PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

टुँडिखेलमा टर्‍यो सम्भावित दुर्घटना, संयमित रहे आन्दोलनकारी



सहयोग रञ्जित

टुँडिखेलमा टर्‍यो सम्भावित दुर्घटना, संयमित रहे आन्दोलनकारी

काठमाडौं : ७० वर्ष अघि आजकै दिन देशमा प्रजातन्त्र आयो। टुँडिखेललाई साक्षी मानेर राणाशासन अन्त्य भयो। प्रजातन्त्रलाई बुइँ चढाएको टुँडिखेल त्यसपछि भने लगातार अतिक्रमणमा पर्‍यो।

समयक्रममा टुँडिखेलभित्र नै खुल्लामञ्च बनाइयो। नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको तुंख्या- पानीको खेत (टुँडिखेल) माथि बनाइएको खुल्लामञ्चमाथि पटकपटक आक्रमण भयो। सेनाले टुँडिखेलको आधा हिस्सा आफ्नो नियन्त्रणमा लियो जहाँ सैनिक परेड हुने गरेको छ। यस्तै, सानो टुँडिखेलमा जंगी अड्डा बनाइयो।

सम्बन्धित समाचार : एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

राजा फाल्नेदेखि गणतन्त्र ल्याउनेसम्मका भाषण गुञ्जिएको खुल्लामञ्च गाडी पार्क गर्ने र फोहर मिल्काउने ठाउँ नपाउँदा डम्पिङ साइट बनाइयो। पुरानो बसपार्क क्षेत्रमा बहुप्रयोजनको भ्यू टावर बनाउने भनेर खुल्लामञ्चमा बसपार्क स्थान्तरण गरियो। भ्यू टावर त बनेन नै वर्तमान राजनीतिक नेतृत्वको उदयस्थल टुँडिखेल अझ साँघुरिँदै गयो।

टुँडिखेल साँघुरिनुलाई 'प्रतिगमन' को रुप भन्दै बृहत नागरिक आन्दोलन अन्तर्गत आज प्रजातन्त्र दिवसकै दिन  टुँडिखेल मार्च पास गर्‍यो। उद्देश्य थियो -  टुँडिखेलभित्र छिर्नु र सेनाले लगाएको काँडे तार हटाएर टुँडिखेललाई जनताको स्वामित्वमा ल्याउनु।

तस्विरमा टुँडिखेल मार्च : बाहिर प्रहरी भित्र सेना, गेटमा भोटे ताल्चा : टुँडिखेल खुला गर्न माग गर्दै उठ्यो जुलुस

रत्नपार्कदेखि सुरु भएको मार्चपासलाई प्रहरीले घेरा हाल्दै हिँड्यो। टुँडिखेल प्रवेश गर्ने भन्दै जति मानिस हिँडेका थिए, ती भन्दा धेरै थिए तिनलाई रोक्ने प्रहरी। नागरिक आन्दोलनमा सहभागीहरु टुँडिखेल जनताको हो भन्दै अघि बढे। तर, टुँडिखेल प्रवेश गर्न भने पाएनन्। यसबिच केहीले 'राजतन्त्र जिन्दावाद' समेत भन्न भ्याए। उनलाई नागरिक अभियन्ताले रोके।  

टुँडिखेल प्रवेश गर्ने सबै गेटमा भोटे ताल्चा लगाइएको थियो। गेट बाहिर प्रहरी। भित्र नेपाली सेना बन्दुक भिरेर बसेको देखिन्थ्यो। बाहिर आन्दोलनकारीहरु भित्र जान पाउनुपर्छ भन्दै नारा लगाइरहेका थिए। तर, नागरिक आन्दोलनलाई 'ब्याक सपोर्ट' नहुँदा टुँडिखेल प्रवेश गर्ने उद्देश्य आज पूरा हुन सकेन।

सानो संख्यामा उपस्थित भएका आन्दोलनकारीले सेना र प्रहरीको फोर्ससँग भिड्न सम्भव पनि थिएन। महाँकाल पुगेर र्‍याली सभामा परिणत भयो। त्यही अभियन्ताहरुले सम्बोधन गरे। सत्ताले शक्तिको प्रयोग गर्दै टुँडिखेलभित्र नागरिकलाई प्रवेश गर्न रोकेको भन्दै केही युवाहरु आक्रोशित देखिए।

'ओली सरकारले गलत पुस्तासँग निहुँ खोज्यो' भन्दै टुँडिखेलभित्र जानुपर्ने माग गरिरहेका युवाहरुलाई कार्यक्रमको संचालन गरिरहेकी मोहना अन्सारीले संयमित बनाउने प्रयास गरिन्।

नागरिक आन्दोलनका वक्ताहरुले नै स्वीकारे : हाम्रो उपस्थिति कमजोर रह्‍यो। त्यसैले भित्र जान सकिएन।

सरिता तिवारीले आफू टुँडिखेलभित्र पस्न संघर्ष गर्नुपर्छ भनेर तयार भएर आएको सुनाइन्। तर, परिस्थितिले भित्र जान नपाएको उनको बुझाइ थियो। लेखक खगेन्द्र संग्रौलाले आउने दिनमा ताल्चा फोडेर टुँडिखेललाई जनताको बनाउने बताए।

'तानाशाहले अधिकार खोस्न चाहन्छ। आज टुँडिखेलको ढोका हाम्रो लागि खोलिएन। टुँडिखेलको ढोका बन्द भयो भने टुँडिखेलको ढोका फोडिनेछ,' उनले भने।

युवा आक्रोश केही हदसम्म संयम भयो। सँगै आज कल्पना गरिएको सम्भावित झडप पनि रोकियो। शान्तिपुर्ण रुपमा नै सभा भयो र बृहत् नागरिक आन्दोलनले घोषणा पत्र सार्वजनिक गर्‍यो। जसमा सबैखाले प्रतिगमनविरुद्ध लड्ने उद्घोष भयो।

सभामा सपना सञ्जिवनीले कविता सुनाइन्। महिला मार्चमा 'महिला मुक्ति' को कविता सुनाएकी उनलाई धम्कीहरु धेरै आएको थियो। उनको समर्थनमा सामाजिक संजालमा धेरै जनाले ऐक्यवद्धता जनाएका थिए। त्यही साथ र भरोसाका कारण आज फेरि उनले नागरिक आन्दोलनमा कविता भन्न आउन सकेको सुनाइन्।

उनले समाजमा हुने विभिन्न भेदभावलाई प्रशय दिने समाजलाई बहिस्कार गर्दै समानता उन्मुख समाज निर्माण गर्ने भावमा कविता प्रस्तुत गरिन्। लोककवि राजभाइ जकमीले टुँडिखेल जनताको नासो भएको भावमा कविता सुनाएका थिए।

सभाको अन्त्य गर्दै लेखक तथा अभियन्ता नारायण वाग्लेले प्रजातन्त्र दिवसको दिन आफ्नो हक दाबी गर्न पुग्दा बालुवाटारको आदेशमा टुँडिखलमा ताल्चा लगाइएको बताए। शासकहरु जनतासँग डराएको भन्दै उनले अब प्रतिबन्धहरु विरुद्ध लड्ने बताए।

'हामीलाई प्रतिबन्ध लगाइयो। अब हामी यो सत्तालाई सलामी पनि दिन्नौं। यसको गुलामी पनि गर्दैनौं,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell