PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

अब अति भयो, प्रधानन्यायाधीशले न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरे : बार



पहिलोपोस्ट

अब अति भयो, प्रधानन्यायाधीशले न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरे : बार

काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशले अदालतलाई युद्धभूमि बनाउने प्रयास गरेको आरोप लगाएको छ।

अदालत परिसरमा दंगा प्रहरीले बारको आन्दोलनमा हस्तक्षेप गरेपछि आज पत्रकार सम्मेलन गर्दै बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले दंगा प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरेको बताएका हुन्।

'हामीले पहिलादेखि दंगा प्रहरी प्रवेश नगराउन भनेका थियौं। आज एसएलआर हतियारधारी प्रहरी प्रवेश गराइयो। न्यायको मन्दिरलाई युद्धमैदान बनाउने प्रयास भयो। यस्तो दंगा प्रहरी ल्याउने प्रधान्यायाधीश र सर्वोच्च बार प्रशासनको विरोध गर्छौं' भट्टराईले भने। 

सम्बन्धित समाचार : सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट

विश्वमा सर्वोच्च अदालतमा दंगा प्रहरी तैनाथ गरेर शान्तिपूर्ण आन्दोलन दबाउने घटना कहिँ नभएको भन्दै भट्टराईले दोषीलाई कारवाही र आउने दिनमा यस्तो घटना नदोहोराउन चेतावनी दिए।

'दंगा प्रहरी प्रवेश गरेर शान्तिपूण आन्दोलन दबाउने काम भयो। संसारमा कतै नभएको घटना भयो। अब अति भयो। अनैतिक र असक्षम प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन रोकिन्न' उनले भने।

भट्टराईले आज अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र 'बिचौलिया र भिजिलान्ते' प्रवेश गरेकोमा आफूहरु सशंकित भएको बताए। सर्वोच्चमा धर्नापछि बार परिसरमा केही व्यक्तिले प्रवेश गर्दै अधिवक्तामाथि आज आक्रमण गर्ने प्रयास गरेका थिए। अश्लिल शब्द बोल्दै केही व्यक्ति बार परिसरमा प्रवेश गर्दै वकिलहरुसँग भिड्न पुगेका थिए।

'परिचय पत्र बिना उनीहरु कसरी प्रवेश गरे ? यसबारेमा छानबिन हुनुपर्छ' भट्टराईले भने, 'बिचौलिया र भिजिलान्ते हाम्रो साथीहरुलाई आउने दिनमा केही भए त्यसको जिम्मेवारी प्रधानन्यायाधीश, सर्वोच्च प्रशासन र गृह प्रशासनले लिनुपर्छ।'

सम्बन्धित समाचार : न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

भट्टराईले प्रहरीसँगको घम्साघम्सीपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको छातीमा समस्या देखिएको बताए। साथै, अन्य अधिवक्ताहरु पनि घाइते भएको बताए।

सर्वोच्चमा दंगा प्रहरीको तैनाथी हटाउन उनले सर्वोच्च र प्रशासनलाई चेतावनी दिए। साथै, बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell