PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल सुपर लिग : शीर्षस्थान संघर्षमा तीन टिम अघिअघि, दुई टिम पछिपछि, दुई टिमले निकाल्नै सकेन जित



मुकुन्द घिमिरे

नेपाल सुपर लिग : शीर्षस्थान संघर्षमा तीन टिम अघिअघि, दुई टिम पछिपछि, दुई टिमले निकाल्नै सकेन जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को चौथो चरण सकिएको छ। आजबाट पाँचौ चरणको खेल सुरु हुँदै गर्दै शीर्षस्थानका लागि भने प्रतिस्पर्धा उच्च देखिएको छ। चौथो चरण सकिँदा शीर्ष तीनमा रहेका तीन टोलीहरुको समान ७ अंक छ। त्यस्तै चौथो र पाँचौ स्थानमा रहेका बुटवल लुम्बिनी र पोखरा थण्डर्सको समान ५/५ अंक छ भने प्रतियोगितामा जितबिहीन ललितपुर सिटी र एफसी चितवन ३ र २ अंकसहित सबैभन्दा पछाडि छन्।

तालिकाको शीर्षस्थानमा विराटनगर कायम छ। ४ खेल खेलेको विराटनगरले २ जित, १ हार र १ बराबरी खेल्दै ७ अंक जोडेको छ। आफ्नो पहिलो खेलमै प्रतियोगितामा हेभिवेट मानिएको धनगढीमाथि ३-० को सानदार जित निकालेको विराटनगरले दोस्रो खेलमा पोखरासँग १-० ले पराजित हुन पुगेको थियो। त्यस्तै तेस्रो खेलमा बुटवलसँग २-२ को बराबरीमा रोकिएको विराटनगरले पछिल्लो खेलमा एफसी चितवनलाई २-० ले हरायो।

त्यस्तै दोस्रो स्थानमा रहेको धनगढीले ४ खेल खेल्दा २ जित, १ बराबरी र १ हार ब्यहोरेको छ। प्रतियोगितामा आफ्नो पहिलो खेलमै विराटनगरसँग ३-० को फराकिलो हार व्योहोरेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३-० ले नै हराउँदै उत्कृष्ट जित निकाल्यो। त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग १-१ को बराबरीपछि पछिल्लो खेलमा एफसी चितवनमाथि ३-० को फराकिलो जित निकालेको थियो।

तालिकाको तेस्रो स्थानमा रहेको टोली हो काठमाडौं रेजर्स। खेलतालिका विश्लेषण गर्ने हो भने सबैभन्दा फाइदा रहेको टोली। उद्घाटन खेलमै ललितपुर सिटीमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको रेजर्सले दोस्रो खेलमा धनगढीसँग ३-० को हार व्योहर्‍यो। त्यस्तै तेस्रो खेलमा पोखरासँग गोलरहित बराबरीमा रोकिएको काठमाडौैले हिजोको खेलमा बुटवल लुम्बिनीमाथि १-० को साँघुरो जित निकाल्दै शीर्ष तीनमा पुगेको हो।

नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

त्यस्तै चौथो र पाँचौ स्थानमा ५ अंक जोडेका बुटवल लुम्बिनी र पोखरा थण्डर्स छन्। बुटवल लुम्बिनीले आफ्नो पहिलो खेलमा पोखरालाई हराएको थियो भने दोस्रो खेलमा चितवनसँग र तेस्रो खेलमा विराटनगरसँग बरारबरी खेलेको थियो। त्यस्तै हिजोको खेलमा काठमाडौंसँग १-० ले पराजय ब्यहोरेको थियो। उता पोखराले बुटवलसँग पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा विराटनगरमाथि जित निकालेको पोखराले तेस्रो र चौथो खेलमा काठमाडौं र ललितपुरसिटीसँग बराबरी खेलेको थियो।

त्यस्तै प्रतियोगितामा ठूलो लगानी गरेका ललितपुर सिटी र एफसी चितवन जितविहीन छन्। ललितपुरले ४ खेलमध्ये ३ बराबरी र १ हार निकालेको छ भने एफसी चितवनले २ बराबरी र दुई हार व्यहोरेको छ। खेलमा जित निकाल्न नसकेपछि ललितपुरका मुख्य प्रशिक्षकबाट प्रदीप हुमागाईले पद नै छाडेका छन्

झण्डै आधा खेल बराबरी

प्रतियोगितामा अहिलेसम्म १४ वटा खेल भएका छन् जसमा ६ वटा खेल त बराबरीमै अंक बाँडेका छन्। खेल बराबरीमा रोक्न ललितपुर सबैभन्दा अगाडि छ। ललितपुरले आफ्ना ४ खेलमध्ये ३ खेल त बराबरी नै खेलेको छ। त्यसपछि धेरै बराबरी खेल्नेमा चितवन, पोखरा र बुटवल रहेका छन्। तीनै टिमले समान २/२ खेल बराबरी खेलेका छन्।

धेरै गोलका कुरा

प्रतियोगितामा सबैभन्दा धेरै गोल विराटनगर र धनगढी अगाडि छन्। दुबैले ४ खेलमा समान ७ गोल गरेका छन्। खेलाडीतर्फ धनगढीका ओलावाले अफिज ४ गोल गर्दै सबैभन्दा अगाडि छन्। त्यस्तै विराटनगरका सन्तोष तामाङले तीन गोल गर्दा  पेड्रो माञ्जीले  २ गोल गरेका छन्। त्यस्तै बुटवल लुम्बिनीका लक्ष्मण रुचालले पनि २ गोल गरेका छन्।

आज धनगढीलाई पोखराको चुनौती

लिगमा आज हुने खेलमा धनगढी एफसीलाई पोखरा थण्डर्सले चुनौती दिनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell