काठमाडौं : सन्तोषी श्रेष्ठ र सन्तोष सापकोटाबिच करिब १० वर्षअघि हो प्रेमविवाह भएको। सन्तोषीका परिवारले यो विवाहलाई स्वीकारेनन्। उनीहरुको बिचमा थियो जात। त्योभन्दा ठूलो समस्या त सन्तोषको आर्थिक अवस्थालाई नै लिएका थिए।
बल्खुको सुकुम्वासी बस्तीमा बस्दै आएका सन्तोष र राम्रै परिवारमा हुर्किएकी सन्तोषी बिच विवाह भएको थियो। उनीहरुको एक सन्तान पनि छन्। तर, बिहेको दशकपछिको सम्बन्ध हत्यामा गएर पूर्ण बिराम लागेको छ। सन्तोषीको हत्या भएको छ। अनि हत्याको आरोपी चाहिँ सन्तोष नै।
चैत २ गते बिहान साढे ७ बजे सन्तोषी जोरपाटीबाट बल्खुका लागि हिँडेकी थिइन्। श्रीमानसँग पछिल्लो समय राम्रो सम्बन्ध नभएपछि उनी माइतमा नै बस्दै आएकी थिइन्। केही रुपैयाँ उनीसँग साथमा थियो। त्यसै साँझ उनीहरु बिच डिभोर्सको विषयलाई लिएर विवाद सुरु भयो। पछिल्लो समय उनीहरु अलग हुने तय गरिसकेका थिए। तर, त्यस दिनको विवाद सामान्य बन्न सकेन।
सन्तोषले विवादै विवादमा नजिकै रहेको फलामको हम्मर जस्तो देखिने बस्तुले सन्तोषीको टाउकोमा प्रहार गरे। सन्तोषका बुबा सिकर्मी। उनलाई हम्मर खोज्न कहीँ जानु परेन। अन्य फलामका औजारसमेत प्रशस्त थिए, घरमा। नजिकै जे भेट्यो, त्यसैले प्रहार गरेका थिए उनले। सन्तोषले हत्या गर्न प्रयोग गरेको घरेलु हतियार
टाउकोमा हम्मर हानेपछि सन्तोषी भुँइमा लडिन्। त्यसपछि उनले सन्तोषीको टाउको बटारेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
'टाउको पूरै ३६० डिग्रीमा घुम्छ। उसले पनि टाउकामा हानेर लडेपछि टाउको बटारेको बयान दिएको छ। थप पोष्टमार्टम रिपोर्टबाट पुष्टि होला,' महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी अपिल बोहोराले भने।
श्रीमती मरिसकेपछि डोरीले बाँधेर बोरामा हालेर पोको पारे उनले। शव कतै लगेर व्यवस्थापन गर्ने योजनामा थिए सन्तोष। तर, त्यसो हुन पाएन। सन्तोषीको साथमा भएको नगद, सुन, मोबाइल लिएर फरार भए। प्रहरीको नजरबाट धेरै समय टाढिन पनि सकेनन्। अन्तत: प्रहरीले उनलाई सजिलै सामात्यो।
उनले आवेगमा नजिकै भेटिएको हम्मर जस्तो फलामले हानेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। तत्काल उत्पन्न आवेग अनि सहजै भेटिएको औजारको कारणले सन्तोषीको ज्यान गयो। बुधवार प्रहरीले सन्तोषलाई सार्वजनिक गर्यो। हत्यामा प्रयोग भएको फलामको औजारसमेत देखाइयो।
यदि घटनास्थल वरपर त्यस्तो औजार नभएको भए सन्तोषीको ज्यान जाँदैन थियो कि? उनले श्रीमतीको हत्या नै गर्ने योजना बनाएर हम्मर लिएर राखेको भन्ने चाहिँ अहिलेसम्म अनुसन्धानमा खुलिसकेको छैन।
पछिल्लो समय आर्थिक लेनदेन, आवेग र रिसइबीका कारण यस्ता हत्याका घटना भएको देखिन्छ। त्यस्ता घटनामा धेरैजसो घरेलु हतियारहरु नै प्रयोग भएको पाइन्छ। तर, नेपाल प्रहरीसँग हत्याका घटनामा कस्ता औजार प्रयोग भएको छ भन्ने तथ्याङक भने नभएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तकुमार कुँवरले जानकारी दिए।
दुबईमा बुनिएको एक हत्या योजना: छोरीको घरबार बचाउन खोज्दा गयो आमाको ज्यान
गत साउनमा टोखा नगरपालिका वडा नम्बर १० मा एक पुरुषको सुटकेसमा टाउको र खुट्टा काटिएको शव भेटिएको थियो। केही समय शवको सनाखत नै हुन सकेन नचिनेका कारण। किनकि ती पुरुषको शव टुक्रा पारिएको थियो। प्रहरीले मृतकको फोटो सार्वजनिक गरेपछिमात्रै खुल्यो रोल्पा रुन्तीगढी गाउँपालिका वडा नम्बर ७, घर भएका कृष्णबहादुर बोहोरा रहेछन् ब्यागमा।
बोहोराको हत्या घटना पनि आर्थिक र यौनसँग जोडिएर आएको थियो। त्यसमा आवेग त जोडिने नै भयो। प्रहरीले चितवनकी कल्पना मुडभरी (पौडेल) र उनकी छोरीलाई पक्राउ गर्यो उक्त घटनामा। पौडेलले नशालु पदार्थ खुवाएर लठ्याएपछि हम्मरले हानेर घरेलु हतियारले टुक्रा टुक्रा पारेर हत्या गरेको अनुसन्धानमा खुलेको थियो। काठमाडौं जिल्ला अदालतले कल्पनालाई आजिवन कारावास सजाय सुनाइसकेको छ।
सबैभन्दा धेरै चर्चामा रहेको अर्को हत्या प्रकरण हो, पूर्व राजदूत केशव झाको। २०७५ भदौ ४ गते झाको चक्कु प्रहार गरी हत्या भएको थियो। हत्या घरभित्रकै मानिसको संलग्नता भएको देखिएपछि प्रहरीले सुरक्षा गार्ड सानुकान्छा तामाङलाई नियन्त्रणमा लिएको थियो। तामाङलाई घटना भएकै दिन नियन्त्रणमा लिएर २४ दिन हिरासतमा राखेर अनुसन्धान गर्दा प्रमाण नपुगेपछि छुटेका थिए। तर, फेरि एक वर्षपछि मृतककी श्रीमतीले किटानी जाहेरी दिइन्। प्रहरीले तामाङलाई काभ्रेबाट नियन्त्रणमा लियो।
झाको हत्यामा पनि भान्छामा प्रयोग हुने चक्कुको प्रयोग भएको थियो। भान्छाको चक्कु प्रयोग हुनु र घटना अघि कोही पनि घरभित्र प्रवेश नभएको जस्ता प्रमाणलाई टेकेर प्रहरीले सुरक्षागार्डलाई समातेको थियो। न त उनले साविति बयान दिएका थिए। न त अरु खासै प्रमाण जुट्न सकेको थियो। तर, एउटा कुरा पक्कै थियो, घटना चक्कु प्रहारबाटै भएको थियो। भान्छामा प्रयोग हुने चक्कु नै हत्याको लागि हतियार बन्यो।
'धेरै जसो आवेगका घटनामा नजिकै जे बस्तु भेटिन्छ त्यही नै प्रहार हुने गरेको देखिन्छ। घरेलु हतियार सहजै भेटिने भएकाले यसको प्रयोग हुन्छ,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।
क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या
पछिल्लो समय सामाजिक कारणले पनि हत्याका घटना बढेका छन्। जसले गर्दा लोकल औजार नै प्रयोग भएको देखिएको छ। अपराधिक समूह र भूमिगत संगठनले मात्र अपराध गर्दा आधुनिक हतियार प्रयोग गर्ने भएको देखिन्छ।
पछिल्लो समय घरायसी औजारमा पर्ने कोदालो, खुर्पा, चक्कु, आग्लो लगायतका औजारहरु प्रयोग गरेर हत्या भएको देखिएको छ।
दैनिक २ जनाको हत्या
देशभर सबै प्रकृतिका गरी दैनिक २ जनाको हत्या हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। विगत तीन वर्षमा देशभित्र भएको हत्याको तथ्याङ्कलाई आधार बनाएर हेर्दा दैनिक दुई जनाले यसरी ज्यान गुमाउने गरेका छन्।
आर्थिक वर्ष २०७४\७५ देखि २०७६/७७ सम्म देशभर १ हजार ८ सय ४२ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन्। तीन वर्षको तथ्याङ हेर्दा यो दर प्रत्येक वर्ष घट्दै गएको छ। आर्थिक वर्ष २०७४/७५ मा ६ सय २८ वटा मुद्दा दर्ता भएका थिए।
चक्कु प्रहारबाट चुच्चेपाटीमा एक युवकको हत्या
गएको आर्थिक वर्षमा ५ सय ५५ वटा हत्याका मुद्दा दर्ता भएका छन्। प्रदेश नम्बर एकमा सबैभन्दा धेरै १ सय १३ वटा मुद्दा दर्ता भएका हुन्। उपत्यकाभित्र ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, कर्णाली प्रदेश २७ जनाको हत्या भएको देखिन्छ। प्रदेश नम्बर २ मा १ सय ११ वटा मुद्दा दर्ता भएका छन्। वाग्मतीमा ८१, गण्डकी ४३, प्रदेश नम्बर ५ मा ९३ र सुदूर पश्चिममा ५२ वटा मुद्दा दर्ता भएका छन्।