PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस नेतृत्वको दुईथरि दाबी : देउवा भन्छन् -चुनाव हुन्छ, हुन्छ, पौडेल भन्छन् -हुनेवाला छैन



नेत्र तामाङ

कांग्रेस नेतृत्वको दुईथरि दाबी : देउवा भन्छन् -चुनाव हुन्छ, हुन्छ, पौडेल भन्छन् -हुनेवाला छैन

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभेद पुनः सतहमा देखिएको छ। शुक्रबार दुई नेताले फरक-फरक कार्यक्रममा फरक दाबी पेस गरे।

नुवाकोट पुगेर देउवाले जसरी पनि चुनाव हुनेमा जोड दिए भने धरान पुगेर पौडेलले यो चुनाव हुनै नसक्ने ठोकुवा गरे।

देउवा चुनाव हुनेमा यति विश्वस्त देखिए कि उनले चुनावको विपक्षमा रहेकालाई राजनीति छाड्न सल्लाहसमेत दिन भ्याए। उनी जहिले भए पनि चुनावका लागि पार्टी तयार हुनुपर्ने जोडमा थिए। नुवाकोटको विदुरमा देउवाले भने, 'चुनावसित डराएर हुन्छ? कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो।'

देउवाले यसो भनिरहँदा धरान पुगेका पौडेलले सरकारले तोकेको चुनाव हुनै नसक्ने ठोकुवा गरे।

'अदालतले संसद् विघटनलाई सदर गरोस् अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद् पुनः स्थापना गर्नुपर्ने दिन नआओस्। यो चुनाव त हुनेवाला छैन,' पौडेलको भनाई थियो।

पौडेल जसरी पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेसँगै पौडेलले पार्टीको लाइन स्पष्ट हुनुपर्ने माग गर्दै आएका छन्।

तर सभापति देउवा भने सरकारले चुनाव तोकिसकेको अवस्थामा सर्वोच्च अदालतलाई सडकबाट दबाब दिन नहुने तर्क राख्छन्। सरकारले वैशाख १७ र वैशाख २७ गते दुई चरणमा मतदान हुने घोषणा गरिसकेको अवस्थामा कांग्रेस दुई नेताको फरक-फरक मतका बीच काँग्रेसलेसात दिन फरक मितिमा सरकारको कदमको विरुद्ध सडकमा शक्ति प्रदर्शन गरिसकेको छ। पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९, माघ २४ र फागुन ३ गते भएका प्रदर्शनलाई दुई शीर्ष नेताले आ-आफ्नै कोणमा व्याख्या गर्दै आएका छन्।

वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिमा आफ्नो बलमा कांग्रेस सडकमा उत्रेको दाबी गरिरहेका छन् भने सभापति देउवा लाइनका नेताहरू यसलाई चुनावी गतिविधिका रूपमा लिन्छन्।

देउवाले प्रतिनिधिसभा विघटनपछिका हरेक मञ्चमा अदालतलाई विश्वास गर्नुपर्ने र चुनावतिर पार्टी फोकस हुनुपर्ने बताउँछन्। शुक्रबार पनि देउवाले नेकपा नै निर्वाचनका लागि सूर्य चिह्न दाबी गरेर तयारी थालिसकेकोले कांग्रेसले विलम्ब गर्न नहुने बताए। देउवाले पहिलेपहिले पनि यसरी नै तयारी नगरेकाले कांग्रेसको हालत खराब भएको बताउन भ्याए। प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा देउवाले चुइँक्क बोलेका छैनन्। यो विषयमा सर्वोच्चमै भर पर्नुपर्ने उनको भनाई छ।

'अदालतलाई विश्वास गरौं न प्लिज! उसको निर्णय मानौं,' उनले भने। देउवाले यसो भने पनि निर्वाचन आयोगले भने चुनावका लागि खासै तयारी गरेको छैन। भैरहवा पुगेर देउवाले आयोगको भूमिकाप्रति शंका जनाएका थिए।

'जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले,' फागुन ३ गते देउवाले प्रश्न गरेका थिए, 'किन बोल्दैन निर्वाचन आयोग? म यहीँबाट भन्न चाहन्छु। ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ। निर्वाचन आयोगले किन बोल्दैन। शंका गर्नुपर्ने बेला भएको छ।'

तर शुक्रबार भने देउवा ओली सरकारले तोकेको चुनाव हुनेमा ढुक्क देखिए। उनी भन्दै थिए, 'एकपल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा ल्याएपछि। चुनावको घोषणा भयो। कहाँ हुन्छ चुनाव? कहाँ हुन्छ चुनाव? भन्यो। मेरो जिल्लामा पनि चुनाव हुँदैहुँदैन भन्थ्यो। ए बाबा, चुनाव हुन्छ हुन्छ भन्दा कसैले पत्याउँदैन'थ्यो। अखिर चुनाव भइछाड्यो।'

यता पौडेल भने जसरी हुन्छ कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमै जोड दिनुपर्ने बताउँछन्। देश गम्भीर मोडमा पुगेको अवस्थामा रमिते बन्न नहुने उनको पौडेलको भनाई थियो। देशको अवस्था यस्तो छोडेर कांग्रेसले तत्कालीन फाइदा हेर्न नहुने उनको तर्क थियो।

'अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौं भन्ने होला। संसद् पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सबै उनीहरू नै हुन्। चुनाव भयो भने हामी जितौंला तर अहिले हामीले तत्कालीन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने?' पौडेलले प्रश्न गरे।

पौडेलले केन्द्रीय समितिमा आफूले राखेको प्रस्ताव पारित नभएको दुखेसोसमेत पोखे। आफूले संवैधानिक अंगका नियुक्तिको खारेजी, संसद्को पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरौं भन्ने प्रस्ताव राखेको तर केन्द्रीय समितिबाट पारित नभएको बताए।

यसबारे उनको भनाई थियो, 'निर्णयविहीन भएर पार्टी बसिराखेको छ। हामी निर्णयविहीन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो।'

बुधबार सुरु भएको केन्द्रीय समितिमा पौडेलले राखेका प्रस्तावहरूलाई केन्द्रीय समितिले समेटेन। त्यसो त पौडेलले फागुनभित्रमा काठमाडौंमा प्रचण्ड माधव पक्षले भन्दा पनि ठूलो सभा गर्न प्रस्तावसमेत गरेका थिए। तर पौडेलका तीनै प्रस्तावलाई केन्द्रीय समितिले समेटेन।

प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेका छन्। यही मेसोमा चुनावी घाँससमेत देखाएको छ। गत निर्वाचनमा नराम्ररी हारेको कांग्रेस नेतृत्वले यो चुनावमा फलिफापै फलिफाप हुने देखेका छन्। त्यसैले पनि सभापति देउवा चुनावतिर जोड दिइरहेका छन्। यता पौडेल भने प्रतिनिधि सभा पुनःस्थापना नभइ चुनावको कुरा सुन्नै चाहँदैनन्।

यस्तो अवस्थामा दुईतिर फर्केर कांग्रेसले कार्यकर्तालाई के दिशानिर्देश गर्न खोजेको होला? अहिले प्रश्न बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell