PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत



फूलमाया पुरी

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्।

बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने कार्य बन्द गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आरोप लगाए।

 'सभामुखको भुमिका निर्वाह गर्नुपर्नेमा सूचना लेख्दै बैठक पर सार्दै सभामुख र सांसदको तलब पाउने काम मात्रै भइरहेको छ,' उनले भने। त्यसो त सरकार अलमलमा परेकोमा दया लागेको भन्दै जनताको आवाज उठाउने थलो बन्द नगर्न र संसद सञ्चालन गर्न सभामुखलाई कार्कीले आग्रह गरे।

अनिश्चितका लागि संसद स्थगत हुन्छ भन्ने कार्य व्यवस्थापनमा कुनै पनि निर्णय नभएको जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य जयराम यादवले बताए। त्यसो त यस विषयमा सभामुखको स्वविवेक अधिकार भएपनि प्रदेश सरकार गैर जिम्मेवार भएको उनले बताए।

अविश्वासको प्रस्तावपछि प्रदेश सभा तेस्रो पटक स्थगित!

तत्कालिन नेकपाबाट प्रचण्ड माधव पक्षका नेताहरुले गत फागुन ९ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि प्रदेश सभाको बैठक सभामुख प्रदीप कुमार भण्डारीले फागुन २० सम्मका लागि स्थगित गरेका थिए।

प्रदेश सदस्य एवं नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। आङ्बोले प्रस्ताव पेश गर्नसाथ सभामुख भण्डारीले बैठक फागुन २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए थिए।

तर फागुन १९ गते नै प्रदेश सचिवालयले सूचना जारी गरेर बैठक चैत २ गतेका लागि सार्‍यो।

प्रदेश सचिवालयले विशेष कारणले २० गते बोलाइएको बैठकलाई २ चैत दिनको १२:३० बजे बस्ने गरी सारिएको जनाएको थियो। यो बैठक पनि स्थगित गर्दै अनिश्चितका लागि स्थगित भएको छ।

बैठक स्थगित भएसँगै मुख्यमन्त्री राईविरुद्ध परेको अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन। मुख्यमन्त्री राईले आफूविरुद्ध परेको अविश्वासको प्रस्तावलाई असफल बनाउने दाबी गर्दै आएका छन्। बैठक स्थगित हुँदा मुख्यमन्त्री राईलाई राहत मिल्ने उनी पक्षका नेताहरु बताउँछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell