काठमाडौं : दोलखाको पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनका लागि 'मिनि ग्रेटवाल' निर्माण सुरु भएको छ। दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ वेसक्याम्प मानिने कालापानीदेखि डाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न थालिएको हो।
सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङ डाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए।
सम्बन्धित समाचार : थुम्कैथुम्काको शैलुङको सुन्दरतामा हराउँदा ...
दोलखाको शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा मिनि ग्रेटवाल निर्माण गर्न पाँच करोड लागत व्यवस्था गरिएको छ। कूल लागतमा सङ्घीय सरकार अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको तीन करोड ५० लाख छ भने शैलुङ गाउँपालिकाले एक करोड ५० लाख रकम लगानी गरेको छ। पाँच सय मिटर कालापानी मिनी ग्रेटवालको गत सोमबार गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यस गरे। यो वालको निर्माण एक वर्षभित्र सकिने लक्ष्य राखिएको छ।
दोलखा र रामेछापको सिमानामापर्ने शैलुङ डाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ। हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङ डाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ।
सम्बन्धित समाचार : हिउँको च्यादरले ढाकिँदा सैलुङ कस्तो देखिन्छ? एक वर्ष अघिको नियात्रा
गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ। गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङ डाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिसकेको छ। यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङ डाँडाको भ्रमण गर्न सकिन्छ। रासस