PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सामूहिक हत्याका श्रृङ्खला : किन भइरहेका छन् पारिवारिक नरसंहार?



सविन ढकाल

सामूहिक हत्याका श्रृङ्खला : किन भइरहेका छन् पारिवारिक नरसंहार?
प्रतीकात्मक फोटो

काठमाडौं : सोमवार बिहानै सबैको आङ सिरिङ्ग पार्ने घटना भयो संखुवासभामा। एउटै घरका ६ जना मृत अवस्थामा फेला परे। घरबारीदेखि कुलेसोसम्म मानिसको शव भेटियो। कसैमाथि धारिलो हतियार प्रहार भएको संकेत थियो त कसैमाथि ढुंगाले हानेको डोब। परिवार नै सिध्याउने गरी भएको एउटा त्रासदीपूर्ण हत्या।

मारिनेमा ८० वर्षीया वृद्धादेखि ५ वर्षीय नाबालिकसम्म! घटना संखुवासभाको मादी नगरपालिका १ मा भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको देखाए पनि कारण पत्ता लगाइसकेको छैन। मृत्यु हुनेमा ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन्। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।

प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। जिल्ला सदरमुकामदेखि करिब ५ घण्टाको दुरीमा पुगिने घटना भएकाले प्रहरी समयमा नै पुग्न नसक्दा अनुसन्धान केही ढिलो भएको हो। त्यस्तै, धरानबाट तालिमप्राप्त कुकुर र फरेन्सिक टिम पुग्ने भएकाले पनि सोमवार अनुसन्धान खासै अगाडि बढ्न सकेन। घटनास्थलको कभर गर्दै प्रहरीको समय बित्यो।

एकै परिवारका ६ जनाको हत्या हुँदा तेजबहादुरका ८९ वर्षीय बुवा बौद्धमान कार्की भने जोगिएका छन्। कान कम सुन्ने र बुद्ध अवस्था भएकाले बेलुका खाना खाएर सुतेका बौद्धमानले घटना भएर ६ जना परिवारका सदस्य मारिसकेपछि बिहानमात्र चाल पाए।

तेजबहादुरका दुई छोरा भने घरमा थिएनन्। उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको खुलेको छ। एकैपरिवारका चार पुस्ताको एकै दिन हत्या हुँदा सबै आतंकित देखिएका थिए।

'यो नरसंहार नै हो। के भएको हो भन्ने घटनाको अनुसन्धान भइरहेको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

यसरी एकै स्थानमा एकै समयमा दुई जनाको भन्दाबढी हत्याको घटना बिरलै सुनिन्छ। यसअघि २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा नौ जनाको हत्या भएको थियो। एक बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् त्यतिखेर।

पाँचथर हत्याकाण्ड: एकैजनाले लिए नौजनाको ज्यान !

३६ वर्षीया जस्मिता फियाक १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बुको हत्या भएको थियो। घटना भएको स्थानबाट करिब २ किलो मिटरको दुरीमा मानबहादुर माखिम झुन्डिएको अबस्थामा फेला परेका थिए। घटनास्थल नजिकै रगत लागेको लुगा, खुकुरी भेटिएकाले उनले नै हत्या गरेर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो। हत्या गरेका मानबहादुर माखिम बमबहादुरका कान्छा ज्वाइँ हुन्।

त्यस्तै, २०७७ जेठमा रुपन्देही तिलोत्मा १० मा एक व्यक्तिले कोदालोले प्रहार गरेर पाँच जनाको हत्या गरेका थिए। गंगादेवी पशु फार्ममा काम गर्नेले राति हत्या गरेका थिए। जसमा ४ जना पुरूष र एक महिला छन्। मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका थिए। मारिनेमा श्रीमान् श्रीमती नै थिए।

प्रहरीले हत्या अभियोगमा सोही दिन सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको थियो। उनी मदिरा खाएर बेहोस भएको अवस्थामा फेला परेका थिए।

उनले हत्या गरेको स्वीकार समेत गरेका थिए। अफवाह फैलाएपछि आफूले रिसको आवेगमा हत्या गरेको बयान दिएका थिए। घटना भएको सात महिनापछि उनलाई जिल्ला अदालतले जन्मकैद सुनाएको थियो। जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले यस्तो फैसला सुनाएको हो।

५ जनाको ज्यान लिएका युवक बेहोस भएपछि पुर्‍याइए अस्पताल : गरेका थिए मदिरा अत्याधिक सेवन

सामुहिक हत्या चोरी र अभियुक्तको पहिचान खुल्ने डर हुँदा अपराधीले धेरैको हत्या गर्ने गरेको नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'चोरी लगायत घटनामा आफ्नो पहिचान खुल्ने, रिसइबी र सम्पत्तिको केसमा सामुहिक हत्या भएको देखिन्छ। पहिचान लुकाउन जसले घटना भएको देख्छ उसको हत्या गरेको हुनसक्छ। त्यस्तै सम्पत्ति आफ्नो नाममा आउन कसकसको हत्या गर्नुपर्छ त्यहीको हत्या गरेको पनि देखिन्छ,' पूर्व डीआइजी मल्लले भने।

काठमाडौं उपत्यकाबाहिर मात्र होइन काठमाडौं भित्र पनि सामुहिक हत्याका घटना भएका छन्। १८ वर्षअघि ललितपुरको बडिखेलमा पनि २०६० अशोज १६ गते पाँच जनाको हत्या भएको थियो। 

२०७७ भदौमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा एकै परिवारका तीन जना घरभित्र मृत फेला परेका थिए। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। उनीहरुको मृत्युको समय पनि फरक फरक फेला परेको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्दा सुदीपले आफ्नी श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।

सुदीप केही समयदेखि आर्थिक तथा मानसिक समस्यामा परेको समेत अनुसन्धानले देखाएको छ। उनले केही दिन अघि मात्र ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए। त्यस्तै बैंकबाट २४ लाख रुपैयाँ ऋणको लागि प्रक्रिया गरेको कागजसमेत फेला परेको थियो। हत्या गर्ने मानिसले नै आत्महत्या गरेपछि प्रहरीको अनुसन्धान त्यहीँ गएर टुङ्गिएको थियो।

तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

आर्थिक वर्ष २०७७/७८ को काठमाडौं उपत्यकाभित्र भएको हत्याको तथ्याङ्क केलाउने हो भने प्रत्येक महिना तीन जनाको हत्या हुने गरेको देखिएको छ। देशभरको तथ्याङ्क हेर्दा दैनिक एक जना भन्दाबढी मानिस मारिने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ सय ९७ जनाको हत्या भएको थियो। यो अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा २५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ५ सय ५५ जना मानिस मारिएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ६ सय ५९ जना मानिस मारिए। आर्थिक वर्ष २०७४/७५ मा मारिने मानिसको सङ्ख्या ६ सय २८ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell