PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपत्यकामा अपराधको ग्राफ : बैंकिङ् कसुर बढ्दो, लकडाउनमा कस्ता कस्ता 'केस'?



सविन ढकाल

उपत्यकामा अपराधको ग्राफ : बैंकिङ् कसुर बढ्दो, लकडाउनमा कस्ता कस्ता 'केस'?

काठमाडौँ : काठमाडौं उपत्यकाभित्र भएका कुनै पनि ठूला आपराधिक घटनाले सिङ्गो देशलाई नै त्रसित पार्ने गर्छ। त्यतिमात्र होइन, सिंगो देशको सुरक्षामा समेत काठमाडौंले विशेष प्रभाव राख्छ। त्यसैले पनि काठमाडौं उपत्यकाभित्रको सुरक्षामा सबै सुरक्षा निकायको ध्यान सबैभन्दा धेरै खिचिएको हुन्छ।

प्रहरी प्रधान कार्यालय, महानगरीय अपराध महाशाखादेखि परिसरसम्मले घेरिएको काठमाडौं उपत्यका अपराधबाट अछुतो भने छैन। मुलुकको सबैभन्दा ठूलो जनसंख्या अटाउने शहर भएकाले पनि यस ठाउँमा अपराधको आकार पनि त्यसैअनुसारको छ। यहाँ हुने अपराधको प्रकृतिमा पनि फरकपन भेटिन्छ।

सुरक्षा निकायको बाक्लो उपस्थिति हुँदाहुँदै सडकमै महिलाको विभत्स हत्या हुनुले मुलुकको राजधानी अपराधको पनि केन्द्र भएको स्थापित गर्‍यो। शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड (खन्ती) प्रहार गरी हत्या भयो। त्यो पनि काठमाडौंको अनामनगर जस्तो व्यस्त सडकमा। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीले हत्या अभियोगमा मृतकका देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। रिसइबीका कारण आवेगमा हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। त्यतिमात्र होइन सडकमै एसिड प्रहार समेत राजधानीमै प्रहार भएका छन्। दिउँसो गोली हानेर व्यापारीको हत्या समेत भएको छ यही। त्यसैले सुरक्षाको बाक्लो उपस्थिति भएको उपत्यका काठमाडौं पनि अपराधबाट मुक्त हुने अवस्थामा भने छैन।

काठमाडौं उपत्यकाभित्र हुने हत्याको तथ्याङ्क हेर्दा यो लगातार बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकाभित्र ३४ जनाको हत्या भएको थियो। चालु आर्थिक वर्षको चैत महिनासम्म नै ३५ जनाको हत्या भइसकेको प्रहरीको तथ्याङ्कले देखाउँछ। आत्महत्या, बैङ्किङ कसुर, अपहरणजस्ता घटना काठमाडौं उपत्यकाभित्र बढेर गएको छ।

गएको आर्थिक वर्षको धेरै समय लकडाउनमा नै बित्यो। मानिसहरु घरभित्र नै रहे। त्यसैको असर हो, काठमाडौं उपत्यकाभित्र हुने चोरीजस्ता घटनामा कमी आयो। तर, लकडाउनमा अपराधिक गतिविधि कायमै रह्यो।

लकडाउन भित्रका अपराध

गत वर्ष सरकारले चैत ११ गतेदेखि देशभर नै लकडाउन जारी गर्‍यो। लकडाउन हुँदा मानिस घरभित्रै थुनिए। जसले गर्दा काठमाडौं उपत्यकाभित्रको अपराध कम देखियो। घटनाको उजुरी दिन जान समेत समस्या हुने देखेर मानिस प्रहरीकहाँ पुगेनन्। जसले गर्दा केही दिन त काठमाडौं उपत्यकाभित्रको अपराध शून्यमा झर्‍यो।

प्रहरीको ६ दशक इतिहासमा नै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत खाली भयो। अदालतले गम्भीर प्रकृतिका र पक्राउ गरी थुनामा नराखी नहुनेबाहेक अन्य घटनामा पक्राउ नगर्न भनेको थियो। त्यस्तै, धरौटी, हाजिरी जमानीमा छोड्न मिल्ने थुनवालाई पनि आवश्यक प्रक्रिया मिलाएर छोड्न भनेकाले पनि हिरासत लकडाउन र कोभिड सङ्क्रमण एकैसाथ हुँदा रित्तो बन्न पुग्यो

तर, लकडाउनको समय बढ्दै र कोभिड संक्रमणदर घट्नै गएपछि शून्य भएको भनिएको अपराधको दरमा पारो चढ्न थाल्यो। त्यसपछि फेरि हत्या, चोरी, सवारी ज्यान, आत्महत्याका घटनाहरु प्रहरीकहाँ दर्ता हुनेक्रम बढ्यो।

२०७७ साल वैशाखमा काठमाडौं उपत्यकाभित्र १ जनाको हत्या भयो। अघिल्लो वर्षको वैशाखमा यही समयमा ५ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। यसरी अपराध घट्नुमा प्रहरीले आफ्नो सक्रियता भएको दावी गर्छ। तर, यसमा लकडाउन र टोल टोलमा पुगेको प्रहरी अनि मानिस बन्द घरभित्र थुनिँदाको परिणाम नै मुख्य कारण देखिन्छ।

त्यसपछि लकडाउन जारी भएको जेठ, असार र साउनमा अघिल्लो वर्षको तुलनामा हत्याका घटना कमी नै भए। असारमा ४ जनाको हत्या भएको देखिन्छ। अघिल्लो साल अर्थात् २०७६ को असारमा ९ जनाको हत्या भएको थियो। भदौ, असोज, कार्तिक, मङ्सिरमा हत्याको दर अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढ्यो। यतिखेर सरकारले लकडाउन खुल्ला गरेको थियो। भदौदेखि नै लकडाउन आंशिकरुपमा खुल्ला भइसकेको थियो। गएको माघ र फागुन महिनामा हत्याको सङ्ख्या घट्यो। तर, चैत महिनामा भने ६ गुणाले हत्या बढ्यो। अर्थात् एक महिनामा ७ जनाको काठमाडौं उपत्यकाभित्र हत्या भयो। जबकि अघिल्लो वर्षको (२०७६) चैतमा १ जनाको मात्र हत्या भएको थियो।

हत्या मात्र होइन आत्महत्याको घटनामा समेत लकडाउने केही प्रभाव पारेको देखिएको छ। लकडाउनको समय वैशाख र जेठमा आत्महत्या अघिल्लो वर्षको तुलनामा घट्यो। वैशाखमा ३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। तर, लकडाउन नभएको वर्षको वैशाख महिनामा ७२ जनाले आत्महत्या गरेका थिए। जेठ महिनाको ५१ जनाले आत्महत्या गरे अघिल्लो वर्षको जेठ (२०७६)मा ५६ जनाले आत्महत्या गरेका थिए।

असार र साउन महिनामा भने आत्महत्याको दर ४८ र २३ प्रतिशतले बढ्यो। त्यसपछि पुस महिनासम्म आत्महत्याको दर घटेर गयो। २०७६ भदौमा ६२ जनाले आत्महत्या गरेका थिए। २०७७ को भदौमा यो सङ्ख्या घटेर ३७ मा झर्‍यो। असोजमा पनि १ जनाले कमी आयो।

गएको चैतमा ५२ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा भेटिन्छ। २०७६को चैतमा भने ४६ जनाले आत्महत्या गरेका थिए। काठमाडौं उपत्यकाभित्र लकडाउन भएको वर्ष र अघिल्लो वर्षको तुलना गर्दा आत्महत्या घटेको देखिन्छ।

लकडाउनको समयमा अपहरणको घटनामा खासै फरक देखिएन। एक जनाको अपहरण भयो। तर, जबर्जस्ती करणीका घटनामा भने फरक प्रवृत्ति देखियो। अघिल्लो वर्षको तुलनामा जबर्जस्ती करणकी घटना घट्यो। २०७६ वैशाखमा काठमाडौं उपत्यकाभित्र जबर्जस्ती करणका २४ वटा घटना दर्ता भएका थिए। कोभिडको वर्ष भनिएको वैशाख महिनामा भने ११ वटा घटना भए। जेठमा पनि अघिल्लो वर्षको तुलनामा २० बाट १० वटामा घट्यो। असार २८ बाट घटेर ३३ मा पुग्यो। साउनमा ४० वाट २४, भाद्रमा ३४ वाट १६, असोजमा २० वाट १६ मा पुगेको देखिन्छ। मङ्सिर महिनामा भने गत वर्षको तुलनामा १६ वटाबाट बढेर १९ पुगेको प्रहरीले जानकारी दिएको छ। पुस महिना पनि जबर्जस्ती करणीको उजुरी गर्नेको सङ्ख्यामा कमी आयो २७ जनाबाट घटेर १९ भयो। माघ महिनामा भने १४ बाट बढेर २३ मा पुगेको देखिन्छ। फागुनमा १० वटाले कमी आयो। २४ वाट घटेर १४ मा पुग्यो। यसरी हेर्दा लकडाउनमा जबर्जस्ती करणीको घटना कमी आयो।

लकडाउन(२०७७) र २०७६ लाई तुलना गर्दा लकडाउनको समयमा काठमाडौं उपत्यकाभित्र हुने हत्या, आत्महत्या, चोरी, ठगी, बैकिङ कसुर, जबर्जस्ती करणि लगायतका अपराधमा कमी आएको देखिएको छ। हत्यादेखि चोरीसम्मका  विभिन्न ११ वटा अपराधलाई हेर्दा २०७६ वैशाखमा ८ सय ७० वटा घटना भएका छन्। लकडाउन भएको वैशाखमा भने १ सय ८६ वटा घटना भए। जेठमा ६ सय ३३ वटा घटनाबाट घटेर २०७७ जेठमा १ सय ७० मात्र देखियो। त्यतिखेर सरकारले लकडाउन कडा बनाएको थियो।

असार महिनामा पनि १ हजार ४६ वटा घटनाबाट घटेर ३ सय ९९ मा रोकियो। तर, गएको चैत र अघिल्लो चैतको तुलना गर्दा भने अपराध बढेको देखिन्छ। ३ सय २ वटा बाट बढेर ६ सय ६७ कायम भएको छ।

तीन वर्षे काठमाडौं उपत्यकाभित्रको अपराध

गएका तीन वटा आर्थिक वर्षको अपराध रेकर्ड हेर्दा काठमाडौं उपत्यकाभित्र कर्तव्य ज्यान, चोरी, ठगी, सवारी ज्यान, जबर्जस्ती करणीका केस देखिन्छ। तीन वटा आर्थिक वर्षमध्ये कुनैमा कम र कुनैमा बढेको पनि छ। त्यस्तै, कर्तव्य ज्यान, आत्महत्या, बैङ्किङ कसुर भने बढेको छ।

आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा ५६ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/७६ मा यो सङ्ख्या घटेर ५३ भयो। आर्थिक वर्ष २०७६/७७ मा झनै घट्यो। ३४ जनाको मात्र हत्या भयो। तरङ चालु आर्थिक वर्षमा भने अघिल्लो वर्षको तुलनामा बढ्ने देखिएको छ।

गएको तीन आर्थिक वर्षमा १ हजार ६ सय जनाले काठमाडौं उपत्यकाभित्र आत्महत्या गरेका छन्। औशत प्रत्येक वर्ष ५ सय ३३ जनाले आत्महत्या गरेको देखिन्छ। दैनिक १ जना भन्दा बढी मानिसले आत्महत्या गरेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा ५ सय ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३९ जनाले आत्महत्या गरे। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या झनै बढ्यो र ५ सय ५५ पुग्यो।

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै चोरीका घटनाले मानिसमा त्रास फैलाएको छ। रातको समयमा भन्दा दिउँसोमा घर तथा कोठामा कोही नभएको मौका छोपेर चोरी गर्ने प्रवृत्ति देखिन्छ। तीन वर्षमा १ हजार ‍९ सय ९१ स्थानमा चोरी भएका छन्। आर्थिक वर्ष २०७४/७५ मा ४ सय ४४ वटा चोरीका घटना भएको देखिएको छ। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा दोब्बरले चोरीको सङ्ख्या बढ्यो। ८ सय ८८ स्थानमा चोरी भए। आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा केही घट्यो। ६ सय ५९ स्थानमा मात्र चोरी भयो।

बैङ्किङ कसुरको अपराध भने ह्वातै बढेर गएको देखिन्छ। तीन आर्थिक वर्षमध्ये पहिलो वर्षमा ४ सय ८७ वटा अपराध भए। आर्थिक वर्ष २०७५/७६मा भने झन्डै पाँच गुणाले बढेर २ हजार ५ सय ६६ पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७६/७७ मा फेरी बैकिङ कसुर अपराध बढेर २ हजार ९ सय १० पुग्यो।

अघिल्लो दुई वर्षमा अपहरणको घटना नभएको प्रहरीको तथ्याङ्कले देखाएको छ। तर, आर्थिक वर्ष २०७६\७७मा भने दुई जनाको अपहरण भएको देखिएको छ। अपहरण पछि हत्या भएका घटनालाई प्रहरीले हत्या भनेर तथ्याङ्कमा राखेको छ।

काठमाडौं उपत्यकाभित्र जबर्जस्ती करणीका सबैभन्दा धेरै हुने घटनामा पर्न थालिसकेको छ। आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकाभित्र १ सय ८६ जनाको जबर्जस्ती करणी भयो। आर्थिक वर्ष २०७५/७६ मा यो दर बढेर २ सय ९६ पुगेको छ। आर्थिक वर्ष २०७६/७७ मा केही घटेर २ सय ६६ पुगेको छ।

ठगीबाट पनि मानिस पीडित भएका छन्। तीन वर्षमा ८ सय १० वटा ठगीका घटना प्रहरी समक्ष पुगेको देखिन्छ। सवारी ज्यानमा ५ सय २८ वटा घटना भएको छ।

यसरी हेर्दा तीन वर्षमा सबैभन्दा धेरै बैङ्किङ कसुरका अपराध भएका छन्। यस्ताखाले अपराध अबका दिनमा पनि बढ्ने अनुमान गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell