PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ज्युँदै मान्छेको छिनाइयो खुट्टा कि मरेकोबाट झिकियो नलिहाड? बौद्ध प्रकरणमा प्रहरीले तयार पार्‍यो अभियुक्तको स्केच



सविन ढकाल

ज्युँदै मान्छेको छिनाइयो खुट्टा कि मरेकोबाट झिकियो नलिहाड? बौद्ध प्रकरणमा प्रहरीले तयार पार्‍यो अभियुक्तको स्केच

काठमाडौं : जेठ २५ गते काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको गुहेश्वरी टाउन प्लानिङमा भेटिएको मानिसको एउटा खुट्टाले प्रहरीलाई अनुसन्धानका लागि तनावको स्थिति बनायो। हत्या गरेर फ्याकिएको हो या खुट्टा मात्र काटेर फ्याँकेको हो? अनुत्तरित प्रश्नको खोजीमा प्रहरी जुटिरहेको छ। 

अहिलेसम्मको अनुसन्धानमा प्रहरीले चार जना शंकास्पद व्यक्तिको पहिचान गरेर खोजी गरिरहेको छ। चार जना मानिसले खुट्टा भएको बोरा ल्याएर फ्यालिएको दृश्य सीसी क्यामरामा कैद भएपछि उनीहरूको खोजी सुरु भएको हो।

जेठ २५ गते प्रहरीले बिहान ७ बजे खाली जग्गामा बोरोमा पराल सहित पोको पारेको अवस्थामा मानिसको खुट्टाको भाग फेला परेको थियो।

क्यामराको फुटेज अनुसार केही दिन अघि राति १२ बजेर ६ मिनेटको जाँदा चार जनाले सोही स्थानमा ल्याएर बोरा फ्यालेको देखिएको छ। प्रहरीले बोरा फ्याल्नेमध्ये एक जना मुख्य अभियुक्त हुनसक्ने ठम्याएको छ। र, उसको स्केच समेत तयार पारिसकेको छ।

'स्केच बनाइसकेका छौँ। अब त्यही स्केचको आधारमा अभियुक्तको खोजी गर्ने छौँ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
अहिले घटनाको अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी वृत्त बौद्धको टोली परिचालन भइरहेको छ। दैनिक ५० देखि ६० जना प्रहरी घटनाको अनुसन्धानमा खटिएका छन्। शरीरको अन्य भाग कतै फ्यालिएको फेला पर्ने आशंकामा प्रहरीले घटनास्थाल वरपर र वाग्मती खोला किनारका छेउछाउमा समेत 'सर्च' गरिरहेको छ।

त्यस्तै, प्रहरी घटनास्थलमा खुट्टा भेटिएको केही दिनअघि उपस्थित भएका शंकास्पद मानिसहरू माथि पनि अनुसन्धान गरिरहेको छ। मोबाइलको कल लोकेसन लगायत अन्य टेक्निकल पक्षबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अपरिचितको शरीर अङ्ग, अनुसन्धानमा सकस : कसरी पुग्ला प्रहरी टुङ्गोमा?

घटनाको अनुसन्धान गर्न केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जमा प्रहरीको तालिम प्राप्त कुकुर समेत खटाएको थियो। तर, प्रहरीको कुकुरले कुनै सङ्केत गर्न सकेको थिएन। त्यसैले प्रहरीले खुट्टा भेटिएको अघिल्लो दिनदेखि १५ दिनको सीसी क्यामरा फुटेज र मानिसको मुभमेन्टलाई लिएर अनुसन्धान गरिरहेको छ।

खुट्टा वयस्क व्यक्तिको भएको चिकित्सकहरूले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन्। त्यस्तै, खुट्टाको प्रकृति हेर्दा महिलाको हुनसक्ने भन्दै चिकित्सकले प्रहरीलाई जानकारी दिएको छ। अहिले भेटिएको खुट्टाको डीएनए परीक्षण भइरहेको छ। महिलाको खुट्टा भएको पहिचान भएपछि प्रहरीले हराएर प्रहरीमा उजुरी परेका वयस्क महिलाको विवरण समेत निकालेर अनुसन्धान अगाडि बढाएको छ।

'हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। केही क्लु फेला परेको छ। खुट्टा महिलाको हुनसक्ने चिकित्सकले प्रारम्भिक जानकारी दिएका हुन्,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

खुट्टा कसको हो भनेर खुल्न नसक्दा अहिले प्रहरी अनुसन्धान निकै जटिल बन्दै भएको छ। मृतकको सनाखत भएको भए अनुसन्धानमा लिड मिल्ने अनुसन्धान अधिकृत बताउँछन्। तर, पहिचान नै हुन नसक्दा अन्य विधिबाट अनुसन्धान गरिरहनु परेको छ प्रहरीले।

घटना मर्डर कि अन्य अपराध?

बोराभित्र पराल राखेर खुट्टा फ्यालिएको अवस्थामा प्रहरीले फेला पारेको हो। घुँडाभन्दा तलको भाग मात्र फेला परेको ट। खुट्टा केही डढेको अवस्थामा थियो, भेटिँदा। खुट्टाको प्रकृति हेर्दा मृत्यु भएको दुई देखि तीन हप्तासम्म हुनसक्ने घटनास्थल पुगेका चिकित्सकले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले अहिले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। घटना हत्या नभएर अन्य अपराध हुनसक्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। बोरामा भेटिएको खुट्टामाभित्र पट्टीको नली खुट्टा नभेटिनुले हत्या नभएर अरू नै केही हुनसक्ने आशंकामा प्रहरी पुगेको हो।

'मारेर शव व्यवस्थापन गर्न फ्यालेको भए खुट्टाको हड्डी किन त्यसरी निकाल्छ? यसमा अरू कारण पनि हुनसक्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

तान्त्रिक पूजा तथा फेरी लगाउँदा नलीखुट्टाको प्रयोग हुने सुनिएकाले पनि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ। मरिसकेको मानिसको शरीरबाट हड्डी निकालेको वा कुनै चिहानबाट शव निकालेर खुट्टाको हड्डी झिकेर बाँकी भाग फ्यालेको पनि हुनसक्ने प्रहरीको दावी छ।

कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?

प्रहरी आशङ्कालाई देशमा बढेको कोरोना सङ्क्रमण र मृत्युदरले पनि झन् बलियो बनाएको छ। वाग्मती किनारमा सङ्क्रमणबाट दैनिक २० जना भन्दा बढीको दाहसंस्कार भएको थियो। त्यहाँबाट पनि कसैले अर्ध जलेको शवबाट खुट्टा ल्याएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ। 'अहिलेसम्म कोही पनि व्यक्तिले हराएको वा अन्य आशंकमा बुझ्न हामीसँग आइपुगेका छैनन्। त्यसैले अन्य कोणबाट पनि अनुसन्धान गर्न लागेका हौं,' एसएसपी सिंहले भने।

कुनै पनि घटनामा शवको पहिचान नखुल्दा अनुसन्धान निकै जटिल हुने गर्छ। तर, यस घटनामा प्रहरीले केही क्लु फेला पारेकाले चाँडै नै अभियुक्तसम्म पुग्नेमा प्रहरी आशावादी देखिएको छ। तर, हत्या भएका ब्यक्तिको पहिचान नहुँदा धेरै घटना गर्भको रहस्यमा नै रहने गरेको छ।

२०७६ चैतमा भक्तपुरको हनुमन्ते खोलामा भेटिएको शवको पहिचान हुनसक्दा अझैं पनि अनुसन्धान टुङगोमा पुगेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell