'कति? कति?'
हातमा क्यालकुलेटर थिच्न संकेत गर्दै लामो कपालमा रातो धागो बाँधेका व्यक्ति सोध्दै थिए। मैले लगाएको जुत्ता किन्ने हो भनेर जिस्क्याएको थिएँ, उनले भाउ सोध्न थालिहाले।
परेन त आपत्? जुत्ता बेच्नु थिएन, उनी भने किन्न तयार।
कति भन्ने बाहेक नेपाली बोलेका थिएनन् उनले। कालो कट्कटिएको ज्याकेट लगाएका उनी व्यापारी। तिब्बतबाट नाम्चेमा सामान बोकर आइपुगेका रहेछन्। ब्ल्याङ्केट, थर्मस, प्लास्टिकका मेच र गोलो टेबलका साहु। जुत्ता सक्कली कि नक्कली हेरेकै भरमा चिन्ने रहेछन्।
माओवादीको हिंसात्मक आन्दोलनको बाछिटा फाक्दिङसम्म पुगेको भए पनि त्यसभन्दा माथितिर कुनै असर थिएन। लुक्लामा रहेका प्रहरी आफ्नो क्वाटरमा बस्थेनन्। सर्वसाधारणको घर या होटलतिर सुत्न जान्थे रातिराति। त्यसैको असर , तिब्बती नाकातिर रहेको छोटी भन्सार उठिसकेको थियो, त्रासमा। अनि निर्वाध भित्रिन्थे तिब्बतीहरु। ६ हजार मिटरको पास पार गरेर नाम्चेमा व्यापार गर्न झर्नु सजिलो थिएन। १० दिन लगाएर नाम्चे आइपुगेको सुनाउँथे। र, अड्डा जमाएर बस्थे नाम्चेमा। काठमाडौंबाट उडेर अनि लुक्लाबाट कुम्लो कसेर यहाँसम्म ल्याइपुग्ने सामानभन्दा निकै सस्तो हुन्थ्यो तिब्बतबाट ल्याइएका वस्तु।
दुई दशकअघि लगाइरहेको जुत्ता बेच्नबाट बच्नुपरेको स्मृति तरङ्गित हुँदैगर्दा नाम्चेको फेदसम्म पुगिसकिएको थियो। दिन र रातको संगम हुँदै थियो। सम्झनाका प्लटमा कैद भएका दृष्यभन्दा फरक अनुभूति भयो यो ठाउँ।
हिमालको काखैमा विशाल संरचनाहरु बनिसकेका रहेछन्। कंक्रिट संरचनाले नाम्चेलाई पहिलेभन्दा फरक तुल्याइसकेको रहेछ। फेदैमा रहेको खुला चौर जहाँ तिब्बतीहरु व्यापारको लागि अड्डा जमाउँथे, त्यसमा पनि संरचनाहरु बनिसकेका रहेछन्। 'धेरै भयो तिब्बतीहरु आउन बन्द भएको। नभए त फेरिचेसम्मै व्यापार गर्न पुग्थे,' होटल नाम्चे पुगेपछि मेरो प्रश्नको उत्तर दिँदै आङमाया शेर्पाले भनिन्।
बुद्धको स्तुप, वाटर फाउन्टेन अनि सिमेन्ट जडित ढुंगे सिंढी, कंक्रिट बुटाहरु। यो प्रकृतिमा थोरधेर कृतिमताले प्रवेश पाइसकेको रहेछ। हेलिकप्टरले पहिले काठ ओसार्थे, अहिले फलामे बिमहरु ओसार्ने रहेछन्। फलामे बिम हालेर कंक्रिट संरचनाहरु सामान्य बन्दै गरेको देखियो। होटलमा चिम्नीको ठाउँमा हिटरको तातो, जतिखेर पनि बलिरहने बत्तीको सुविधा। धेरैखाले परिवर्तनहरु देखिए पनि शेर्पाहरुको आतिथ्यमा भने परिवर्तन थिएन। उही शैली, उही मिजास।
होटल नाम्चे। यतीको प्याकेजमा यही होटलको व्यवस्था रहेछ। होटलभित्र झुन्डिएको मूल्यसूची देखेपछि थाहा भयो हामी बस्ने कोठाको प्रतिदिन शुल्क २५ डलर पर्ने रहेछ। होटलको डाइनिङ हलमा चर्चित पर्वतारोहीहरुको फोटो थियो, यही होटलमा बसेको। पारश शाह र हिमानी शाह पनि सन् २००४ मा यही होटलमा बसेका रहेछन्। होटल संचालक आङमायासँगको उनीहरुको फोटो पनि त्यही झुन्डिरहेको थियो।
पहिले लघुजलविद्युत आयोजनाबाट झुल्किने पिलिपिले बत्तीलाई नेसनल ग्रिडको लाइनले जोडेको रहेछ। त्यसैले राति हिमालको काखमा रहेको यो गाउँमा झिलमिल बत्ती बल्छ भन्ने अनुमान थियो। तर, १० प्रतिशत पनि बिजुली बलेन किनकि तिनमा मान्छे थिएनन्। कारण रह्यो कोभिड-१९। पर्यटक छैनन्, होटलहरु अधिकांश बन्द। कठ्याङ्ग्रिँदो चिसोमा हामी रात्रिकालीन तस्बिर उतार्न उचाईतिर लागे पनि त्यसको अर्थ रहेन। नाम्चेको सुनसान अपत्यारिलो रह्यो।
किनकि सुनसान हुनु नाम्चेको पहिचान होइन। यहाँ त पर्यटकको ओइरो नै लाग्थ्यो। बीस वर्षअघि देखेको मानिसको भिड यहाँ थिएन, भलै त्यतिखेरभन्दा धेरै अटाउन संरचना बनिसकेको किन नहोस्। फेरि त्यतिखेरको याद आयो जतिखेर नाम्चेको कूल जनसंख्याभन्दा एक दिन यहाँ छिर्ने र यहाँबाट बाहिरिने पर्यटकको संख्या धेरै हुने गर्थ्यो। यसरी भित्रिने र छिर्ने दुवै स्वदेशी होइन, विदेशी नै हुने गर्थे। साह्रै फाट्टफुट्टमात्र पुग्थे नेपाली। त्यसमा परिवर्तन भने आइरहेको रहेछ। होटलका मेनुहरु नेपालीका लागिसमेत हुने गरी तयार भएको देखियो।
नाम्चेको होटलका रुमहरुमा देखिएको परिवर्तन भने क्रान्तिकारी नै लाग्छ। अट्याच बाथरुम अनि रुममा नुहाउन तातोपानीमा अतिरिक्त शुल्क लिने चलन हटेछ। लचकदार म्याट्रेस र सेतो च्यादर त्यो पनि निक्कै सफा।
'पहिले त मैलो नदेखिने बेड सिट राख्ने चलन थियो,' होटलमा आएको परिवर्तनबारे जिज्ञासा राख्दा आङमायाले भनिन्, 'अहिले त स्तर धेरै माथि बढेको छ।'
तिब्बतीहरु आएर हुने कारोबार रोकिएसँगै नाम्चेभन्दा माथितिर बसोबासको स्तर पनि निक्कै सुधारिएको उनले सुनाइन्। तिब्बतीहरुले नै उचाईतिरको व्यापार थेगेका थिए पहिले। अहिले भने नेपालीले नै त्यसलाई सम्हाल्दै बिस्तार गरिरहेका रहेछन्।
भोलिपल्ट नाम्चेबाट हामी खुम्जुङका लागि हिँड्यौं। साँझ फर्किने चाहिँ हामी नाम्चेमै। यहाँबाट स्याङ्बोचे विमानस्थलसम्म पुग्न ठाडै उकालो छ। नाम्चेलाई तलतिर पारेर खुम्जुङ भ्याली प्रवेश गर्नुको मजा बेग्लै। खुम्जुङ र हेलम्बु गाउँ मलाई उस्तै लाग्छ। खुम्जुङ ठूलो र फराकिलो, हेलम्बु सानो। दुवै गाउँमा धेरेखाले समानता पनि। सिन्धुपाल्चोकको राम्रो विद्यालयहरुमध्येको एक हेलम्बुमा पर्छ भने सोलुखुम्बुको खुम्जुङमा। गुम्बाहरु पनि दुवैतिर उस्तैखाले। खुम्जुङको गुम्बामा मैले यतीको टाउको हेर्न पाएको थिएँ, २० वर्षअघि।
सय रुपैयाँ दिएपछिमात्रै गुम्बाको एउटा दराजभित्र राखिएको यतीको शिर निकालियो। वरिपरि सिसाले घेरिएको बक्साभित्र एउटा टाउको थियो। सय रुपैयाँ दिएपछि फोटो खिच्न अनुमति पनि मिल्यो। हत्तपत्त आफूसँग भएको एसएलआर क्यामरा झिकेँ र क्लिक क्लिक क्लिक... गरेँ तीन स्न्याप। क्यामरामा अझै १२ वटाजति फ्रेम कैद हुनसक्थ्यो। ६ वटा रिलमा हिमाली दृष्यहरु कैद भइसकेका थिए, यो अन्तिम रिल थियो।
काठमाडौं आएर चक्सिबारीमा फोटो धुलाउँदा आफ्नै आँखाले देखेको यतीको दृष्य कल्पिरहेको थिएँ। यतीको टाउकोको गफ पनि धेरैलाई दिएँ। फोटो आयो। पहिलो ध्यान नै यतीको टाउको खोज्नमा थियो - दुर्भाग्य तिनवटै फोटोमा यतीको स्वरुप थिएन। थियो त टाउकोलाई ढाकिएको सिसामा चम्केको फ्ल्यासको बत्ती। पछि क्याम्पसमा गुरु गोपाल चित्रकारले फोटोग्राफी पढाउँदा मेरो बिग्रिएको फोटोको कथा सुनाएँ। भर्खर एसएलआर क्यामरा हात पारेर सगरमाथा पुगेको मलाई अपार्चर र सटर स्पिडको ज्ञान शून्य रहेछ भन्ने गोपाल सरले बताउँदै गएपछिमात्र थाहा भयो।
स्याङ्बोचे विमानस्थलमा पुगेर थकाइ मार्दा म पुरानो कुरा सम्झेर खिस्स हाँसे, आफैँसँग। यसपाला मेरो हातमा एसएलआर क्यामरा छैन। अनि फोटोको पीर पनि छैन। न रिल बचाउनुपर्ने चिन्ता बाँकी छ। रहर चाहिँ फेरि एकपटक त्यही यतीको टाउकोको तस्बिर लिने।
स्याङ्बोचे विमानस्थलमाथि नयाँ रिसोर्ट बन्दै रहेछ। यहाँबाट पूर्वतिर हिमाली श्रृङ्खला अनि पश्चिमतिर कोङ्दे र कोङ्दे रि पर्वतको दृष्य। दक्षिण पूर्वमा आमदब्लम, थामसेर्कुसहितका हिम श्रृङ्खला। यी सबै दृष्यमा रमाउँदै गर्दा एउटा सूचनामा आँखा पर्यो - विश्वव्यापी कोरोना भाइरसका कारण खुम्जुङ गाउँमा प्रवेश नगर्नु होला। मिति थिएन। बाटोमा गाउँका मानिसहरुको ओहरदोहर पनि थिएन। एकाएक खुम्जुङ भ्याली पुग्ने सपनामाथि निषेधाज्ञा लागू भयो। खुम्जुङ पुग्न नसके पनि एभरेस्ट भ्यू होटलसम्म त पुग्नै पर्ने थियो।
रमाइलो बाटो, पहाडको शिरैमा समथर मैदान। भिरतिर चर्दै गरेका जंगली बाख्राहरु। शेर्पाहरु हत्या हिंसाबाट टाढा रहने भएकाले यहाँ यिनीहरु निस्फिक्री चरिरहेका हुन्छन्। हाम्रो यात्राभर आकाश यसरी खुलेको छ कि बादलका टुक्रासमेत देखिएको छैन। खुम्जुङ यात्रालाई बिट मार्न खुम्जुङकै मुखमा रहेको एभरेस्ट भ्यू होटलमा हामी पुग्यौं।
तीन जना कर्मचारी रहेछन् - होटलमा। लामो समयपछि हामी पहिलो पाहुना भन्दै थिए उनीहरुले। एभरेस्ट भ्यू अर्थात् नामै काफी। यहाँबाट अगाडि कुनै पर्वत छैन जसले सगरमाथा श्रृङ्खलाको दृष्यलाई रोकोस्। यो सानदार होटलमा एकै छिन बसेर नास्ता र कफी पिउँदाको आनन्द व्याख्या गर्न सकिन्न। यहाँको बेन्चमा टेकेर पर्खालतिर उक्लिँदै फोटो खिच्यौं, असभ्य पाराले। बस्न राखिएका कुर्सीमा हामीले मात्र होइन, हामी फर्केको केही दिनपछि कतारका युवराजसहितको टोलीले पनि हामीले जसरी नै फोटो खिचेको रहेछ। उनीहरु आमदब्लमको सफल आरोहणपछि एभरेस्ट भ्यू पुगेका थिए।
एभरेस्ट भ्यूबाट पूर्वतिरै हेर्दा देखियो एउटा गाउँ। त्यो गाउँ जहाँ २० वर्षअघि मैले रात बिताएको थिएँ। बास बसेको होटलको नाम याद भएन। एउटा किशोरी थिइन्, नाम पासाङल्हामु शेर्पा। उनैले हामीलाई खानपानको व्यवस्था मिलाएकी थिइन्। निक्कै फरासिली उनले पछि सगरमाथा पनि आरोहण गरिन्। पासाङ ल्हामु शेर्पा एउटा ब्रान्ड नै भएकाले उनको नाम सहजै याद भयो, ठाउँको चाहिँ भएन।
त्यो गाउँको नाम के हो?
'फोर्चे।'
सुन्नासाथ सम्झनामा आयो, ठाडो उकालो। फोर्चेबाट तल झरेर फेरि मुङ्लातिर चढेको उकालोको कठिनाइ कहिल्यै बिर्सिन सक्दिन। लामो यात्राले थाकेर हो या, फर्किने बाटो छोटो होस् भन्ने कामनाले हो, उकालोले अधैर्य बनाएको थियो। त्यहाँबाट खुम्जुङ हुँदै हामी फर्केका थियौं र गुम्बामा पुगेका थियौं। सम्झनाको नविकरण भयो यहाँ।
एभरेस्ट भ्यूको बसाईपछि अब फेरि नाम्चे झर्नु थियो। त्यहाँ रात बिताएपछि हामी हेलिकप्टरबाट कालापत्थर जाने निधोमा पुगिसकेका थियौं। कैलाश हेलिकप्टर चार्टर गरेपछि थाहा पाएका थियौं - कालापत्थरमात्र होइन, हामीलाई हेलिकप्टर टुरमा एउटा सर्प्राइज भिजिट पनि थप हुनेछ।
कहाँ होला त्यो? खर्चालु भए पनि सगरमाथाको यसपालाको यात्रा अलिक फरक हुँदै थियो। त्यो फरक यात्रामा थप हुने नयाँ गन्तव्य कुन होला? त्यो हामीलाई पनि थाहा छैन। यति चाहिँ थाहा छ - हेलिकप्टरमा कालापत्थर जाँदा सकेसम्म कम तौल चाहिन्छ। त्यसका लागि हामीले तौल अनुसार दुईवटा समूहमा आफूलाई भाग लगाउनुपर्ने छ। हामी तौल गन्नतिर लाग्यौं।