PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

गाउँ अधिवेशनको छैन तयारी, तर देउवाको दाबी : महाधिवेशन २०७८ भदौमै हुन्छ, वक्तव्यमै आशंका



गाउँ अधिवेशनको छैन तयारी, तर देउवाको दाबी : महाधिवेशन २०७८ भदौमै हुन्छ, वक्तव्यमै आशंका

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरेका छन्। सभापति देउवाले आज एक वक्तव्य जारी गर्दै तोकिएकै समयमा १४ औं महाधिवेशन हुने दाबी पेश गरेका हुन्।

पार्टीभित्र समयमै महाधिवेशन गर्न नसकेको भनी पटकपटक प्रश्न उठेपछि देउवाले यस्तो वक्तव्य जारी गरेका हुन्। 'यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु - २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,' देउवाले भनेका छन्।

पार्टीमा रामचन्द्र पौडेल पक्षले समयमै महाधिवेशन गर्नका लागि दबाव दिइरहेको छ। काँग्रेसले तोकेको समयमा महाधिवेशन गर्न नसकेपछि अहिले संविधानको सहारा लिएर पार्टीको म्याद थप गरेको छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाले म्याद सकेर एक झन्डै डेढ वर्ष पुग्न लाग्दा पनि महाधिवेशन गर्न सकेका छैनन्। पुस ११, २०७६ मा पार्टीको विधानको असाधारण परिस्थितिको धारा ४३ प्रयोग गरी वर्ष दिन म्याद थपिएको थियो। त्यसपछि पनि म्याद सकिएपछि कांग्रेसले संविधानको साहरा लिँदै ६ महिनाको म्याद थप गरेको हो। पार्टीको महाधिवेशन भदौ ७ बाट १० गतेसम्म काठमाडौंमा आयोजना हुनेगरी तोकिएको छ। पटक पटक विवादमा आउने गरी महाधिवेशनको बारेमा प्रश्न उठाउन उचित नहुने देउवाको तर्क रहेको छ।

'पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु। महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु,' देउवाले विज्ञप्तिमार्फत भनेका छन्, 'पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्। महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन।'

देउवाले यसो भने पनि तोकिएको समयमै महाधिवेशन हुने सम्भावना भने टर्दै गएको देखिन्छ। पार्टीको क्रियाशील सदस्यताको टुंगो लागेको छैन भने समायोजन बाँकी नै छ। गाउँ अधिवेशन असार २० बाट शुरु हुने तय गरिएको छ। महाधिवेशन समयमै गरिने भनेर दाबी गरे पनि उनी आफैले वक्तव्यमै  समयमै महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन्।

'बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो। यसका लागि सबै जिम्मेवार हुनु पर्दछ। हामीसँग अब बढी समय छैन,' उनले भनेका छन्, 'आषाढ र श्रावण दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ। पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ। यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्। पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन्।'

उनले कांग्रेसका सबैलाई महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान समेत गरेका छन्।

जेठ १३ मा परेको थियो चर्काचर्की!

प्रेस युनियनको ३१ औं स्थापना दिवसमा जेठ १३ गते आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता पौडेलले कांग्रेस संकटमा परेको बताएका थिए। 'कांग्रेस अहिले संकटमा छ। चार वर्षपछि महाधिवेशन गर्नुपर्ने त्यो कटायौं। थप एक वर्ष पनि कटायौं,' पौडेलले भनेका थिए, 'असाधारण अवस्था पनि ६ महिना भदौमा सकिँदैछ।

कतिपय जिल्लामा क्रयाशील सदस्यको टुंगो लागेको छैन।' नेता पौडेलले पार्टीमा समायोजनको पनि टुंगो लागेको बताउँदै अगाडि दुईटा विकल्प रहेको बताए। 'एउटा जुन कुरा क्रियाशील टुंगो लागेको छ। उनीहरुबाटै प्रतिनिधि तोकेर महाधिवशेन गर्ने। चुनाव गर्नैपर्छ। किटान गरेर भनेको छ संविधानले।'

यता पार्टी प्रवक्ता विश्वप्रका शर्माले सोही दिन भर्चुअल रुपमै महाधिवेशन गर्न सकिने दाबी गरेका थिए। 'सकेसम्म भौतिक रुपमा महाधिवेशन गर्नुपर्छ। नभए नभए भर्चुअल रुपमै उद्घाटनदेखि मतदानसम्म सक्ने अवस्थामा पार्टीको सूचना तथा सञ्चार विभाग रहेको छ,' उनले भनेका थिए।

प्रवक्ता शर्मा पार्टीको सूचना तथा सञ्चार विभागको प्रमुख पनि हुन्। 'सभापतिको निर्देशन भएमा हामी त्यो पनि गर्न सक्छौ,' उनले भनेका थिए। देउवाले बुधवार जारी गरेको विज्ञप्तिमा महाधिवेशन कसरी गर्ने भन्नेबारेमा केही खुलाएका छैनन्।

पार्टीको महाधिवेशनबारे उठेको प्रश्नमा देउवाले आफू कलंकको टीका नलगाउने पक्षमा रहेको बताएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भनेका थिए, 'कुनै किसिमको अधिवेशन शेरबहादुरले गरेन भनेर कलंक म कुनै हालतमा टाउकोमा राख्न चाहन्न।'

पौडेलप्रति आक्रोशित हुँदै उनले भनेका थिए, 'पार्टीको अधिवेशन हुनुपर्छ भन्नेमा म तपाईँभन्दा अगाडि छु। तपाईँमात्र लड्या मान्छे हो? कोभिड आइदियो के गर्ने? सल्लाह गरौं न मलाई केही छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell