PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'श्वास'को छैन अभाव : २४ घण्टै सञ्चालनमा छन् अक्सिजन प्लान्ट

'श्वास'को छैन अभाव : २४ घण्टै सञ्चालनमा छन् अक्सिजन प्लान्ट

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू छ। कोभिड १९ संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण गतिबिधिमा रोक लगाएका छन्। सडकमा भीडभाड देखिँदैन। 'चेन ब्रेक' गर्न जारी गरिएको निषेधाज्ञामा मानिसहरु घरभित्रै बस्न बाध्य छन्।

तर बालाजुको सडकको दृश्य भने दिनको दुई समय फरक देखिन्छ।

कार्यालय समयमा बालाजुमा मानिसहरुको आवतजावत बाक्लिन्छ। धेरै जसो कामदार हिँड्दै पुग्छन् बालाजु ओद्योगिक क्षेत्र। अरु क्षेत्र बन्द भए पनि औद्योगिक क्षेत्रभित्र रहेका काराखाना सञ्चालित छन्। जसमध्ये एक हो अक्सिजन प्लान्ट।

औद्योगिक क्षेत्रभित्र रहेको शंकर अक्सिजन ग्यास प्रालि अहिले २४ घण्टा नै सञ्चालन भइरहेको छ। सिफ्ट अनुसार कामदार कार्यालय पुग्छन्।

कोरोनाको दोस्रो लहर सुरू भएसँगै काठमाडौंमा अक्सिजनको खपत र माग बढेको छ। सामान्य समयमा दिनमा १०० सिलिन्डरको माग हुने गरेको थियो। तर अहिले भने त्यो संख्या १ हजार पुगेको बताउँछन् उद्योगका निर्देशक शम्भु भण्डारी।

सम्बन्धित समाचार : कोरोना संक्रमित बिरामीसँगै बढ्यो अक्सिजनको माग, कति छ हाम्रो क्षमता?

भारतका अस्पतालहरुमा अक्सिजन अभाव भएर संक्रमितहरुको उपचार प्रभावित भएसँगै नेपालमा पनि त्यस्तै अवस्था हुन सक्ने भन्दै पूर्व तयारी गर्नुपर्ने माग उठेको छ। त्यसैले अक्सिजन उद्योगहरुलाई तयारी अवस्थामा राख्नुपर्ने जनस्वास्थ्यविदहरुले बताउँदै आएका छन्।  

हाल काठमाडौं उपत्यकाका अस्पतालहरुमा रहेका अधिकांश संक्रमितहरुलाई अक्सिजन सपोर्टमा राखिएको छ। अस्पतालमा पुग्ने तर बेड नपाएका संक्रमितलाई समेत आवश्यक भए अस्पताल बाहिरै अक्सिजन प्रदान गरिँदै आएको छ। आउने दिनमा अक्सिजन अभाव हुन सक्ने डरले मानिसहरुले घरमै अक्सिजन स्टक समेत राखेको बताइन्छ। त्यसैले अक्सिजनको 'डिमान्ड' बढ्दै गएको हो।

शंकर उद्योगले भने माग बढेपछि सिलिन्डर भण्डारण गर्ने क्रम पनि बढाएको भण्डारीले बताए। साथै अहिले नयाँ सिलिन्डर बिक्री समेत रोकेको उनले जानकारी दिए। अहिले उक्त उद्योगले अर्को अक्सिजन प्लान्ट समेत निर्माण गरिरहेको छ।

सरोकारवालाहरु भने नेपालमा अक्सिजन उत्पादनको कमी नभएको दाबी गर्छन। नेपाल अक्सिजन ग्यास उत्पादक संघले  उद्योगहरुमा अक्सिजन  पर्याप्त रहेको जनाएको छ। हाल उपत्यकामा मात्र ८ वटा र उपत्यकाबाहिर १८ वटा प्लान्टहरुबाट अक्सिजन उत्पादन भइरहेको छ। जसमा दैनिक ८ हजारभन्दा बढी सिलिन्डर उत्पादन हुँदै आएको छ।

कोभिडको संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना हुने बिरामीको संख्या दैनिक थपिँदा स्वास्थ मन्त्रालयबाट अक्सिजन उद्योगमा समन्वय गरी दैनिक ६ हजार सिलिन्डरको माग गरेको संघले जनाएको छ। संघका अनुसार मन्त्रालयले हालका लागि दैनिक ५ देखि ६ हजार सिलिन्डर पर्याप्त  रहेको जनाएको छ।

सम्बन्धित समाचार : सास फेर्नको सकस : अक्सिजन सिलिन्डर होल्ड गर्दा आवश्यकलाई पुर्‍याउनै कठिन

दैनिक आवश्यक मात्रामा अक्सिजन पुर्‍याउन समक्ष रहेको बताउने अक्सिजन प्लान्टहरु अक्सिजन सिलिन्डरको भने अभाव रहेको छ। अक्सिजन नेपालमै उत्पादन हुने भए पनि सिलिन्डर भारत र चीनबाट आयात हुँदै आएको छ। संघले स्वास्थ मन्त्रालयलाई २० हजारदेखि ४० हजार सिलिन्डर ल्याउन दिन माग गरेको छ। तत्कालको लागि समस्या नभए पनि पछि चाहिन सक्ने भएकाले सिलिन्डरको व्यवस्था पहिले हुनुपर्ने सरोकालवाला बताउँछन्। उद्योगीका अनुसार पर्याप्त संख्यामा सिलिन्डर भए आगामी दिनमा जस्तोसुकै माहामारी  भए पनि अक्सिजनको आपूर्ति व्यस्थामा संकट आउँदैन।



ट्रेन्डिङ पोस्ट

Ncell