PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

काठमाडौं उपत्यकामा हत्याको ग्राफ उक्लँदो : आत्महत्या दुरुत्साहन दर पनि उस्तै



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा हत्याको ग्राफ उक्लँदो : आत्महत्या दुरुत्साहन दर पनि उस्तै

काठमाडौं : असार ७ गते दक्षिणकाली नगरपालिका वडा ७ स्थित दक्षिणकाली मन्दिर नजिकै मृत अवस्थामा भेटिइन् कालोपुल बस्ने २५ वर्षीय सन्तोषी सुब्बा। सन्तोषीको हत्या भएको खुलिसकेको छ।

बलात्कार गर्न खोज्दा प्रतिकार गरेकी उनको हत्या भएको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमल्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सुरेश र सन्तोषीबीच असार ६ गते दिउँसो खाजा खाने क्रममा दक्षिणकालीको एक खाजा घरमा चिनजान भएको देखिन्छ। छोटो समयको चिनजानले हत्या कसरी? सन्तोषीको हत्या रक्सी र यौनको कारण भएको सुरेशले बताइरहेको छ। यसमा कुनै योजना नरहेको उनको दाबी रहेको प्रहरीको भनाई छ।

हत्या गर्न सन्तोषीले लगाएको सल र ढुङ्गा प्रयोग गरेका थिए सुरेशले। हत्या गरेर फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै कोठाबाट नियन्त्रणमा लिएको थियो।

एकपछि अर्को गर्दै भेटिएका 'क्लु'हरू जसले सहजै ट्र्याक गर्‍यो विभत्स हत्याको अनुसन्धान

प्रहरीको आँकडा हेर्ने हो भने काठमाडौं उपत्यका अपराध गतिवधि सबैभन्दा धेरै हुने क्षेत्र हो। तीनवटा जिल्ला समेटिएको उपत्यकामा मानिसको बसोबास सबैभन्दा धेरै छ। आउजाउ पनि धेरै नै हुने गर्छ र आर्थिक कारोबारदेखि अन्य पक्षसमेतले काठमाडौं अपराधको हिसावले निकै चुनौति भएको ठाउँ हो।

जेठ २५ गते पनि काठमाडौंको बौद्ध ६ स्थित गुहेश्वरी नयाँ प्लानिङमा मानिसको खुट्टाको भाग फेला परेको थियो। प्रहरीले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। तर खुट्टाबाहेक अन्य अंग फेला पार्न नसक्दा अनुसन्धानमा 'लिड' मिलेको छैन। खुट्टा बोरामा परालले पोको पारेर फ्याँलिएको अवस्थामा भेटिएको थियो।

बोरा फ्याल्न आएका मानिसको दृश्य नजिकै रहेको सिसि क्यामरामा कैद देखिन्छ। तर मानिसको आकृति प्रष्ट चिनिने खालको छैन। प्रहरीले स्केच तयार पारेर बोरा फ्याल्ने मानिस खोजी गरिरहेको छ। घटना हत्या वा अन्य प्रकृतिको अपराध हो भन्ने खुलेको छैन।

काठमाडौं उपत्यकामा चालु आर्थिक वर्ष ४७ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यो अवधिमा देशभर ६ सय २४ जनाको हत्या भएको थियो। काठमाडौं उपत्यकाभित्रको हत्या प्रतिशतमा हेर्दा देशरभरको तुलनामा ७ दशमलव ५ प्रतिशत हो। यसले पनि काठमाडौं उपत्यकाभित्र अपराधको चुनौति बढी रहेको देखाउँछ। महिनामा काठमाडौं उपत्यकाभित्र औसत चार जनाको हत्या हुने गरेको छ।

काठमाडौं उपत्यकाभित्र हुने हत्याको तथ्याङ्क हेर्दा यो लगातार बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकाभित्र ३४ जनाको हत्या भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ५६ जनाको हत्या भएको थियो। आर्थिक २०७५/७६ मा ५३ जनाको हत्या भएको देखिएको छ।

गत वैशाखमा अनामनगरमा साँझ साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड (खन्ती) प्रहार गरी हत्या भयो। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीले हत्या अभियोगमा मृतकका देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। रिसइबीका कारण आवेगमा हत्या गरेको खुलेको छ।

काठमाडौं उपत्यकाभित्र यस चालु आर्थिक वर्षमा भएको एउटा विभत्स हत्यामा गोंगबु हत्या प्रकरण पनि हो। रोल्पा घर भएका कृष्णबहादुर बोहोराको एक महिलाले विभत्स तरिकाले गत साउनमा हत्य गरेकी थिइन्। चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय कल्पना मुडभरी (पौडेल)ले हत्या गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो। उनी अहिले कारागारमा छिन्।

कल्पनाले योजनाबद्ध रुपमा बोहोराको हत्या गरी शरीर टुक्रा टुक्रा पारेर फ्यालेकी थिइन्। आर्थिक र यौनसँग जोडिएर घटना घटेको थियो।

हत्यामा होइन आत्महत्या गर्ने दुरुत्साहन गर्ने दर पनि काठमाडौं उपत्यकाभित्र धेरै नै देखिन्छ। चालु आर्थिक वर्षको ११ महिनामा १६ जनाको दुरुत्साहनबाट आत्महत्या भएको देखिएको छ। देशभर दुरुत्साहनको कारण यो अवधिमा १ सय ५० जनाको मृत्यु भएको छ।

गत भदौमा मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा एकै  घरभित्र तीन जना अवस्थामा फेला परेका थिए।

घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। त्यस्तै घरमा पालेको कुकुरसमेत मृत अवस्थामा फेला परेको थियो। घटनामा सुदीपले नै आफ्नो छोरा र श्रीमतीको हत्या गरेर विष सेवन गरेको देखिएको थियो। हत्या अनि त्यसपछि आत्महत्यामा आर्थिक पक्ष नै मुख्य कारण भएको देखिएको छ।

त्यस्तै काठमाडौंमा चोरी, लुटपाट, बैकिङ् कसुर, ठगी लगायत घटना पनि बढिरहेको छ। तीन वर्षमा १ हजार ‍९ सय ९१ स्थानमा चोरी भएका छन्। आर्थिक वर्ष २०७४/७५ मा ४ सय ४४ वटा चोरीका घटना भएको देखिएको छ। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा दोब्बरले चोरीको सङ्ख्या बढ्यो। ८ सय ८८ स्थानमा चोरी भए। आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा केही घट्यो। ६ सय ५९ स्थानमा मात्र चोरी भयो। अहिलेको चालु आर्थिक वर्षमा ४ सय २५ वटा साधरण चोरी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell