PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पत्रकारिताको धर्म र पीत पत्रकारिताको पाठ पढाएका प्रधानमन्त्री ओली पीत पत्रकारिताकै कारण यसरी चिप्लिए



पत्रकारिताको धर्म र पीत पत्रकारिताको पाठ पढाएका प्रधानमन्त्री ओली पीत पत्रकारिताकै कारण यसरी चिप्लिए

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रेस संगठनको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै पत्रकारहरुलाई पत्रकारिताको धर्म र पाठ पढाए। अरु दिन प्रतिनिधिसभा विघटनको पक्षमा वकालत गर्दै विपक्षी समूहका नेतामाथि आक्षेप लगाउने प्रधानमन्त्री ओलीले कार्यक्रममा १५/२० मिनेट बोल्छु भन्दै ४६ मिनेट बोले। 'मैले अघि २० मिनेट भन्या थिएँ। धेरै मिनेट गएछ। छोटो बोल्न सिकौँला भनेको त्यो पनि भएन,' सम्बोधन सक्दै उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको कुरा भने सम्बोधन अवधिभर गरेनन्। उनले सम्बोधनका क्रममा सरकारको कदमको बचाउन गरेनन्। बढी समय पीत पत्रकारिताको पाठ पढाए।  कतै आध्यात्म त कतै 'इन्ट्युसन् (अन्तर्ज्ञान)' का कुरा पढाए।

एक ठाउँमा उनले सांसद किनबेचको कुरा उठाए। त्यहाँ प्रतिनिधिसभा विघटनको शब्द भने उच्चारण गरेनन्।

उनले भनेका थिए-

'हाम्रो देश आज खास लडाईँको स्थितिमा छ। संसद्लाई फेरि सांसद किनबेचको फेरि दलहरुका बीचमा गिभ एण्ड टेकको। फेरि दलहरुका बीचमा समीकरणको लेनादेनाको पहिलेजस्तै एउटा सिलसिला फेरि सुरु गर्न खोजियो। मैले प्रयास गरेको थिएँ, लेफ्ट पार्टीहरु जोडेर एउटा मजबुत लेफ्ट पार्टी जसले देशको सार्वभौमसत्ता रक्षा गरोस्। भौगोलिक अखण्डताको रक्षा गरोस्। स्वाधीनताको रक्षा गरोस्। इतिहासप्रति गर्व गरोस्। स्वाभिमान माथि उठाओस्।  र देशको विकासमा समर्पित होस्।  देशलाई एउटा आधुनिक सभ्य अरुले पनि आहा भन्ने खालको  देश बनाउने कुरामा लागोस्। त्यस्तो पार्टीको परिकल्पना गरेको थिएँ।  तर, पार्टी तपाईँले देख्नुभयो- एक दिन एउटा पनि राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको हुति नभएको मन नभएको त्यस्तो पार्टी पो भयो। लिडरसिपको यस्तो पंक्ति तयार गर्न खोजेको थिएँ मैले जसले देशलाई राम्ररी हाँक्न सकोस् तर, देश हाँक्ने होइन…….

उनले प्रचण्डको ब्यक्तिवाद र परिवारवादको कुरा उठाए।

सम्बन्धित समाचार:

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पाठ पत्रकारलाई पढाए सम्बोधनको।

'सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,' उनले अगाडि भने, 'हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर 'यु' वालामा गयौँ, गर्वका साथ।' 

त्यतिमै उनी रोकिएनन्- 'हामी न्युक्लियस फेम्ली जस्तो चराको गुँड होइन। एउटा भाले एउटा एउटा पोथी एउटा अण्डा। अण्डाबाट चल्ला निस्किन्छ। यसो प्वाँख पलाउँछ, भुर्र उड्छ। बा-आमा एक्लै। बा आमालाई पनि तिनले चिन्दैनन्। हामी त्यस्तो होइन। पुरानो इतिहास र सभ्यता भएका हौँ। हामी हाम्रो परिवार हाम्रा बा हाम्री आमा हजुरबा हजुरआमाहरुलाई आधार गर्छौँ। खुट्टामा शिर राखेर ढोग्ने चलन छ। आदार सम्मानका साथ हजुरआमा बा आमालाई ढोगेर विरामी भयो, संक्रामक रोगले सताएर मर्‍यो भन्ने सुन्या छैन। अहिले हेर्नुस् - हाइ ड्याडी हाइ मम। ओ हेलो हाउ आर यु मम।' 

उनले समाचारमा 'तिमी' सम्बोधनप्रति चिन्ता गरे।

'हिजो राजतन्त्र हुँदा, दरबार हुँदा राजाका श्रीमती हुँदा, राजाका छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ। हुकुम बक्सियोस् भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं। सवारी भयो भन्थ्यौं,' आज हामीलाई हेर्नुभयो भन्न पनि गाह्रो छ। किनकी हामीले हेरे अहिले, हिँड्नुभयो, खानुभयो भन्न गाह्रो छ। किनकी हामी उनी हिँडे भन्छौँ। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन्?'

सम्बन्धित समाचार: 

राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ती, सरकारको विरोधमा लेख्ने पत्रकार नर्क जाने दावी

अनी ओलीले जी न्यूजमा सुधीर चौधरीसँगको प्रसंग कोट्याए। त्यहाँ भने प्रधानमन्त्री अलिकती चिप्लिए।

'एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ। आलोचना गर्ने ठाउँ केही भेटिएनछ। अनि त्यो पत्रकारले इन्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको हाम्रो मान्छेले पहिले गएर नाप्या थ्यो। हामीले त उसको नाममा भने हुन्थ्यो के बोलेको थियो। यहाँ राष्ट्रवादका नाममा यत्रो बबण्डर मच्चियो। उसले सगरमाथा खान्छु भन्या छ र? यति सारो बहकिने पनि पर्ने आवश्यकता वाहियातमा बहकिएर.. राष्ट्रवाद ड्रामा हो? राष्ट्रको हितमा उभिने कुरा हो? केही भेटिएन् भने एउटा नेताले भाषण गरे यो अन्तर्वार्ता भाषण ठोके यो नौटंकी नै हो। अनी कसरी नौटंकी भयो बताइदिनुस् न त?,' उनले भनेका थिए।

सुधीर चौधरीले भारत फर्केर सगरमाथाको बारेमा टिप्पणी गरेका थिएनन्। उनी सगरमाथाको आधार शिविरमा पुगेर सगरमाथाको नाम फेर्ने कुरा गरेका थिए। भलै त्यो रेकर्डेड कार्यक्रम प्रसराण उनी दिल्ली पुगेपछि भयो। अर्को कुरा चौधरी नेपाल चीन सम्बन्धको संवेदनशील क्षेत्रमा विना अनुमति पुगेका थिए। विना अनुमति छायांकन गरेका थिए। त्यसलाई प्रधानमन्त्रीले उच्चारण गरेनन्।

सम्बन्धित समाचारहरु:

चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका

जी न्यूजको सगरमाथा प्रवेश प्रकरण : कसलाई कारबाही गर्ने अन्योलमा निकुञ्ज विभाग, दृश्यमा सिम्रिक एयर

सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ

पत्रकारिताको धर्म र पीत पत्रकारिताको धर्म सिकाए तर आफैँ चिप्लिए

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पत्रकारलाई पत्रकारिताको धर्म सिकाए।

'हामी बिकाउ बस्तु होइन। काम गरेको भत्ता लिन्छौँ। तर हामी आत्मा बेच्दैनौँ। कामको ज्याला लिन्छौँ। तर आत्मा बेच्दैनौँ,' उनले अगाडि पढाए, 'मानव जाति सदैव मानव जातिको अवसरका निम्ति तपाईँहरुले लेख्नु बोल्नुपर्छ। मान्छेले असमानता चाहन्छ। समानता चाहन्छ। मानव जातिका बीचमा असमानता होइन समानताको पक्षमा वकालत गर्नुपर्छ।'  

उनले उपस्थित पत्रकारलाई आग्रह गरे- 'तपाईँहरु यस पार्टीसँग सम्बद्ध आवद्ध निकट जे-जे हुनुहुन्छ यो पार्टीसँग निकट भएको हुनाले म तपाईँहरुलाई आग्रह गर्न चाहन्छु पत्रकार हुँ भन्ने वित्तिकै तपाईँहरुलाई हेर्दैखेरि मान्छेले फलानो पार्टीको हो भनेर आफैँ सोधोस्। चिनोस् तपाईँहरुलाई। तपाईँहरुको आनीबानी बर व्यवहार त्यसरी चिनोस्। तपाईँहरुले सम्प्रेषण गरेको समाचारमा सत्यता छ के भनेर कसैले  आशंका गर्ने स्थिति नहोस्। तपाईँहरु समाचार स्वार्थका लागि उल्टापल्टा समाचार नपठाउनुस्।  आफ्नै स्वार्थका लागि पनि असत्य समाचार सम्प्रेषण नगर्नुस्।'

उनले रिस र आवेगमा नचाहिने कुरा नलेख्न सुझाव दिए। 'रिस उठ्यो भने पनि नचाहिने कुराहरु नलेख्नुस्।  कहिले कोही कोही मान्छे मन पर्दैन्। यद्यपि मन पराउने नपराउने रिस उठ्ने आदि कुराहरु छाड्दिन पर्छ,' उनले अगाडि भनेका थिए, 'तर पनि तपाईँहरुलाई रिस उठिहाल्यो भने पनि रिस उठ्यो भन्दैमा झुटा कुरा नहुने कुरा कसैको बारेमा लेख्नु वाञ्छनीय हुँदैन्।'

उनले यति भन्दाभन्दै त्यही रिस र आवेशमा लेखिएको समाचारका आधारमा आफ्नै पूर्व सहकर्मीलाई तल्लोस्तरको गाली गरे। भीम रावललाई कटाक्ष गरे पीत पत्रकारिताले छापिएको समाचारका आधारमा। जसलाई रावलले पुष्टि गर्न चुनौती दिएका थिए। समाचार सम्प्रेषण गर्ने मिडियाले समेत माफी मागिसकेको छ। तर, ओलीसम्म अझै सत्य पुगिसकेको रहेनछ।  

'एउटा भर्खर भर्खर डा. लेखेकाले भाषण गरे। केपी ओलीले महिलाको किड्नी राखेको त्यस कारण दिमाग खुस्कियो भने। महिलामाथि कत्रो अपमान? लेख्या छन् डा. केमा लेख्या हुन थाहा छैन। के विषयको डा. हो थाहा छैन। डा. लेख्या छ तर, केपी ओलीको दिमागले काम गर्दैन रे अहिले किन भने किड्नी महिलाको राख्या छ रे?' उनले प्रश्नै-प्रश्नमा नेता रावलप्रति कटाक्ष गरे, 'भनेपछि महिलाको किड्नीले काम गर्दो रहेनछ।  महिलाहरुको त दिमागले झन् मैले एउटा किड्नी लिएर राख्दा त काम गरेन भने दुईटै किड्नी भएका महिलाहरुले त झन् काम गर्ने कुरै भएन। दिमागले यो खालको वुद्धि चाहिँ कहाँ छ भन्दाखेरि डा. लेखेर के गर्ने? कुन डा. हो? के को डा. हो? तपाईँहरुको बुद्धि त्यस्तो कोल्टे नपरोस्।तपाईँहरुको वुद्धि ठिक बाटोमा जाओस्।'

पीत पत्रकारिताबाट सावधान् हुन भने-

'अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। सत्य सुन्दिन्। यो महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिका । केही सञ्चार माध्यम। राम्रो कुरा देख्नपर्छ कि बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर, सुन्दिनँ, हेर्दिनँ, बोल्दिनँ भन्ने केही छन्।  अनि तिनले झुटो छाप्छन्। गलत छाप्छन्। जनतालाई दिग्भ्रमित पार्छन्। यो काम राष्ट्रको हितको पक्षमा छँदै छैन। कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरो के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ। अथवा जब मान्छे आत्मा बेच्छ।  त्यसपछि त्यो नर्क पर्छ। नर्कमा गइसकेपछि फर्किन सक्दैन। जिउँदै नर्क जान्छ। के गर्ने अब त्यसलाई निकाल्नै सकिँदैन। ऊ त्यहाँबाट उत्रिनै  सक्दैन। कुनै घाटमा कुनै तीर्थमा नुहाउनुस् जे सुकै गर्नुस्। लगेर जहासुकै जे सुकै गर्नुस्। पूजाअर्चना गर्नुस्। त्यसलाई योग गराउनुस् व्यायाम गराउनुस्। ध्यान गराउनुस्। तप गराउनस् तर आत्मा बेचिसकेपछि... तपाईँहरुले एउटा प्याट्रोटिज्म भन्ने इंग्लिस कविता हेर्नुभएको होला।  त्यस्ता मान्छेको मृत्यु दुईपल्ट हुन्छ। एउटा मर्दा्खेरि त भइहाल्छ। मर्नुभन्दा अगाडि बाँचेकै बेला हुन्छ। मैले अघि नर्क जान्छ भनेको त्यही हो। नर्क गइसकेपछि फर्काउनै सकिँदैन्। उ त्यही संसारमा रमाउँछ। त्यही उसले बहादुरी ठान्छ। फलानालाई आज मैले ठोक्दिएँ। फलनालाई बिगार्दिएँ। दिएँ आज मैले दनक। गजबसँग दिएँ। दंग पर्छन्। तर, फेरि पनि म भन्छु सत्यमेव जयते। त्यस्ता खालका पीत पत्रकारिता आफैँ पर लाग्छन्। किन भने पीत पत्रकारिता नगर्ने पीत पत्रकारितासँग जुध्ने साँचो पत्रकारिता  गर्ने पत्रकारिताको धर्म  बचाउने पत्रकारिताको धर्म फलाउने फूलाउने  तपाईँहरु जस्तो समूह पनि छ। यो समूह विशाल छ। जो देशको पक्षमा जनताको पक्षमा लड्छ। लोकतन्त्रको पक्षमा लड्छ।  सत्यको पक्षमा लड्छ। तपाईँहरुको कलम त्यसैगरि चलोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell