साबित्रा भण्डारी अर्थात ‘साम्बा’। विभागीय टोली एपीएफकी स्ट्राइकरमात्र भन्दा त उनको परिचय नपुग्ला। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्।
शनिवार सकिएको राष्ट्रिय महिला लिगमा उनै सावित्रा भण्डारी उत्कृष्ट स्ट्राइकर बनिन्। जब उनी त्यसका लागि अगाडि जाँदै थिइन्, सबैकुरा सामान्य थिएन्। उनी उपाधि उचाल्न वैशाखी टेकेर अगाडि गएकी थिइन्। न त उनले अन्तिम खेलमा आर्मीविरुद्ध खेलिन् न त त्यसअघिको विराटनगरको खेलमा। विराटनगरको खेलमा पनि उनी सहयोगिको बुइमा चढेर एन्फा कम्प्लेक्स पुगेकी थिइन् टिमको खेल हेर्न।
फागुन ३ गतेको कुरा हो। उनी नेपाल पुलिससँग खेल चलिरहँदा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएर लडिन्। उनलाई चोट यति लाग्यो की मैदानमा फेरि उठ्न सकिनन्।
खेलपछि परीक्षण गराउँदै चोट ठुलो देखियो र लामो समय मैदान बाहिरै बस्नु पर्ने राय आयो चिकित्सकबाट। त्यहीबाट त हो एपीएफका दुई खेलमा ‘साम्बा’ को जादु मिस भयो। उनलाई चोट लागे पनि उनी त्यसपछि पनि मैदानमा आइरहिन्। उनले साथीहरुलाई हौस्याइ रहिन् र साथीहरुले उनलाई उत्साह दिइरहे।
त्यसैले त एपीएफले अपराजित रहँदै लिग टुंग्यायो।
लिग सकिएपछि साबित्रालाई बीचमा राखेर एपीएफका खेलाडीहरु वरपर घुमिरहेका थिए। सेलिब्रेसनमा उनलाई केन्द्रमा राखेर खुशी साटिरहेका थिए। स्टेडियममा बसेर हेर्दा लाग्थ्यो: वा साथी हुन् त यस्ता।
+++
अन्तिम खेलमा एपीएफले आर्मीलाई हराउँदै अपराजित रहेर उपाधि उठाउँदै गर्दै मैदान परिसरमा भण्डारी भेटिइन्। उनी अपराजित रहँदै लिग जितेकोमा मख्ख सुनिइन्।
‘डबल राउण्डको महिला लिगमा हामीले अपराजित रहँदै उपाधि जित्यौं,’ भण्डारीले भनिन्, ‘दुर्भाग्यवस म इन्जोर्ड भएँ, त्यसमा पनि गुनासो छैन। मेरो टिमले इफोर्ट त्यति नै दिएको थियो। मलाई टिमले त्यति नै माया गरिरहेको छ।’
साम्बाले आफू त्यहाँ आएर हौसला दिन पाउँदा साथीहरुलाई उर्जा महसुस भएको भन्ने मैले अनुभव गरेको सुनाइन्।
चोटको कुरा गर्दैगर्दा उनी गम्भीर सुनिइन्।
‘सर्जरी गर्नुपर्छ भनेको छ। एन्फाको सबै सर म्यामहरु सकारात्मक हुनुहुन्छ। कतारका लागि प्रोसेस भइरहेको छ,’ मन्द मुस्कानसहित उनले भनिन्, ‘चाँडै अप्रेसन गरेर मैदानमा आउने छु।’
उनले टिमको सपोर्ट अत्यन्तै धेरै भएको र त्यसले आफूलाई उर्जा बढाएको बताइन्।
‘टिममेटले नै मलाई यहाँ पुर्याएको हो। मेरो जति उचाइ छ यही टीमसँग यहाँ पुगेको हो। उनीहरुलाई पनि मप्रति मायाँ छ,’ उनले भनिन्, ‘उनीहरुको बललाई मैले मुभमा भ्याउथे भने उनीहरुले पनि खेलमा सम्झिएको थियो होला साथीहरुले। त्यही कुरा गर्थे। यी साथीहरु नै अहिले मेरो लागि उर्जा हो।’
+++
एपीएफकी कप्तान अनिता बस्नेत साम्बाको अभाव अन्तिम दुई खेलमा खड्किएको बताउँछिन्।
‘च्याम्पियन त हामी अगाडि नै बनिसकेका थियौं। तर अन्तिम खेलमा कसरी लिड गर्ने भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘साम्बा टिमको मुटु थिइन्। एसिस्ट गर्ने देखि गोल गर्ने समयसम्म उनलाई सम्झिएँ। उनी इन्जोर्ड भएपछि हामी टिमले नै उनका लागि प्रे गरिरहेका थियौं।’
त्यस्तै उनले केही कुरा लिग अघिको टिमको बारेमा पनि योजनाका बारेमा पनि खोलिन्।
‘एक गोल पनि नखाइ लिग जित्ने भन्ने सपना थियो। त्यो चाहीँ पुरा हुन सकेन। लिग जित्नैपर्छ र जित्छौं भन्ने थियो,’ उनले भनिन्।
तर उनलाई सबैभन्दा बढी चिन्ता थपियो, जब साम्बालाई चोट लाग्यो। कप्तानका रुपमा उनी आत्तिएर पनि हुने थिएन। टिमलाई अझ सशक्त बनाउने चुनौती छँदै थियो।
‘मलाई त एकदमै चिन्ता लागिरहेको थियो। मैले त अरुलाई पनि सम्झाउनु पर्ने थियो। त्यसैले मैले अरुलाई पनि भन्ने गरेको थिएँ की साम्बाका लागि भए पनि खेल्नुपर्छ है,’ उनले भनिन्, ‘हामीलाई त धेरै कुराको चुनौती थियो। यसका लागि एक भएर खेल्नुपर्छ भन्ने भएको थियो।’
यस्तै अनुभव छ एपीएफकी गोलकिपर एन्जिला तोम्बाफोको। टिमको खेल र उपाधिबाट खुशी भए पनि साम्बाको चोट नै उनलाई दुख लागेको रहेछ। साम्बाको चोटपछि एपीएफले विराटनगरसँग खेल खेल्दा तोम्बाफोले ‘गेट वेल सुन साम्बा’ भनेर टिसर्टमै लेखेकी थिइन्।
‘टिमले एकदमै राम्रो खेल्यो। हामीलाई दुख भनेकै साम्बा इन्जोर्ड भयो। उ भनेको त अर्गनाइजेसन मात्र नभएर नेसनलाई नै नोक्सान हो,’ उनले भनिन्, ‘टिमको कुरा गर्दा उ एउटा की प्लेयर हो। जता गेम हुँदा पनि बलहरु उसले भेट्ने। गोलहरु उसले गर्ने। उ त हाम्रो लागि गोलमेसिन नै हो। उ नहुँदा त हामीलाई जहाँसम्म गाह्रो हुन्छ नै।’
उनको उपचारमा कुनै कसुर बाँकी नराख्ने भनेर राष्ट्रिय खेलकुद परिषददेखि एन्फासम्मका पदाधिकारीहरुले आश्वासन दिइरहँदा साम्बा चाँडै निको भएर मैदानमा फेरि दौडने नै छिन्।
गेट वेल सुन् साम्बा!
सावित्रा चोटका कारण लामो समय मैदान बाहिर रहने, पुलिससँगको खेलमा यसरी लडेकी थिइन्
सहयोगीको बुई चढेर खेल हेर्न मैदान पुगिन घाइते साम्बा