PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दिल्लीको दिलचस्पी ओलीमा : भारतकै लागि प्रत्युत्पादक हुने वुद्धिजीवीको टिप्पणी



पहिलोपोस्ट

दिल्लीको दिलचस्पी ओलीमा : भारतकै लागि प्रत्युत्पादक हुने वुद्धिजीवीको टिप्पणी

काठमाडौं : नेपालको पछिल्लो घटनाक्रमलाई लिएर नोट गरिरहेको टिप्पणी गरेको भारतीय सरकारले नेपालको मामिलामा हस्तक्षेप गरिरहेको भारतीय मिडिया तथा वुद्धिजीवीले टिप्पणी गर्ने क्रम बढेको छ। 

भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सदस्य सुव्रमन्यम स्वामीले सार्वजिनक रुपमै भारतको साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको र प्रचण्ड वा अरु प्रधानमन्त्री बने चीनतर्फ जाने उल्लेख गरेका छन्।


सम्बन्धित समाचार:

नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन


त्यस्तै, पछिल्लो प्रतिनिधिसभा विघटनपछि नेपाल मामलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन दिइरहेको टिप्पणी गरेका छन्।

भारतको सञ्चार माध्यम दी ललनटपमा मुनीले ओलीलाई समर्थन गर्नु भारतको हितविरुद्ध हुने पनि टिप्पणी गरेका छन्।

‘भारत सरकार ओलीलाई समर्थन दिइरहेको छ,’ जेएनयूका एमिरिटस् प्राध्यापक मुनीले भनेका छन्, ‘यो भारतको हित विरुद्ध छ।’ भारतले चीनको प्रभाव कम गर्ने आँकलनका साथ अहिलेको कदम चालिरहेको उनको टिप्पणी थियो।

प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा समेतका नेतामाथि चीनको प्रभाव रहेको भारतको बुझाई रहेको मुनीको टिप्पणी छ। ‘ओली विरोधी विपक्षीमा चीनको प्रभाव छ भन्ने भारतको आशंका छ। चीनको प्रभाव कम गर्न सकिन्छ भनेर भारतले ओलीलाई साथ दिइरहेको छ,' उनले भनेका छन्।

अर्कोतिर, भारतकै संस्थापन पक्षका नेताहरुले पनि ओलीलाई भारतको समर्थन हुनु भारतकै लागि हितकर नभएको टिप्पणी गर्न थालेका छन्। यसलाई नेपालमा भारत विरोधी सेन्टिमेन्ट बढ्दै गएको समेत उनीहरुको बुझाई छ।

नेपालका लागि पूर्व भारतीय राजदूत एवं विदेश सचिव श्याम शरणले यतिबेला काठमाडौंको राजनीतिक वर्ग र सर्वसाधारण भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्नेमा विश्वत रहेको बताएका छन्।

दी इन्डियन एक्सप्रेसमा लेख प्रकाशित गर्दै उनले पूरै नेपालको जनमतको बुझाइ यस्तो नभए पनि काठमाडौंको राजनीति र जनमत यसमा विश्वस्त रहेको उल्लेख गरेका हुन्।

उनले ओलीले नयाँदिल्लीमा रहेको भारतीय जनता पार्टीको सरकारसँग नेपाललाई राजतन्त्रको मातहतमा हिन्दु राष्ट्रमा पुनःस्थापना र चीनलाई किनारामा राख्ने वाचा गरेको बुझाइ नेपालमा रहेको पनि उल्लेख गरेका छन्। भारतले नेपालमा राजतन्त्र फर्काउन चाहेको हल्ला पनि चलेको उनले उल्लेख गरेका छन्।

भारतको राष्ट्रिय स्वयंसेवक संघ र अन्य हिन्दु नेताले नेपालमा राजतन्त्र फर्काउन सहयोग गर्न भनी दिएको अभिव्यक्तिलाई यसको बलियो प्रमाणको रुपमा लिइएको समेत उनले जनाएका छन्। साथै, पूर्व राजा ज्ञानेन्द्र शाहको कुम्भमेला भ्रमणले पनि यस्तो अन्दाजलाई बल पुगेको उनले उल्लेख गरेका छन्।

आफू नेपालको राजदूत हुँदा र पछि विदेश सचिव हुँदा केही पाठ सिकेको जनाउँदै उनले भारत नेपालसँग सबै तहमा इन्गेज हुनुपर्ने उल्लेख गरेका छन्।

उनले भारतले नेपालमा के भइरहेको छ भन्ने राम्रो मूल्याङ्कन गर्नुपर्ने र भारतको हित कसरी हुन्छ हेर्नुपर्नेमा जोड दिएका छन्। नेपालको राजनीतिक अनिश्चितता खुला सीमाले जोडिएको भारतका लागि सुखद् समाचार नभएको समेत बताएका छन्।

श्यामशरणले नेपालमा संविधान संशोधनका लागि ओली सहमत भएको र नागरिकता सम्बन्धी अध्यादेश जारी गर्नुले समेत यसलाई बल दिएको बताएका छन्। संविधान संशोधन र नागरिकताका विषयमा असहिष्णु रहेका ओलीले यसमा अगाडि बढ्नु मधेशी समुदायलाई खुशीक विषय भए पनि पहाडी समुदायमा शंका बढाएको टिप्पणी गरेका छन्।

'अहिलेको अध्यादेशले मधेशीलाई खुशी बनाउने छ। तर, ओली सत्ताबाट हटाइनासाथ यो उल्टो लाभ सावित हुनेछ,' उनले लेखेका छन्।


यो पनि पढ्नुहोस्:

सत्ता जोगाउन उदांगियो ओलीको राष्ट्रवाद: ‘भौगोलिक अखण्डता’ धरापमा, नागरिकता ‘चकलेट’ जस्तै वितरण गर्ने अध्यादेश


पूर्व सचिव श्यामशरणले भारत नेपालका सबै तह तथा राजनीतिक स्पेक्ट्रम इंगेज हुनुपर्ने बताएका छन्। 'केही सीमित नीतिले बाह्य प्रभावका लागि अवसर दिनेछन्,' उनले बाह्य प्रभावलाई विशेष गरी चीनको प्रभावका रुपमा राखेका छन्।

उनले कुनै पनि राजनीतिक नेतालाई मित्र र दुश्मनको रुपमा संज्ञा लगाउनु भारतकै लागि प्रतिउत्पादक हुने समेत टिप्पणी गरेका छन्। 'मेरो अनुभवमा जस्तोसुकै सीमित तथा अस्थायी उपलब्धी हात परे पनि यो सँधै प्रतिउत्पादक प्रमाणित भइसकेको छ। हामीले व्यक्तिलाई भन्दा पनि  नीतिलाई वकालत गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell