PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

भागरथी हत्या प्रकरण : पाँचौं दिनसम्म के-के खुल्यो प्रहरी अनुसन्धानमा?



भागरथी हत्या प्रकरण : पाँचौं दिनसम्म के-के खुल्यो प्रहरी अनुसन्धानमा?

काठमाडौं : १७ वर्षीया भागरथी भट्टको शव फेला परेको पाँच दिन बितिसकेको छ। प्रहरीले घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गर्न भने सकेको छैन। तर घटनाको अनुसन्धानको दायर 'न्यारो डाउन' हुँदै गएको प्रहरीले दाबी गरेको छ। प्रहरीले अनुसन्धान थालेको पाँच दिनमा केही अनुसन्धानबाट केही तथ्य भने प्रमाणित भएका छन्। जसले प्रहरीको अनुसन्धानलाई साँघुरो बनाएको छ।

कक्षा १२ मा अध्यानरत भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा शव फेला परेको थियो। शवको प्रकृतिले घटना बलात्कारपछि हत्या भएको देखाएको थियो। बलात्कार नै भएको हो वा होइन भन्ने प्रहरीले औपचारिक रुपमा भन्ने अवस्था थिएन। तर शनिवार जिल्ला अस्पताल  बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टले बलात्कार भएको देखिएको छ।

'रिपोर्टले बलत्कार भएको देखाएको छ। घाँटी थिचेर हत्या गरेको देखियो। आशा गरौं चाडै नै अपराधी समात्न सफल हुन्छौं,' सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले भने। यसबाट हत्याको कारण बलत्कार नै हुनसक्ने अनुमान प्रहरीले गरिरहेको छ। धेरै जसो बलत्कारपछि हत्या केसमा चिनेजानेका मानिसबाट नै हुने गरेको अघिल्ला घटना क्रमले देखाएका छन्। त्यसै पनि प्रहरीले भागरथी घटनामा पनि केही नजिकका मानिसलाई पनि शंकाको घेरमा राखेर अनुसन्धान गरिरहेको छ। तर अहिले नै घटनामा संलग्न चिनेजानेका वा अरु नै भन्ने खुलिसकेको छैन।

बुधवार दिउँसो २ बजेतिर उनी आफू पढ्ने विद्यालयबाट घर जान हिंडेकी थिइन्। प्रहरीको अनुसन्धान र पोष्टमार्टम रिपोर्टले भागरथीको हत्या बुधवार नै भएकोसमेत खुलेको छ। बुधवार दिउँसो २ देखि ३ बजेको समयमा घटना भएको डिआइजी सुवेदीले जानकारी दिए। 'त्यही दिन लगभग २ देखि ३ बजेको समयमा नै घटना भएको देखिएको छ,' डिआइजी सुवेदीले भने।

घटनाको समय निश्चित भएपछि प्रहरीले त्यो समयमा त्यही बाटो भएर हिंड्ने मानिसलाई समेत ट्रयाक गरेर अनुसन्धान गर्न मद्दत मिलेको छ। त्यस्तै भगरथीको मोबाइलसमेत घटनास्थलमा फेला पारेको छ। घटनाको अघिपछि उनका मोबाइलमा आएका कल, म्यासेजलगायत अन्य कुराहरु पनि अनुसन्धानमा 'क्लु' बन्न सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। २ देखि ३ बजेसम्म घटनास्थल वरपर मोबाइलको बिटिएस देखिएका शंकास्पद नम्बरहरुलाई पनि केलाइरहेको छ।

भागरथीको बलत्कारपछि हत्या भएको खुले पनि बलात्कार सामुहिक हो वा होइन भने खुल्न सकेको छैन। प्रहरीले यसको थप अनुसन्धानको लागि भेजाइनल स्वाब परीक्षण गर्न काठमाडौं पठाएको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले स्वाबको परीक्षण गर्ने छ।  त्यसपछि मात्र बलात्कार सामुहिक हो वा होइन खुल्ने छ।

बाटोभन्दा करिब ७० मिटर तल शव फेला परेको थियो। शव भएको स्थानमा केही घिसारेको जस्तो र केही पर वनमाराको झाडी माडिएको जस्तो देखिएको थियो। तर बलात्कार शव भेटिएको स्थानमा भयो वा अन्ततिर भएर त्यहाँ ल्याएर फ्याँकिएको हो भन्ने कुरा पनि अझै अन्योलमा नै छ। तर त्यही वरपर बालत्कार भएको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीको अनुसन्धानमा प्राइमरी घटनास्थलले धेरै महत्व राख्ने प्रहरी अधिकृतहरु बताउँछन्।

प्रहरीले भागरथी घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ। प्रदेश प्रहरी कार्यालयबाट एससएपी जनकराज पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा नै छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी पनि पुगेर अनुसन्धान गरिरहेका छन्। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी आफैंसमेत घटनास्थल पुगेर दुई दिनदेखि अनुसन्धान गरिरहेका छन्।

सम्बन्धित समाचार

भागरथीको हत्या : घटनास्थलले संकेत गर्छ बलात्कारपछि मारिइन् उनी, प्रहरीमाथि चर्को दवाव

बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

बैतडीको बलात्कार र हत्याले उठाएको प्रश्न : कम उमेरका किन पर्छन् अपराधीको 'टार्गेट'मा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell