PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

साहसिक खेलको कुरा: हिरामाथि बसेर फलाम खोज्न दौडिएपछि के हुन्छ?



मुकुन्द घिमिरे

साहसिक खेलको कुरा: हिरामाथि बसेर फलाम खोज्न दौडिएपछि के हुन्छ?

'सेन्टर' र 'मार्जिन'। नारीवाद, बिनिर्माणवाद लगायतका सिद्धान्तहरुमा प्रयोग गरिने यो टर्मलाई नेपाली खेलकुदमा प्रयोग गर्ने हो भने सेन्टरमा फुटबल, क्रिकेट, मार्सलआर्ट जस्ता खेलहरु आउनेछन् भने मार्जिनमा कमैमात्र नाम सुनिने माउन्टेन बाइक, ‍र्‍याफ्टिङ, रक क्लाइम्बिङ, क्यानोइङ जस्ता खेलहरु आउँछन्। यही हिसाबले राज्यको लगानी पनि सेन्टर र मार्जिनमा फरक पर्ने त भइहाल्यो।

अघिल्लो वर्ष १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न हुँदा ५१ स्वर्ण सहित नेपालले २०७ पदक हात पार्‍यो। त्यसमा पदक जित्ने खेलहरु 'सेन्टर' रहेका जति थिए त्यति नै 'मार्जिन'मा परेका खेलहरु पनि थिए।

यो प्रसंग हो 'मार्जिन'मा रहेका खेलहरुको। 'मार्जिन'मा खेल अर्थात खेलहरुको हाइरार्की मा पछाडी देखिने/ सुनिने खेलहरु। जुन खेल लगानीका हिसाबले, प्रचारप्रसारका हिसाबले या दृष्टीकोणका हिसाबले पछाडी देखिन्छन् या सुनिन्छन्।

'अन्यायमा परेका खेलहरु नै पदकमा माथि आइरहेका छन्,' पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई भन्छन्,' राज्य साझा हो तर यी खेलहरु अन्यायमा पर्दै आएका छन्। यिनै साहसिक खेलहरुले एसियन गेम्सलगायत माथिल्लो तहमा पदक ल्याएर देखाएका छन्।'

राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यसमेत रहेका भट्टराई साहसिक खेललाई पर्यटन, संस्कृती र अर्थतन्त्रसँग समेत जोडेर हेर्छन्। उनी नेपाली पर्यटन र खेलकुदमा मुख्य आधार साहसिक खेलकुद बन्नुपर्ने दाबी गर्दै राज्यको आवश्यक लगानी यस क्षेत्रमा नपुगेको बताउँछन्। भन्छन: राज्य हिरामाथि बसेर फलाम खोज्न दौडिएपछि के हुन्छ?

+++

साहसिक खेलहरुको चर्चा गरिरहँदा यो केहो र नेपालको सन्दर्भमा यो किन आवश्यक छ भनेर बुझ्न आवश्यक छ। यसको सम्भावना बारे त नेपालमा हिमाली र पहाडी क्षेत्रहरु धेरै भएकाले चर्चा गरिरहन आवश्यकता नै हुँदैन। समग्रमा साहसिक तथा पर्यटकीय खेलहरु भन्नाले उच्च हिमाली, हिमाली र पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने खेल हो जसमा राष्ट्रिय पदक, प्रतिष्ठा र पहुँचको प्रचुर सम्भावना रहन्छ।

यसमा मोटर, मोटरसाइकल, र्‍याफ्टिङ, कायाकिङ, साइकिलिङ, रोड रेसिङ, पर्वतारोहण, चट्टान आरोहण, बन्जी जम्प, ट्रायथोलन, दुवाथोलन, प्याराग्लाइडिङ, ह्याण्डग्लाइडिङलगायतका खेलहरु यसमा पर्न सक्छन्। त्यस्तै घोडा दौड, आइस स्की, वाटर स्की, स्काइ डाइभिङ, क्रस कन्ट्री, अल्ट्रा म्याराथन गल्फ लगायतका वातावरण मैत्री खेलहरु पनि यसमा समावेश हुन सक्छन्। यसमा परम्परागत खेलहरु समेत पर्ने गर्छन्।

नेपालका पोखरा-जोमसोम-लोमाथाङ, मर्याङ्दी-गोरखा-मनाङ, काठमाडौं-शिवपुरी-लाङटाङ, सगरमाथा क्षेत्र, धनगडी-खप्तडलगायतका माउन्टेन ओलम्पिक गराउन सक्ने सम्भावना भएका क्षेत्रहरु पनि धेरै रहेको अध्यक्ष भट्टराई बताउँछन्।

यद्यपि यी साहसिक खेल र खेलका खेलाडी अझै पनि तबसम्म चर्चामा आउँदैनन् जबसम्म उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान बनाउन सकेका हुँदैनन्। नेपाली खेलकुदको 'सेन्टर' मा नपरेका केही खेलाडीहरु मार्जिनबाटै उदाएका छन् पनि।

यसको एउटा उदाहरण हो १८ औं एसियाडमा प्याराग्लाइडिङले जितेको रजत पदक।

एसियाडमा नेपाल पदकबिहीन भएर फर्कन लाग्दा प्याराग्लाइडिङबाट पदक आएको थियो र पदकतालिकामा नेपालको शाख जोगिएको थियो। त्यस्तै नेपाली अल्ट्रा धाविका मीरा राईको चर्चा नेपालमा तब चुलियो जब उन सन् २०१७ मा नेशनल जिओग्राफीको एड्भेन्चर अफ दी एयर बनेकी थिइन्। त्यतिबेलासम्म अरु नेपाली खेलाडीहरुले पनि राम्रो गर्दै आएका थिए त्यो खेलमा तर उनीहरुले न पाउनुपर्ने जति नेपालमा न चर्चा पाएका थिए न लगानी नै।

‘जसरी क्यानडाका खेलाडीहरु तेर्सो बाटोमा बढी सक्षम हुन्छन्, त्यसरी नै हामी पनि हाइ अल्टिट्युडमा सक्षम छौं,’ राईले केही समयअघि पहिलोपोस्टसँगको कुराकानीमा भनेकी थिइन्,'हामी अनुकुल प्लेटफर्म छ, सरकारले चाहने हो भने चाँडै राम्रो हुन सक्छ,’

त्यस्तै भोगाइ छ स्काइ रनर भीम गुरुङको पनि।

'नेपालमा त यो खेललाई नै महत्व दिइँदैन। राम्रो खेलाडीलाई पनि उचित व्यवाहार गर्दैनन्। त्यो भएर मलाई दु:ख लाग्छ।' उनले भने। गुरुङलाई स्काइरनिङका लागि युरोपमा मुख्य प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ तर नेपालको सन्दर्भ अझै त्यस्तो बन्न सकेको छैन।

पर्वतीय खेलकुदहरुको प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार र लगानीमा चुकेको स्वीकार्छन राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसमेत रहेका गोविन्द भट्टराई।

यद्यपि जति अन्याय भए पनि साहसिक खेलकुदले उपलब्धि भने दिइरहेको उनको दाबी छ।

'सबैले गल्फ खेल्दैनन्। सागमा पदक त आयो। तर त्यहाँ सहायक कोच पनि छैनन्,' उनले भने, 'स्पेसिफाइड खेलहरुको एउटा सीमा हुन्छ। लोकप्रिय त हुन सक्छ तर सबै खेल सबैजनाले खेल्ने किसिमको नहुन सक्छ।'

त्यस्तै उनी नेपाली खेलकुदबाट नतिजा चाहने हो भने टीम गेम भन्दा इन्डिभज्वल गेममा जोड दिनुपर्ने बताउँछन्। जसका लागि सबैभन्दा उपयुक्त साहसिक खेलहरु हुने उनको तर्क छ।

अनि पर्यटनको कुरा

नेपालमा पर्यटनका लागि साहसिक खेलको बहुआयामिक फाइदा हुने अध्यक्ष भट्टराईको तर्क छ। साहसिक खेलकुदबाट पर्यटन, खेलकुद, संस्कृती र वातावरणीय स्वच्छताका लागि सहयोग पुग्ने उनको तर्क छ।

हिजोको सन्दर्भमा खेलकुद वीरता, शारीरिक तन्दुरुस्तीलगायतका रुपमा हेरिए पनि अहिले यो व्यवसायीकरण, रोजगारीको श्रोत, पर्यटन, लगानी तथा देशको सान बढाउने माध्यमको रुपमा देखिन्छ। अब भविष्यमा यो व्यापारीकरण, विकासको मानक तथा वैदेशिक नीतिलाई प्रभावपार्ने तहसम्म पुग्ने उनी बताउँछन्।

उनी यसलाई पर्यटनको विविधिकरणमा सहयोग गर्ने दाबी गर्दै यसले खेल, एडभेन्चर, संस्कृति, प्रकृति, मास टूरिजम लगायतका क्षेत्रमा कोषेढुंगा हुने उनी बताउँछन्।

कहाँ चुक्यौं हामी?

अध्यक्ष भट्टराई साहसिक खेलकुदबारेको बुझाइमा नै सरकारी निकाय चुकेको बताउँछन्। जसका कारण नीति र कानुन बनाउनसमेत हामी असफल भएको उनको दाबी छ। त्यसको प्रत्यक्ष असर संरचना, मार्केटिङ र व्यवस्थापनमा परेको देखिन्छ।

त्यसबाहेक पनि हाम्रा कमजोरीको फेरिहस्त कम छैनन्। अव्यवस्थित एयरपोर्टदेखि अध्ययन बिनाको व्यवसाय, नकारात्मक प्रतिस्पर्धा, अव्यवाहारिक र अपुग कानुन, पुरातन कर्मचारी व्यवस्था, निर्णय क्षमताको अभाव जस्ता कुराहरुमा कमजोरी रहेको उनी तर्क गर्छन्।

यद्यपि नेपालमा वेवास्तामा परेर पनि साहसिक पर्यटनको सम्भावना खुल्दै गएको छ। यसलाई अझै व्यवस्थित गरेर अघि बढाउन सके अर्थतन्त्रमा धेरै सकारात्मक प्रभाव पार्ने भट्टराईको दाबी छ।

यद्यपि बहुआयामिक पक्षमा सम्भावना बोकेको साहसिक खेलकुदलाई नीति निर्माताहरुले ‘मार्जिन’ बाट ‘सेन्टर’ मा राखेर हेर्न भने आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell