PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

बेल्जियम र डेनमार्कबीचको खेल जब दशौं मिनेटमा रोकियो...



पहिलोपोस्ट

बेल्जियम र डेनमार्कबीचको खेल जब दशौं मिनेटमा रोकियो...
Photo: UEFA

यूईएफए युरो कप अन्तर्गत गएरातिको दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीचको खेल चलिरहँदा रेफ्री बिज्रोन कुइपर्सले १० औं मिनेटमा खेल रोके।

पार्केन स्टेडिममा खेल रोकेर खेलाडी र समर्थकहरुले डेनमार्कको त्यसअघिको फिनल्याण्डसँगको खेलमा मैदानमा बेहोस भएर ढलेका क्रिस्टियन एरिक्सनको समर्थन गरेका थिए। १० मिनेटमै खेल रोक्नुको कारण हो: एरिक्सनको जर्सी। हृदयघातबाट १० नम्बरको जर्सी लगाउने एरिक्सन ढलेसँगै केहीबेर खेल स्थगित भएको थियो र पछि फेरि खेल सञ्चालन भएको थियो। र, डेनमार्कको दोस्रो खेलमा उनको समर्थनमा १० औं मिनेटमा खेल रोकेर सम्मान गरिएको थियो।

बेल्जियमको टीममा एरिक्सनको क्लबबाट खेल्ने रोमेलु लुकाकु लगायतका धेरैजना खेलाडी रहेका छन्। यसअघि रसियाविरुद्ध बेल्जियमलाई जित दिलाउन दोहोरो गोल गरेका लुकाकुले आफ्नो प्रदर्शन एरिक्सनलाई समर्पित गरेका थिए। पहिलो गोल गरेपछि लुकाकुले फिनल्याण्डविरुद्धको खेलमा मैदानमा ढलेका उनका इन्टर मिलानका टिममेट क्रिस्टियन एरिक्सनलाई समर्पित गर्दै क्यामरा अघि गएर 'क्रिस क्रिस आई लभ यू' भन्दै चिच्याएका थिए।

खेल सुरु हुनभन्दा अघि पनि समर्थकहरु एरिक्सनको जर्सी लगाएर उनको समर्थनमा देखिन्थे। त्यस्तै खेलअघि एरिक्सनको जर्सी भएको ठूलो क्यानभास मैदानमा देखाइएको थियो। दुबै पक्षका समर्थकले उनको समर्थनमा ब्यानरहरु ल्याएका थिए: 'फर क्रिस्टियन', 'बेल्जियम लभ्ज यू क्रिस्टियन'

एरिक्सनको अस्पतालमा उपचार चलिरहँदा स्वास्थ्यमा सुधार आएको बताइएको छ।

के भएको थियो एरिक्सनलाई?

सन् २०२१, १२ जुन। यूरो कप फुटबलको मजा लिइरहेका थिए दर्शक। गोलरहित एकअर्काविरुद्ध संघर्ष गरिरहेका थिए डेनमार्क र फिनल्याण्डका खेलाडी। कुन समूहको कस्तो प्रदर्शन? रङ्गशालामा भइरहेको खेलको विवेचनाबिच देखियो यस्तो दृश्य जुन अविश्वसनीय र दर्दनाक थियो। पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी एरिक्सन मैदानमै ढले। आफ्नै साथीको बल पास लिने क्रममा उनी ढल्न पुगेका थिए। घरेलु दर्शकले खचाखच कोपेनहेगन शहरको पार्केन रङ्गशालामा सन्नाटा छायो। सबै डर, निराशा र जिज्ञासा मिश्रित भावमा देखिए।

के भयो? कसरी भयो? कसैलाई थाहा थिएन। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रत्यक्ष प्रसारणहरू रद्द गरिए। अनि सामाजिक सञ्जाल र सञ्चार माध्यममा सुरु भयो कामनाको श्रृङ्खला। फुटबल हेर्ने, नहेर्ने सबै एरिक्सनको स्वास्थ्य लाभका लागि खर्चदै थिए शब्दहरू। कामनाहरूबिच यदाकदा उनको मृत्युबारे भ्रम नफैलिएका होइनन्। ती तथ्यहिन जानकारी फैलनुअघि एरिक्सन होसमा फर्किएको खबर सार्वजनिक भयो। र, पछि खेल सञ्चालन भएको थियो।

खेल भने बेल्जियमको पक्षमा

कोपेनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको थियो।

खेलकोदोस्रो मिनेटमै युसुफ पलसेनको गोलमा डेनमार्कले अग्रता बनाएको थियो। पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो।

दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, ७० औँ मिनेटमा केभिन डि ब्रुएनेले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए।

यो बेल्जियमको लगातार दोस्रो जित हो भने डेनमार्कको यो दोस्रो हार हो। जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

समूह 'बी' मा बेल्जियम, डेनमार्क, रसिया र फिनल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell