PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नयाँ जीवित देवता गणेशमा पाछै गल्लीका रोदिन शाक्य, भोलि श्री भैरव परिवर्तन हुने

नयाँ जीवित देवता गणेशमा पाछै गल्लीका रोदिन शाक्य, भोलि श्री भैरव परिवर्तन हुने

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जीवित देव श्री गणेश परिवर्तन भएको छ। तलेजुका मूल पुजारी उद्दव कर्माचार्यले जीवित देव गणेशका रुपमा रोदिन शाक्यलाई प्रतिस्थापन गराएका हुन्।

आज नरदेवी पाछै गल्लीस्थित घरमा साढे ४ वर्षीय रोदिन शाक्यलाई जीवित देव गणेशका रुपमा सगुन दिइएको हो।  

दिनेश शाक्य र रोजी शाक्यका छोरा रोदिन छाउनीको मैत्री स्‍कुलमा युकेजीमा अध्ययनरत छन्। श्री गणेशका रुपमा प्रतिस्थापना भएपछि आजैबाट उनले सेतो रंगको 'भान्ता लँ' लगाउनु पर्ने हुन्छ।

बुवा दिनेश भन्छन्, 'छोरालाई जीवित देवता बन्दा हामी खुशी छु। यो परिवर्तन स्वीकार्न पहिला केही गाह्रो होला। तर विस्तारै सबै मिल्छ।'

यसअघि जीवित देवका रुपमा रहेका समवेग शाक्यको न्यूरोड स्थित घरमा क्षमा पूजा गरेर पाछै गल्लीमा नयाँ गणेशका लागि पूजा लगिएको थियो। समवेग शाक्यलाई अझै तीन दिन श्री गणेशकै रुपमा पूजा गरिनेछ। तीनदिन पछि उनी सामान्य जीवनमा फर्किन सक्नेछन्।

पढ्नुस : जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जीवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन

भोलि भने श्री भैरव परिवर्तन हुनेछ। क्वहितिका ३ वर्ष १० महिनाका कर्सनव शाक्यलाई भोलि श्री भैरवका रुपमा प्रतिस्थापना गरिनेछ। वर्तमान श्री भैरव रुजन शाक्यको घरबाट क्षमा पूजा गरेर क्वहिटीमा नयाँ भैरवको घरमा पूजा लगेपछि तीन दिनपछि ओमबहालस्थित मञ्जुश्री नक महाविहारको चोकमा बस्दै आए श्री भैरव रुजन सामान्य जीवनमा फर्किन पाउनेछन्।

कसरी छानिन्छन् गणेश र भैरव?

इन्द्रजात्रा लिच्छवी कालदेखि नै मनाइँदै आएको भए पनि कुमारी, गणेश र भैरवको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको बताइन्छ। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा चलाउने गर्ने गरेको कथन छ।

कुमारी छनोट गर्दा अपनाइने विधिहरु नै गणेश र भैरव छनोट गर्न अपनाइन्छ। तर, कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाएता पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्। अवकाश लिने समय नजिकिँदै गर्दा काठमाडौंका शाक्य समुदायबीच आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक परिवारलाई आवेदन गर्न लगाइन्छ। तर, गणेश भैरव बन्न केही कडा नियमहरु पनि छन्।

पहिलो, गणेश भैरव बन्ने बालकको बुबा आमा काठमाडौंकै शाक्य हुनुपर्छ। काठमाडौंको पनि १८ शाक्य महाविहारमध्येको परिवारबाट हुनुपर्छ। ती विहार बाहिरका शाक्य परिवारले यसमा सहभागी हुन पाउँदैनन्। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन।

दोस्रो, बालकमा कुनै रोग, चोट वा खोट हुन हुँदैन।

पढ्नुस : गणेश र भैरवका लागि कहिले बन्ला स्थायी आवास?

बालकहरुको प्राप्त चिना ज्योतिष/जोशी कहाँ पठाइन्छ। उनले बालकको चिना हेरी राज्यको हितमा रहेको नरहेको बुझी उपयुक्त उम्मेदवारको चिना पठाई सिफारिस गरिन्छ। पहिला एक जनामात्र सिफारिस भएमा ऊ स्वतः पदका लागि छनोट हुन्थ्यो। तर, दुई चार जना भए आपसी सल्लाहमा छनोट गर्ने गरिनेछ।

श्री गणेश र श्री भैरव दशैंको समयमा परिवर्तन गर्ने भएपनि यसपटक विशेष परिस्थितिका कारण चाँडै परिवर्तन गरिएको बताइएको छ। गतवर्षको दशैंमा नै नयाँ गणेश र भैरव परिवर्तन गरिने भनिएपनि त्यो सम्भव हुन सकेको थिएन। पछि चैतमा परिवर्तन गर्ने तयारी चलेपनि कोरोना संक्रमणका कारण रोकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell