PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जयसिंह धामी प्रकरणमा संसदमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ



पहिलोपोस्ट

जयसिंह धामी प्रकरणमा संसदमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले दार्चुला घटनाको विषयमा जानकारी दिएका छन्। दार्चुलामा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी वेपत्ता भएको घटनाको विषयमा जानकारी दिँदा गृहमन्त्री भारतीय पक्षको संलग्नता बारे मौन रहेपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए।


यो पनि :

दार्चुला घटनामा भारतको औपचारीक विरोध गर्न सरकारसँग प्रमुख प्रतिपक्ष एमालेको माग

दार्चुला घटना : छानविनका लागि टोली खलंगा पुग्दै, खोजी कार्यका लागि नेपाल र भारतका सुरक्षाकर्मी परिचालन भएको गृहमन्त्रीको भनाई


प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सांसदले उठाएको प्रश्न र गृहमन्त्रीको जवाफ:

खगराज अधिकारी : धामीको अपराधपूर्ण क्रियाकलापबाट हत्या भयो। सरकारले निमुखा तरिकाले जवाफ दियो। अपराधीलाई कारबाही गर्नेबारे के हो? बाटो र पुल कहिले शिलान्यास भए यसमा जवाफ दिनु पर्दैन?

योगेश भट्टराई: गृहले खोजतलास खोजी भइरहेको भन्नुभयो। फेरि डेथ बडी भेटिएको छैन भन्नुभयो। के उनको मृत्यु भइसकेको हो?

गगन थापा : भारतीय पक्षले धामी प्रकरणमा संलग्नता नरहेको जवाफ दिएको मिडियामा आएको छ। यसको आधिकारिता के हो ? यस्तो हो भने हाम्रो छानबिन समितिले भारतीय पक्षबाट कस्तो सहयोग पाउला र कस्तो प्रतिवेदन ल्याउला ? सरकारले कसरी आश्वस्त पार्छ ?

शान्ता चौधरी : गृहमन्त्रीको जवाफ हल्का र गैरजिम्मेवार छ। एसएसबीले दिएको जवाफमा धाराणा के हो ?

विमला विक: प्रत्यक्षदर्शीले स्पष्ट रुपमा अनुनय विनय गर्दा पनि तुइन काटिएको भन्नुभएको छ। यसमा पनि सरकारको जवाफ आलटाल किन? प्रधानमन्त्री स्तरबाट के काम भयो? बाढी पहिरोको तथ्याङ्क त हामीले जताबाट पनि पाइरहेका छौँ। के सरकारको दायित्व विवरण दिनेमात्र हो? योजना केहो सरकारको?

गणेश ठगुन्ना : जयसिंह धामी प्रकरणमा सरकारी तवरबाट प्रधानमन्त्री तवरवाट के कुरा भयो?

महेश बस्नेत : भारतसँग समस्याबारे अहिलेसम्म के भयो? बाढीपीडितको पाल दिएको घोषणाले राहत पुग्छ कि पुग्दैन?

देवेन्द्रराज कँडेल : जयसिंह धामी प्रकरणमा पीडित पक्ष नेपाल हो। पीडक भारत हो। यस्ता घटनामा दुवै पक्षको टोली बनाएर खोजी किन भइरहेको छैन? यसमा जवाफ के हो ?

दिलेन्द्र बडु : छानबिनकै क्रममा पनि भारतीय पक्षसँग के कुरा भइरहेको छ? तुइन तर्न बाँकी रहेका ११ जना प्रत्यक्षदर्शी नै हुन्। उनीहरुसँग यसबारेमा कुराकानी भयो कि भएन?

पुष्पा भुसाल : ओलीले दुई वर्षभित्र तुइनमुक्त गर्ने घोषणा गर्छु भन्नुभएको थियो भएन। त्यसैको परिणाम साउन १५ गतेको घटना भयो। यो घटनामा पीडितलाई न्याय दिन सरकारले के गरिरहेको छ?

डिला संग्रौला : सत्यतथ्य छानबिन चाँडै सरकारले बाहिर ल्याओस्।

पदम गिरी : जयसिंह धामीको निधन भएको सबैको अनुमान छ। एसएसबीको ज्यादतीको भत्सर्ना गर्छु। दुई एसएसबीले तुइन काटेको प्रत्यक्षीदर्शी भन्छ तर, घटना विवरण ढाकछोप गरिरहेको छ। विगतमा नाकाबन्दी समेत हो भन्न नसक्ने दलको सरकारले यो घटनामा प्रश्न गर्ने हैसियत राख्छ?

राजेन्द्र केसी : केपी ओलीले दुई वर्षमा तुइन विस्थापित गर्ने भनेका थिए। उनले तुइन अब म्युजियममा रहन्छन् भन्नुभएको थियो। म प्रश्न गर्न चाहन्छु अझै कति तुइन विस्तापित हुन बाँकी छन्? गृहमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु।

प्रेम सुवाल :  धामी प्रकरणका दोषीलाई कारबाही हुन्छ कि हुँदैन ?

विशाल भट्टराई : धामी प्रकरणमा उच्चस्तरीय वार्ताको आवश्यकता छ। छानबिनका लागि संसदीय टोली गठन हुनुपर्छ। तुइन विस्थापनमा ओलीले गफमात्र दिएको भन्नेले तथ्याङ्क हेर्नुस्।

गृहमन्त्रीका पुनः जवाफ

छानविन समिति बनाएको छ। छानविन समिति दार्चुला जिल्ला र घटनाघटेको मालघाट र लछ्कु पुगेरै छानविन गर्नेछ। तुइन तर्न सफल भएका सँग पनि भेटघाट गर्ने छ। उहाँहरुको जानकारीलाई नै समितिले मुख्य आधार बनाउने छ।

तुइन तर्न बाँकीहरुलाई पनि भेट्ने छ। र उहाँहरुसँग पनि कुरा गर्नेछ। त्यहाँका आम नागरिकहरुसँग पनि बुझ्ने सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने हो। प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सरकारले दृढताका साथ अगाडि बढाउने छ। नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व हो। सरकार बनेको हो।

तथ्य र सत्य पत्ता लगाएर जे तथ्य हो त्यही नै सार्वजनिक गर्नेछ र त्यो तथ्यका लागि  जुनसुकै कदम चाल्न नेपाल सरकार तयार रहेको छ। सरकार प्रतिवद्ध छ।

जिल्ला सदरमुकाम गएर मात्र होइन की घटनास्थलमै पुगेर त्यहाँका आम नागरिकहरुसँग भेटेर नै प्रतिवेदन बुझाउने छ। त्यसलाई सरकारले दृढताका साथ अगाडि बढाउने छ।

महाकालीमा पुल शिलान्यास भएको तीन वर्ष विते पनि चार वटा पुल निर्माणाधीन अवस्थामा छन्। काम पूर्ण भएको छैन।

सांसदहरुले फेरि मन्त्री खाँणसँग प्रश्न गरे:

शेरबहादुर तामाङ : सत्यतथ्य जानकारी गृहको समितिले आउने सम्भावना नै देखिँदैन। संसदीय छानबिन समिति बनार्औँ। गृहमन्त्रीले सिन्धुपाल्चोक घटनाबारे कसैले भनेका भरमा विवरण दिनुभयो। वैकल्पिक बाटोको कुरा आयो यो के हो?

गृहमन्त्री: हामीले वैकल्पिक बाटो बनाउने भनेका होइनौँ। त्यहाँ बाटो क्षति भएको छ। जाने अवस्था छैन। तत्काल राहतका लागि पनि वैकल्पिक मार्ग प्रयोग गरेर राहत सामाग्री पुर्‍याउन र पहुँच पुर्‍याउनका लागि वैकल्पिक मार्ग खोल्ने कुरा भएको हो।

यशोदा गुरुङ: मनाङका चारवटै गाउँपालिका बाढी पहिरोबाट अत्यन्तै प्रताडीत भएका छन्। यो क्षतिको रेकर्ड सरकारसँग छ कि छैन?

गृहमन्त्री: त्यहाँ एक सडक बेलिब्रिज १ समुदाय भवन १ झोलुंगे पुल ८ पक्की पुल २ मोटरेवल काठेपुल ६ वटा  सरकारी कार्यालय ६ वटा स्कुल १ बैंक २ चार वटा पालिकामा ४० घर पूर्ण क्षति भएको छ। २८७ जोखिममा १५० विस्थापित छन्। त्यहाँका नागरिकको जीवनको क्षतस भएको छैन।

लमजुङको सदरमुकाम बेशीशहरबाट मनाङको सदरमुकाम चामे जाने सडक पूर्ण रुपमा क्षति भएका कारण त्यहाँ हेलिकप्टरको प्रयोग गरी खाद्यान्न तथा औषधी हामीले पुर्‍याइरहेका छौँ। अवरुद्ध सडकलाई खोल्नका लागि हामी प्रयत्नशील छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell