PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?



सहयोग रञ्जित

गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

माघ ४ गते। काठमाडौँ महानगरपालिका ४ मा मनमोहन पार्क शिलान्यासको कार्यक्रम थियो। शिलान्यासमा सहभागी हुन पुगेका थिए काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य।

शाक्यले कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापालाई वडास्तरमा चुनाव लडेर देखाउन चुनौती दिए। थापा उक्त क्षेत्रबाट निर्वाचित सदस्य समेत हुन्।

शाक्यको आरोप थियो – गगन चर्चामा आउन जे पनि बोलिरहन्छन्। गगनले राष्ट्रपतिलाई चुनाव लड्न गरेको आह्वानप्रति लक्षित गर्दै शाक्यले ठूलो पदमा बसेकालाई मात्रै गाली गरेर चर्चा कमाउन थापा लागेको भन्दै वडामा लड्न र वडा सदस्य पद जितेर देखाउन भनेका थिए।

पछिल्लो केही सातायता महानगर प्रमुख शाक्यले आफू उपस्थिति हुने अधिकांश कार्यक्रममा गगन थापाको आलोचना गरिरहेका छन्। माघ ४ मा भने उनले गगनलाई ठाडै चुनौती दिएका थिए।

कारण थियो गगन थापाले पुस २९ मा महानगर प्रमुख शाक्यलाई पठाएको पत्र।

उक्त पत्रमा गगन थापाले शाक्यलाई कमलपोखरी पुनर्निर्माणको काम रोक्न आग्रह गरेका थिए। सम्पदा अभियन्ता र स्थानीयले कमलपोखरी पुनर्निर्माणको क्रममा मौलिकता मास्ने काम भएको र कङ्क्रिट प्रयोग गरिएको भन्दै विरोध जनाएपछि थापाले शाक्यलाई पत्र पठाएका थिए।

त्यसपछि महानगर प्रमुख शाक्य गगन थापालाई लिएर ‘फायर’ छन्।

वास्तवमा कमलपोखरी पुनर्निर्माणमा महानगरले हात हाल्नुअघि गगन थापाकै अग्रसरतामा कमलपोखरी पुनर्निर्माणको काम भएको थियो। एक स्थानीयका अनुसार थापाले 'सांसद् विकास कोष'लगायत अन्य स्रोतबाट करिब ४ करोड रुपैयाँ कमलपोखरी निर्माणको क्रममा खर्च गरिसकेका छन्। गगन थापाले पुनर्निर्माण गर्दा पनि पोखरी वरिपरि कङ्क्रिटको संरचना बनाइएको थियो। त्यसपछि महानगरले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा कमलपोखरीको स्तरोन्नति गर्ने निधो गर्‍यो।

कमलपोखरीलाई थप मौलिक र सम्पदामैत्री पोखरी बनाउने भनेर गुरुयोजना बनायो। जसबारेमा शाक्यले गगन थापा लगायत त्यहाँका अन्य जनप्रतिनिधि र स्थानीयलाई जानकारी समेत दिएका थिए। शाक्यका अनुसार उक्त गुरुयोजनामा थापाले पनि सहमति जनाएका थिए।

तर, महानगरले काम सुरु गरेपछि चौतर्फी आलोचना भयो। पोखरीमा सुकाएर कङ्क्रिटको फूल फुलाउन मेयर शाक्य उदृत रहेको आरोप अभियन्ताहरूले लगाए। जसकारण गगन थापा ‘ब्याक’ भए र पोखरी पुनर्निर्माणको काम रोक्न शाक्यलाई पत्र लेखे।

अभियन्ताहरूले पोखरी पुनर्निर्माणको विरोध गरिरहँदा गगन माघ ७ गते कमलपोखरी पुगे। त्यहाँ पुगेर उनले महानगरले कमलपोखरीको ऐतिहासिक पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको काम सबै पक्षसँग छलफल गर्नुपर्ने बताए। त्यो नभएसम्म कमलपोखरी पुनर्निर्माणको काम स्थगन गर्नुपर्ने उनले बताएका थिए।

यता महानगर प्रमुख शाक्य भने अरूको कुरा सुनेर गगन थापाले पहिला गरेको सहमति भुलेको बताइरहेका छन्। त्यसैले शाक्यले केही दिनयता गगन थापालाई काउन्टर दिइरहेका छन्।

माघ १६ गते शाक्यले थापलाई पत्र पठाए। कमलपोखरीको विकास तथा सुधारका लागि थापाले गरेका कार्यको विवरण उपलब्ध गराउन भन्दै।

शाक्यले पत्रमा २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइनबारे थापासँग पनि पटक-पटक छलफल भएको र त्यही डिजाइन नै कार्यान्वयनमा आएको उल्लेख गरेका छन्। पोखरीको विकास तथा सुधारमा थापाले विगतमा धेरै कार्यहरू गरेको भन्दै शाक्यले कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेका थिए।

माघ १७ गते लखतीर्थ मा नेवा पत्रकार राष्ट्रिय दबु येँ (काठमाडौँ) जिल्लाको कार्यालय उद्घाटन गर्दै शाक्यले पत्रको प्रसंग झिकेका थिए

‘मैले गगन थापालाई पत्र नै पठाएको छु। उनले मलाई चिठी पठाएर काम रोक्न भने। उनी निर्वाचित भए म नि त निर्वाचित हुँ। स्थानीय विकासको काम गर्ने काम स्थानीय तहको हो। उनीहरू त विधायक हो। आफूले गर्नुपर्ने काम नगर्ने अनि हामीले गरिरहेको काममा अनावश्यक हस्तक्षेप गरेर काम रोक्नु रे।’ शाक्यले भने थिए।

थापाले नै कमलपोखरीमा ढल नै ढल भयो भनेर बनाइदिन अनुरोध गरेको र एक वर्षसम्म छलफल गरेर निर्माण कार्य सुरु गरेको उनको दाबी थियो।

‘अहिले आएर चाहिँ नबनाऊ रे? उनले प्रेसर दिएर काम रोकिँदैन। म काम रोक्दिनँ’ मेयर शाक्यले भने।

सम्पदा अभियनको नाममा केही अभियन्ता भन्नेहरुले कमलपोखरीबारे भ्रम फैलाएको उनको आरोप थियो। थापा त्यही अभियन्ताहरूको लहलहैमा लागेको उनको आरोपको आशय थियो। थापाले नै कमलपोखरीमा आफूले करोडौँ खर्च गरेको भनिरहेको भन्दै शाक्यले आफूले हिसाब मागेको बताएका थिए।

‘के खर्च गर्‍यो। करोडको हिसाब देखाऊ त? त्यहाँ के बनाएको छ? म त केही देख्दिनँ। त्यसैले मैल हिसाब-किताब मागेको। अब त गगन थापा र नेपाली कांग्रेससँग यसै विषयमा मेरो विवाद हुन्छ। त्यहाँ भर्‍याङ बनाएको थियो भने सिमेन्ट कसले प्रयोग गर्‍यो? ’ शाक्यले भने।

गगन थापाको समूहले कमलपोखरीलाई छठपोखरी बनाउन आग्रह गरेको समेत शाक्यले दाबी गरेका थिए।

‘मैले नै रोकेँ। त्यहाँ सम्पदामैत्री पोखरी बनाउने भन्यौँ। अहिले छठपोखरी बनाउन दिएन भनेर अहिले कमलपोखरी बनाउन दिइन भने आउने हो भने हामीले केही काम गर्न सक्दैनौँ’ शाक्यले भने।

शाक्यले कमलपोखरीलाई मौलिक शैलीमा बनाउन आफूहरूले लाग्दा थापाले अवरोध गरेपछि अहिले आक्रोशित देखिएको उनी निकट व्यक्तिहरू बताउँछन्।

‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ। कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ। काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ। तर पहिला हुन्छ भन्ने अनि अहिले आएर मेयरले बिगार्‍यो भनिरहेका छन्’ शाक्य भन्छन्।

शाक्यले आफूलाई केही व्यक्तिहरूले कमलपोखरी मासेको आरोप लगाएको भन्दै मासेको स्थान देखाउन चुनौती समेत दिएका छन्। प्रमुख शाक्यले आफूहरूले कमलपोखरीको महत्त्व जोगाएर पुनर्निर्माण गर्ने भन्दै पोखरीको आसपासका भौतिक संरचना हटाइने हुँदा पोखरीको क्षेत्रफल अझ बढेको बताएका थिए।

साथै उनले कमलपोखरीको सबै भागमा नभई आवश्यक क्षेत्रमा मात्रै कङ्क्रिटको प्रयोग गर्न लागिएको स्पष्टीकरण समेत दिइसकेका छन्। तर पूरै पोखरी नै कङ्क्रिटको बनाउन लागेको भन्दै फैलाइएको भ्रमप्रति थापालगायत अन्य स्थानीय परेको उनको दाबी थियो।

गुरुयोजना अन्तर्गत पोखरीलाई फराकिलो पार्ने भन्दै माघ १८ गते महानगरले कमलपोखरी क्षेत्रमा रहेको कङ्क्रिटका भौतिक संरचना भत्कायो। महानगरले त्यहाँ रहेको स्पोर्ट्स क्लब, सत्संग भवन र प्रहरी कार्यालयमा एकसाथ डोजर चलायो।

स्थानीय र क्लब सदस्यहरूले भने मेयर शाक्यले राजनीतिक प्रतिशोध साधेको आरोप लगाएका छन्। बिना कुनै सूचना महानगरले भवन भत्काएको क्लबले जनाएको छ।

यता महानगरले भने कङ्क्रिटको संरचना बनाएको भन्दै विरोध गर्नेहरू ने कङ्क्रिटको संरचना भत्काएर पोखरीलाई फराकिलो बनाउन लाग्दा विरोधमा उत्रेकोमा आश्चर्य लागेको प्रतिक्रिया दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell