काठमाडौँ: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि माधव नेपाल पक्षमा रहेका शेरबहादुर तामाङ कहिले केपी शर्मा ओली त कहिले नेपाल पक्षमा उभिए। विधिवत रुपमा नेकपा फुटेर फरक पार्टी भएपछि यताउता गरिरहेका तामाङ अन्तत: नेपाल पक्ष छाडेर ओलीतिर लागे। तामाङ दम्पत्ति नै ओलीतिर ढल्किए। माधव नेपाल र झलनाथ खनालहरु जतिबेला सडकमा आन्दोलनरत थिए।
गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए। तर गत फागुन ८ गते उनीहरु फेरि ओली समूहमै फर्किए।
ओलीसँग फर्किएपछि तामाङले पहिलोपोस्टसँग अन्तर्वार्ताका क्रममा माधव नेपाल र झलनाथ खनालसमेत एमालेमा फर्कने बताएका थिए। त्यो दिन आयो पनि। तर अहिलेको अवस्थामा नेपाल र खनाल दुबै जनालाई पार्टीबाट निष्काशन गरिएको छ।
तामाङलाई भने ओलीले उपहारै उपहार दिएका छन्। सबैभन्दा पहिले तामाङकी श्रीमती उषाकला राईलाई केन्द्रीय सदस्य पद। त्यो पद राईले अस्वीकार गरिन्। पछि उनलाई प्रदेश मन्त्रीको पद दिइयो। राई प्रदेश १ मा सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छिन्। चैत १३ गते उनी मन्त्रीमा नियुक्त भइन्।
गुट फेरेका तामाङले एमाले कार्यालयको सचिवको जिम्मेवारी पनि पाए। वैशाख १० गते तामाङले उक्त जिम्मेवारी पाएका हुन्।
कुनै समय ओली मन्त्रीमण्डलबाटै रुँदै बिदा भएका तामाङले अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। बोली सम्हाल्न नसक्दा विवादमा तानिएपछि साउन ८, २०७५ मा उनी कानुन मन्त्रालयबाट रुँदै बिदा भएका थिए।
