PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

केन्द्रीय समिति रद्ध गरी तीन दलको बैठक, के होला देउवाको रणनीति?



केन्द्रीय समिति रद्ध गरी तीन दलको बैठक, के होला देउवाको रणनीति?

काठमाडौं : नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति डाकेको थियो। एक हप्ताअघि गत शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले आजका लागि अर्को केन्द्रीय समिति तय गरेको हो।

तर बिहीवार कांग्रेसले एक सूचना जारी गर्दै केन्द्रीय समिति सोमबारका लागि सार्‍यो। केन्द्रीय समिति रद्द भएको सूचना जारी भएको केही समयमै काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार तीन दलको बैठक डाके

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको उक्त बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

तीन दलको एजेन्डा के?

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको एक हप्ता अघि नै हो। गत शुक्रवार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न माग गरिएको थियो।

सोही बैठकले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिने सहमति गरेको थियो।

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरेको थियो। त्यस पश्चात पनि निरन्तर संविधान विरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारी राख्यो। प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद तर्फको कदम ठहर गरेको थियो,' निर्णयको पहिलो बुँदामा भनिएको छ, 'सम्मानीत सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ।'

कांग्रेसले बैठकको शुरुमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णयको प्रयास गरेको थियो। यद्यपि त्यो प्रयास सफल हुन सकेन। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने बताउँदै आएका छन्।

शुक्रवारको बैठकमा नयाँ सरकार गठनका लागि तीन दल कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ। यसअघि पनि तीनै दल नयाँ सरकार गठनका लागि पटकपटक जुटेको थियो। यद्यपि जसपा भने सत्तासीन दल एमालेसँग पनि नयाँ सरकार गठनका लागि पटकपटक वार्तामा बसिसकेको छ। यसअघि तीनै दलले स्पष्ट निर्णय ल्याउन नसक्दा कुनै सहमति जुटेको थिएन। शुक्रवार बस्ने बैठकमा तीन दलबीच नयाँ सरकार गठनबारे कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा थप छलफल हुने र निचोडमा पुग्ने बताइएको छ।

सरकारको नेतृत्व गर्द देउवा तयार!

यसअघि सरकारको नेतृत्व गर्न कांग्रेस सभापति देउवा खासै तयार नरहेको अवस्था थियो। पछिल्ला दिनहरुमा देउवा सरकारको नेतृत्व लिन तयार रहेको बताइएको छ।

देउवाले बुधवारमात्र आफ्नो पार्टी संकटमा नरहेको दाबी गरेका थिए। नविन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा देउवाले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिलै पनि संकटमा नरहेको बताएका हुन्। उनले कांग्रेसको एतिहासिक जिम्मेवारी रहेको भनाईसमेत राखेका थिए।

'यहाँ दोहोरी खेल्ने कुरा छैन। नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन। भोलि पनि रहदैन। नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ,' देउवाले भनेका थिए, 'यसलाई सबैले निभाउँदै गएका छौ। पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ। धेरै पटक जितेका पनि छौ। त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन। आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन। त्यसैले हाम्रो पार्टी संकटमा छैन।'

यी भनाईले पनि पछिल्लो समय देउवाको रणनीति सरकारको नेतृत्व लिन अग्रसर हुने हो कि भन्ने देखिएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell