PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोनाको चुनौतिबिच हुँदै टोकियो ओलम्पिक, अधुरै रहने भयो प्रतियोगिता भव्य बनाउने योजना



पहिलोपोस्ट

कोरोनाको चुनौतिबिच हुँदै टोकियो ओलम्पिक, अधुरै रहने भयो प्रतियोगिता भव्य बनाउने योजना
Photo : Pinterest.com / Designer Daily

टोकियो ओलम्पिक यसअघिका ओलम्पिक भन्दा फरक हुनेछ। कोरोना भाइरस महामारीका कारण ओलम्पिक हेर्न पुग्ने खेल पर्यटक यसपटक प्रतिबन्धित छन्। जितपछिको सेलिब्रेसनको माहोल पहिला जस्तो हुने छैन। यस्ता कयौ कुराहरु छन् जुन पहिलो पटक ओलम्पिककै इतिहासमा 'एक्पेरिमेन्ट' हुन गइरहेको छ।

ओलम्पिकको सुरुवातमै उद्घाटन समारोहबाट अनुमान सुरु हुन्छ कुन स्तरमा प्रतियोगिता हुँदैछ भनेर। यसअघिका उद्घाटन भव्य बनाउने आयोजक राष्ट्रबिच प्रतिस्पर्धा देखिन्थ्यो। रियो, लण्डन र बेइजिङ ओलम्पिकमा त्यस्तै माहोल देखिएको थियो। जापानले पनि ती राष्ट्रभन्दा भव्य 'ओपनिङ' गराउने योजना बनाएको थियो। ६ लाख विदेशी पर्यटक भित्र्याउने योजना जापानले बनाएको थियो। तर प्रतियोगिता चाहिँ दर्शकविहीन रंगशालामा गराउन जापान बाध्य भएको छ।

कोभिड १९ अघिको योजना : टोकियो ‌ओलम्पिकमा रोबट स्वयंसेवक, उल्कापात आकर्षण! ५६ वर्षअघि कुदाइएको थियो विश्वकै द्रुत गतिको रेल

प्रतियोगितालाई 'भव्य' बनाउने होडबाट अब टोकियो ओलम्पिक 'सामान्य र संयमित' बनाउने योजनामा पुगेको छ। प्रतियोगिताबिच कोरोना संक्रमण फैलिन नदिनमा आयोजकको ध्यान केन्द्रीत छ। यद्यपि, प्रतियोगिता सुरु नहुँदै फाट्टफुट्ट कोभिड १९ का केसहरु देखिन थालिसकेका छन्। ओलम्पिक भिलेजमा नै एक खेलाडीमा संक्रमण देखिएको छ। जसकारण आयोजक थप दबाबमा छन्।

उद्घाटन र समापनमा मात्र ६ हजार जना सहभागी गर्ने आयोजकको योजना छ। सन् २०११ मा जापान गएको प्राकृतिक प्रकोप र कोभिड १९ संक्रमणबाट निधन हुनेहरुको सम्झनामा भने कार्यक्रम हुन सक्छ।

यस्तै, प्रतियोगियाका विजयी खेलाडीहरुले आफ्नो मेडल आँफै लगाउने छन् र मेडललाई खुलेर चुम्न पाउने छैनन् किनभने पोडियममा गएसँगै मास्क अनिवार्य हुनेछ। यसअघि विजयी खेलाडीहरुलाई निश्चित व्यक्तिले मेडल लगाउने गर्थे।

टोकियो ओलम्पिकका 'फन' फोटोहरु धेरै नआउन सक्छन्। हुन पनि सामाजिक दुरी लगायतका नियमहरु कडाइका साथ लागु गरिएको छ र मास्क अनिवार्य।

सन् २०२० मा हुनुपर्ने प्रतियोगिता स्थगित भएसँगै अत्यावश्यक बाहेकका ब्यानर, मस्कटलगायतका कुराहरु खर्च घटाउनका लागि कटौती गरिएको छ। खेलाडीलाई दैनिक कोभिड १९ परीक्षण त गराइने छ नै सकेसम्म सबैसँग सामाजिक दुरी कायम राख्न सुझाइएको छ।

त्यस्तै एचआइभी एड्स सम्भन्धी सचेतनाका लागि भन्दै खेलाडीहरुलाई ओलम्पिकमा 'कण्डम' दिइने गरिन्छ। यद्यपि यसपटक भने खेलाडीले जापान छाड्ने समयमा मात्र 'कण्डम' प्राप्त गर्नेछन्। त्यस्तै अँगालोमार्ने देखि हातमिलाउन सम्मलाई निरुत्साहित गरिएको छ।

प्रतियोगिताको नियम तोड्नेहरुलाई खेलमा डिस्क्वालिफाइ गर्ने देखि देश फर्काउने सम्मको कारवाही गराउने तयारी छ।

इन्टरनेशनल ओलम्पिक कमिटी, इन्टरनेशनल पाराओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक कमिटी, टोकियो महानगर र जापान सरकारले स्वास्थ्य र खेलक्षेत्रका विज्ञसँगको परामर्शमा 'प्ले बुक' बनाइएको छ। सो 'प्ले बुक'को नियम अनिवार्य रुपमा पालना गर्नुपर्नेछ।

ओलम्पिकमा ११ हजार हाराहारी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने कुल ४१ हजार जना जापान पुग्ने अनुमान गरिएको छ। ओलम्पिकको आयोजक कमिटीले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार : ओलम्पिकमा कोरोना फैलिनबाट रोक्न ल्याइयो 'प्ले बुक', नियम उल्लंघन गर्नेलाई हुनेछ कारवाही



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell