PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

खेर जाँदै ओलीको विकल्प खोज्ने प्रचण्डको पहल, कांग्रेसपछि अब माओवादीको ध्यान पनि निर्वाचनतिरै हो?



प्रकाश भण्डारी

खेर जाँदै ओलीको विकल्प खोज्ने प्रचण्डको पहल, कांग्रेसपछि अब माओवादीको ध्यान पनि निर्वाचनतिरै हो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश दौडाहामा निस्के। देश दौडाहामा निस्कनुको रणनीति थियो - ओलीलाई घेराबन्दीमा पार्ने र संसद विघटनको निर्णय प्रतिगामी हो भनेर स्थापित गराउने। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड भ्याएसम्मका मञ्चमा एकै साथ देखिन्थे - ओलीलाई ठाडो चुनौती दिन।

पहिला संसद पुनर्स्थापना र त्यसपछि सरकारको नेतृत्वबाट ओलीको बिदाई त्यो बेला प्रचण्ड-नेपालको रोडम्याप नै बन्यो। त्यसका लागि सर्वोच्च अदालतमा भइरहेको बहस र आउनसक्ने फैसलाका आधारमा प्रचण्ड-नेपालले धारणा बनाउँथे। 'सडकमा आन्दोलनको उभार कसरी ल्याउने?' बहस पार्टीभित्रै हुन्थ्यो। पार्टीभित्र र बाहिर भइरहेका छलफलमा प्रचण्ड-नेपाल ब्यस्त भइरहेकै बेला सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनर्स्थापना गर्‍यो। जो प्रचण्ड-नेपालका लागि ओलीविरुद्धको युद्ध जितेको घोषणा भए सरह बन्न पुग्यो।

त्यसपछि प्रचण्ड-नेपालका लागि आफ्नो रणनीतिलाई 'यू टर्न' गराउनुपर्ने बाध्यता त थियो नै त्यो सँगै 'प्लान टु' बनाउनुपर्ने दबाव पनि। दुई महिना लामो आन्दोलनका बेला 'प्लान टू' बनाउनेतर्फ ध्यान नदिएका प्रचण्ड-नेपाल फैसलापछि पनि त्यतातिर लागेनन्। बरु उनीहरु ओलीको बालुवाटार बसाइको काउन्टडाउनमा केन्द्रीत भए।

संसद पुनस्थापना पछि 'रिल्याक्स' मुडमा देखिएका प्रचण्ड-नेपालको लड्डु ख्वाइख्वाइ गरे। 'ओलीका दिन गए' भन्दै प्रचारमा लागेका प्रचण्ड-नेपालका लागि त्यसयताको समय भने सोचे झैं भइदिएन। फागुन २३ गते सर्वोच्च अदालतको एमाले माओवादी अलग हुनुपर्ने फैसलाले प्रचण्ड-नेपालको रणनीतिमा धक्का पुग्यो।

'प्लान टू' बनाउन नसकेकाले ओलीलाई तत्काल बालुवाटारबाट बिदाइ गर्न नसकिएको प्रचण्डले स्वीकारी सकेका छन्।

नागरिक समाजको चैत १४ गतेको अन्तक्रियामा प्रचण्डले 'प्लान टु' बनाउने चुकेको बताएका थिए।  ओलीको कदमबिरुद्ध आन्दोलनको उभार ल्याउन प्रचण्ड, नेपाललगायतका नेताहरु सफल भए पनि ओलीको विकल्प दिन भने असफल उन्मुख छन्। त्यसका लागि फागुन १२ गते यताको समय उनीहरुका लागि व्यर्थ रह्यो।

कहाँ अड्कियो हलो?

चितवनमा फागुन १२ गतेका लागि तोकिएको आमसमभालाई प्रचण्ड-नेपाललले सम्बोधन गरेनन्। कार्यकर्ताभन्दा नयाँ सरकार बनाउने विषय उनीहरुको प्राथमिकतामा थियो। हतार-हतार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे। देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे। तर, देउवाबाट सोचेअनुसारको जवाफ भने पाएनन्।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अग्रसरता लिन प्रचण्ड-नेपालले अनुरोध गरे पनि देउवाको मौनताले संसदमा तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना तुहियो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहलाई देउवाले साथ दिए ओलीको बिदाई निश्चित जस्तै बनिसकेको थियो। तर फागुन ११ देखि २३ गतेको समय खिचातानीमै बित्यो।

ओलीविरुद्ध कसिलो मोर्चाबन्दीको पहल भइरहेकै बेला फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादी अलग हुनुपर्ने फैसला गरिदियो। अनि प्रचण्ड-नेपाललाई नै संकटमा पारिदियो। एमालेका नेता एमाले तिरै र माओवादीका नेता माओवादीतिरै भएपछि ओलीले राहतको सास फेर्ने पाए। 'निकै अप्ठेरोमा परेका बेला अदालतको फैसलाले निकै राहत महसुस गराएको छ। मलाई घेराबन्दी गर्नेहरुलाई अप्ठेरो भएको छ,' चैत ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा ओलीले राखेको धारणालाई उद्धृत गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले भनेका थिए।

प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ सरकारका लागि नेपाली कांग्रेस निर्णायक देखिएको थियो। सर्वोच्चको फागुन २३ गतेको फैसलाले जनता समाजवादी पार्टी (जसपा)लाई पनि मियो मान्नुपर्ने अवस्थामा पुर्‍याइदियो। जसपाले ओलीलाई साथ दिए ओली सत्ताबाट नहट्ने पक्का छ। अब प्रचण्डको ध्यान कांग्रेसलाई भन्दा जसपालाई फकाउनमा केन्द्रित छ।

तर, प्रचण्डको दुई महिनाभन्दा लामो प्रयासले खासै सफलता पाउन सकेको छैन। प्रचण्ड निकट नेताहरुका अनुसार नेपाली कांग्रेसलाई प्रचण्डले कन्भिन्स गरेको भए पनि जसपाले ओली इतर गठबन्धन गर्न मानिरहेको छैन। प्रचण्डको लगातारको प्रयासपछि देउवाले आफ्नो पार्टीको केन्द्रीय कमिटीबाटै सरकार बनाउन पहल गर्ने निर्णय गरे। यद्यपि त्यसका लागि देउवाले जसपाको साथलाई अनिवार्य शर्त बनाएको प्रचण्ड निकट नेताहरु बताउछन्।

'गठबन्धनका लागि जसपाको साथलाई कांग्रेसले पनि शर्त बनाइरहेको छ। जसपाले साथ नदिने अवस्थामा कांग्रेसले पनि ओलीविरुद्ध कदम चाल्न मानिरहेको छैन। त्यसको जोखिम पनि उतिकै छ,' माओवादी केन्द्रका एक नेताले भने। त्यसो त तीन दलको बैठक तोकिएकै दिनमा देउवाले प्रचण्डलाई खुट्टै नटेक्ने मान्छे भएको आरोप लगाए। बैठकको केही घण्टाअघि देउवाले प्रचण्डलाई ठीक्क भएको भन्नसम्म भ्याए। ‘धेरै पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई? तपाईहरुलाई थाहा छ नि। खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठीक्क भएको छ,’ चैत २७ गते नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै देउवाले भने।

तीन दलको बैठकमा पनि देउवा खासै सकारात्मक देखिन्नथें। यसले पार्टीभित्रको एकथरीको कचकचलाई सम्बोधन गर्न देउवाले तीन दलको बैठक बोलाएको स्पष्ट देखिन्छ।

 

आलोचना सहेर गठबन्धनको प्रयास

ओलीविरुद्ध सकेसम्मका कदम चाले पनि प्रचण्डले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा अझै फिर्ता लिएका छैनन्। समर्थन पनि कायमै राख्ने र प्रधानमन्त्रीको राजिनामा पनि माग्ने दोधारे चरित्र देखाएको भन्दै उनको आलोचना जारी छ।

ओलीको सत्तायात्रा छाडेर सडकमा ओर्लेको यति समय वित्दा पनि किन समर्थन फिर्ता लिएको छैन माओवादीले?

ओलीको सत्ता यात्रालाई थप लम्बिन नदिन समर्थन कायमै राखेर अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको तयारी रहेको नेताहरु दाबी गर्छन्।

समर्थन फिर्ता लिनासाथ ओलीले संसदमा विश्वासको मत लिने र जसपा वा कांग्रेसमध्य कुनै एक पार्टीले ओलीलाई साथ दिए बाँकी कार्यकाल पनि ओलीले नै सरकार चलाउने डर माओवादीलाई छ।

यद्यपि माओवादी केन्द्रका कतिपय नेताले भने सरकारलाई आफ्नो पार्टीले समर्थन नै नरहेको बताउँछन्।

नेता देव गुरुङले प्रतिगमनकारी सरकारलाई आफूहरुले कहिल्यै समर्थन नगरेकोले समर्थन फिर्ता लिनुपर्ने बाध्यता नभएको तर्क गरे। 'यो सरकार पार्टी एकताको जगमा बनेको सरकार हो। पार्टी नै अलग भइसकेपछि हामीले समर्थन गरेका छैनौ। हामीले समर्थन नै नगरेकाले समर्थन फिर्ता लिनुपर्ने बाध्यता पनि छैन,' उनले भने।

प्रचण्डको पहल

फागुन १२ यता प्रचण्डले देउवालाई पटकपटक भेटेका छन्। नयाँ सरकार निर्माणका लागि बेलाबेला टेलिफोन संवादसमेत भएको छ। चैत १७ गते देउवालाई भेटेर प्रचण्डले अविश्वासको प्रस्तावबारे छलफल गरेका थिए। छोटो भेटमा अविश्वासको प्रस्तावबारे देउवा सकारात्मक देखिएका थिए। तर देउवामाथि प्रचण्डले झट्ट विश्वास गरिहाल्ने स्थिति बनेन।

त्यसपछि प्रचण्डले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई आफ्नो मुद्दामा सहमत गराए। देउवामाथि पौडेल समूहले दबाव दिए ओलीको विकल्प खोज्न थप बल पुग्ने प्रचण्डको बुझाइ छ।

चैत २७ गते नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले नयाँ सरकार बनाउन पहल गर्न लागेको भन्दै प्रचण्डले स्वागत गरेका थिए भने जसपा अनिर्णित बनेको थियो। कांग्रेसले आफ्नो नेतृत्वको सरकारलाई जसपाले साथ दिनुपर्ने भन्दै गरेको प्रस्तावलाई जसपाले तत्काल कुनै जवाफ नदिने बताएको थियो

प्रचण्डले हालसम्म सरकारलाई दिएको समर्थन त फिर्ता लिएका छैनन् तर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेतालाई सांसद पदबाट समेत हटाइसकेका छन्। लामो समयसम्म माओवादीमा फर्किन ताकेता गरे पनि पार्टी विरोधी गतिविधि जारी राखेको भन्दै प्रचण्डले ५ नेतालाई सांसदबाटै हटाएका हुन्।

चुनावको चर्चा!

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद काम नलाग्ने भएको भन्दै चुनावको विकल्प नभएको तर्क पेश गर्दै आएका छन्। उनले सार्वजनिक रुपमै फेरि पनि संसद विघटन गर्ने संकेत गरिरहेका छन्।

संसद विघटन गरेर फेरि पनि चुनाव घोषणा गरे नेपाली कांग्रेस पनि आफ्नो पक्षमा रहने ओलीको दाबी छ। चैत २० गते मेलम्चीको पानी वितरण शुरु गर्दै ओलीले संसद काम नलाग्ने भएको दाबी गरेका थिए

कांग्रेसले पनि अहिलेको उत्तम विकल्प चुनाव नै भएको तर्क पेश गर्दै आएको छ।

पछिल्लो समय प्रचण्डले समेत अब हुने चुनावमा ओलीलाई हराउने अभिव्यक्ति दिएका छन्। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा कर्णाली प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा ओलीलाई चौथो बनाउने बताएका थिए।

'आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो। त्यसपछि उनको विघटन शुरु हुन्छ,' प्रचण्डले भनेका थिए।

आउने चुनावमा आफ्नो जनमत बढाउन भन्दै प्रचण्डले काठमाडौंमा कम गाउँमा बढी समय बिताउने बताइरहेका छन्। तीन दिने कर्णाली प्रदेशको यात्रामा निस्किएका प्रचण्डले चैत २४ गते रुकुममा आयोजित सभामा आफू गाउँगाउँ घुम्न चाहेको बताएका थिए

राष्ट्रिय राजनीतिमा गतिरोध उत्पन्न भइरहेको भए पनि प्रचण्डले जिल्लाहरुमा हुने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। आइतवार प्रचण्ड गृहजिल्ला चितवनमा पुगेका थिए। उनको सचिवालयले स्थानीय नेता कार्यकर्तासँग घुलमिल भएको तस्वीर सार्वजनिक गरेको थियो। रुकुममा भनेझैं हाल उनले काठमाडौं भन्दाबाहिर नै बढी समय बिताउन थालेका छन्।

गठबन्धनका लागि जसपा अनइच्छुक

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाललाई लम्बाउँन आफ्नै पार्टी एमालेलाई मात्रै विभाजनको अवस्थामा पुर्‍याएका छैनन् उनले कांग्रेस, माओवादी र जसपामा समेत किचलो भित्र्याएका छन्। माओवादीका बादललगायतका नेताहरुको समूहले त माओवादी परित्याग गरेर ओलीलाई नै साथ दिइसकेका छन् भने कांग्रेसको पनि देउवासमूह ओलीइतरको गठबन्धन बनाउन चाहिरहेको छैन।

जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो ओलीले नै आफ्ना माग पुरा गर्ने भन्दै ओलीविरुद्ध नलाग्ने बताइरहेका छन्। जसपाका नेता सुरेन्द्र झाले सरकारले आफ्ना माग पुरा गरे सरकारलाई साथ दिने बताए। उनले आफ्ना एजेण्डा महत्वपूर्ण भएको बताए। 'जसले माग पुरा गर्‍यो उसलाई साथ दिने हो। हाम्रा लागि सरकारभन्दा एजेण्डा ठुलो हो,' उनले भने। जसपाका नेताहरुका अनुसार ओलीले जसपालाई कम्तीमा पनि आफूविरुद्ध हुनसक्ने गठबन्धनबाट टाढा राख्न खोजेका छन्।

तर, जसपा भित्रकै एउटा समूह डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगाएतका नेता ओलीलाई पदबाट हटाउने मोर्चामा आफ्नो पार्टीले निर्णय गर्ने दाबी गर्दै आएका छन्। यो किचलोका कारण हाल जसपा अनिर्णित देखिएको छ भने ठाकुर-महतो समूहले ओलीसँगको हिमचिम बढाएको छ। यद्यपि जसपा अहिले सरकार निर्माणबारे छलफलमा जुटेको छ भने कांग्रेसले पनि छलफललाई तीव्र बनाएको छ। यस्तो अवस्थामा प्रचण्डको पहल कतिको फलदायी हुने हो? त्यो भने भावी दिनले नै देखाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell