काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा गरेको ‘लफडा’लाई लिएर विराटनगर सिटी एफसीले माफी मागेको छ। खेलको बीचमै खेलाडीहरुलाई मैदानबाहिर बोलाउने निर्णय खेलाडीको नभएर व्यवस्थापनको भएको भन्दै विराटनगरले माफी मागेको हो।
‘एउटा सुन्दर खेलको स्पीरिटलाई बिगार्ने हाम्रो इन्टेनसन थिएन’, विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले समर्थक, शुभचिन्तक र फुटबल परिवारमा परेको ‘हर्ट’ लाई महसुस गरेको छ।’
यद्यपि घुमाउरो पारामा रेफ्रीको निर्णयलाई लिएर अझै असन्तुष्ट रहेको विराटनगरले स्पष्ट पारेको छ। प्रतियोगितामा आफ्नो क्लबमाथि भएका गलत निर्णयहरु बारे अपिल गर्दा नसुनिएको भन्दै विराटनगरेल उल्लेख गरेको छ: यसले एनएसएलको स्तरमाथि लैजाँदैन।
के भएको थियो?
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको थियो।
खेलमा अग्रता ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिस्टको गोलमा गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि पहेँलो कार्ड खाएका थिए।
पहिलो हाफमा एक गोलले अघि रहेको ललितपुरका लागि दोस्रो हाफमा विमल रानाले गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा तनावको स्थिति उत्पन्न भएको थियो। विराटनगरका अफिसियलहरु झगडामै उत्रिएका थिए भने खेलाडीहरुलाई पनि मैदानबाहिर बोलाएका थिए।
पेड्रो माञ्जीलाई छाडेर अन्य विराटनगरका खेलाडीहरु मैदान बाहिर गएका थिए। झगडा साम्य पार्न एनएसएलका आयोजकहरु त्यहाँ पुगेका थिए। त्यसको केहीबेरमा खेल सुरु त भयो तर खेल सुरु हुनसाथ विराटनगरले फ्रिकिक जित्यो त्यसमा ललितपुरका खेलाडी असन्तुष्ट हुँदै रेफ्रीसँग अपिल गरे।
तर, खेलाडी खेलाडीबीच पनि केहीवेर तनावको स्थिति केहीबेर रह्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा कप्तान रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि विराटनगर १० खेलाडीमा सीमित भएको थियो।
ललितपुरका लागि तेस्रो गोल अन्जन विष्टले खेलको ८१ औं मिनेटमा गोल थपे भने नुर्लान नोब्रुजोभ अतिरिक्त समयमा गोल थप्दा खेल ललितपुरले आफ्नो पक्षमा पार्यो।
खेलपछि पनि विराटनगरका प्रशिक्षक यान ल ले रेफ्रीको क्षमतामाथि प्रश्न उठाउँदै स्कुल स्तरको प्रतियोगिता गर्ने किसिमको भएको तर्क गरेका थिए। भारतमा आईलिगमा समेत प्रशिक्षण गराइसकेका उनले यसअघि पनि रेफ्रीले विवादित निर्णय गरेको भन्दै आलोचना गरेको थिए। ल ले मात्र होइन प्रतियोगिताका क्रममा अन्य क्लबका प्रशिक्षकहरुले पनि रेफ्रीको निर्णयलाई लिएर आलोचना गर्दै आएका छन्।
