रीको टोलीले किन फोटो खिचाउन मानेनन् छाङरुको त्यो प्रहरी भवनमा?



कमलराज भट्ट

गृहमन्त्रीको टोलीले किन फोटो खिचाउन मानेनन् छाङरुको त्यो प्रहरी भवनमा?

काठमाडौं : छाङरुको सीतापुलमा प्रहरी चौकी स्थापना भएको २०२७ सालमै हो। अहिले जीर्ण भवन गागाबगरस्थित तिंकर खोलाको छेउमा छ। प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा १० जना जति प्रहरी कर्मचारी बस्छन् यहाँ। छाङरुमा प्रहरी कर्मचारी बस्नै मान्दैनन्। कारण : अत्यधिक चिसो हुने छाङरुमा भवन नै जीर्ण छ।

पोशाक, राशन, भत्ता र सेवासुविधाको समस्या त छँदैछ।

भारतले यसपाली कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने र लिपुलेकसम्म दुई लेनको पक्की सडकका लागि ट्रयाक खोलेपछि दार्चुलाको व्यास गाउँपालिका १ को नेपाली गाउँ छाङरुमा चर्चामा आयो। नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नक्सामा समावेश गर्‍यो। छाङरुमा उपस्थिति बढाउँदै बीओपीका साथै सशस्त्र प्रहरीको गुल्म नै स्थापना गरियो। प्रहरी चौकीको जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन बनाउन योजना अगाडि बढाइयो। यद्यपि काम सुरु भएको छैन।

छाङरुमा राज्यको उपस्थिति छ भन्ने देखाउन गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकोप्टरबाट आफै पनि पुगे। छाङरु पुगेर गृहमन्त्री थापाले असोज ९ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको शिलान्यास गरे। जनतासँग भलाकुसारी पनि गरे। गुनासो सुने। प्रहरीको जीर्ण भवन हेर्न पनि गए।

प्रहरी भवन हेरिसकेपछि गृहमन्त्री थापा लजाए। गृहमन्त्रीसँग छाङरुमा सशस्त्र आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र एआईजी रामशरण पौडेललगायत थिए।

छाङरुमा प्रहरीको अवस्था देखेर गृहमन्त्रीले तस्विरसमेत खिच्न सकेनन्। एक सुरक्षाकर्मीका अनुसार भवनको फोटो खिच्दा लाज हुने भन्दै गृहमन्त्रीको टिमले होर्डिङ बोर्ड अगाडि तस्विर लिएको थियो। ‘गृहमन्त्रीका सल्लाहकार र गृहसचिवले भवनको फोटो खिचाउँदा लाज र आलोचना हुने भन्दै गेटमा खिचाएर गए,’ एक सुरक्षाकर्मीले भने, ‘मन्त्रीज्यूलाई तस्विर खिच्नसमेत लाज लाग्यो। हामी त झन ६ महिनादेखि यसमै बसेर दिन काटिरहेका छौं। नयाँ भवन बनाइदिए हुन्थ्यो।’

नयाँ भवन प्रक्रियामै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नयाँ भवन प्रक्रियामै छ। छाङरुको वातावरण अनुकूल हुनेगरी अत्याधुनिक भवन बनाउन प्रदेश सरकारले यस वर्ष ७० लाख बजेट विनियोजन गरेको छ। बहुवर्षीय योजना रहेको भवन टेण्डर हुने चरणमा छ। वैशाखबाट काम सुरु हुने प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए। ‘डीएसपीको नेतृत्वमा हाम्रो प्राविधिक टोलीले ठाउँ फाइनल गरिसकेको छ। केही दिनमा टेण्डर हुन्छ। उपयुक्त ठाउँमा आगामी वैशाखबाट निर्माण कार्य सुरु हुन्छ,’ उनले भने।

द्वन्द्वकालमा छाङरुमा प्रहरी विस्थापित भएपछि यहाँको भवन जीर्ण बनेको थियो। शान्ति स्थापनापछि उक्त जीर्ण भवनमै प्रहरी गुजारा चलाउँदै आएका छन्। द्वन्द्वका बेला यहाँ असईसहित केही प्रहरी मारिएका थिए।

गृहमन्त्री थापाद्वारा कालापानी क्षेत्रको निरीक्षण, आज छाङरुमै बास बस्ने

छाङरुमा भवन नपाएपछि सशस्त्र र नेपाल प्रहरी हिउँ छल्न भाडाको घरमा : एसएसबीलाई आग्रह 'हिउँदमा हाम्लाई केही भए उद्धार गरिदिनू'

छाङरुमा गृ‌हमन्त्रीले महिना दिनमा बन्ने गरी शिलान्यास गरेको सशस्त्र गुल्म भवन निर्माण अलपत्र, बाँकी काम चैतबाट भन्दै हिँडे ठेकेदार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell