PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एयरपोर्टको काण्डबारे सीईओ रेग्मीको मन्त्री आलेलाई ब्रिफिङ



पहिलोपोस्ट

एयरपोर्टको काण्डबारे सीईओ रेग्मीको मन्त्री आलेलाई ब्रिफिङ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिटको आरोप लगेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जानकारी लिएको छ।

सीईओ रेग्मीले कर्मचारीलाई कुटपिट गरेको समाचार बाहिरिएपछि आज दिउँसो मन्त्रालयले सोधपुछका डाकेको थियो। सीईओ रेग्मीले आफूले मन्त्रीलाई घटनाबारे सबैकुरा जानकारी गराएको बताए।

शनिवार ९ बजे सीईओ रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए। ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए।

ड्युटीमा खटिएका कर्मचारी थापाले सोधखोज गर्न खोजेपछि सीईओ उनीप्रति आक्रामक बनेका थिए। रेग्मीले थापालाई झापड समेत हानेपछि कर्मचारीहरु सबै उनलाई रोक्न पुगेका थिए। उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए। उनलाई भन्सारबाट सोझै काठमाडौं मेडिकल कलेज लगिएको थियो। त्यहाँ उनको मापसे परीक्षण गरिएको थियो।

'लाइन मिनिस्ट्रीको अनुसार मैले मन्त्रीज्यूलाई जानकारी गराएको छु,' सीईओ रेग्मीले भने, 'घटना जे भएको हो त्यही ब्रिफ गरेँ।'

मन्त्रीसँग रेग्मीले आफूले हातपात गरेको अस्वीकार गरेका छन्। त्यसअघि पहिलोपोस्टसँग कुरा गर्दै उनले अर्थमन्त्रीको फोन नउठ्दा सहजै सल्टिने विषय विवादित बन्न पुगेको बताएका थिए। 

कर्मचारीमाथि भएको हातपातको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख महेश भट्टराई हुँदै विभागका महानिर्देशक नारायण सापकोटासम्म पुगेको थियो। जतिसुकै ठूलो मान्छे भए पनि भन्सार ऐन अनुसार उनीमाथि कारवाही गर्ने निर्णय भयो।

भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। कर्मचारीलाई दुर्व्यवहार गरेकोले रेग्मीलाई पाँच हजार जरिवाना गरिएको हो। जरिवानाको यो अधिकतम रकम हो।

सम्बन्धित समाचार :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell