काठमाडौं: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापति चयन भएका शेरबहादुर देउवालाई बधाई दिएका छन्। आज एक विज्ञप्तिमार्फत कार्यसफलताको शुभकामना दिँदै संविधानमाथि खतरा भएको उल्लेख गरेका छन्।
'हामी राष्ट्रिय जीवन र पार्टी जीवनको अत्यन्तै गम्भीर मोडमा छौं,' पौडेलले उल्लेख गरेका छन्, 'एकातिर ७ दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कतर्फ नेपाललाई अस्थीरता र अधोगतितर्फ धकेल्ने प्रपञ्च जारी छन्।'
पौडेलले आजै बिहान विज्ञप्ति निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका थिए। पौडेलले अध्यक्ष ओलीमाथि संसद अवरुद्ध गरेर उनले छ महिनाको अवधिमा दुई पटक गरेको संसद विघटनलाई सही प्रमाणित गर्न कोसिस गरेको समेत आरोप लगाएका थिए।
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेस सभापतिमा निर्वाचित हुँदैगर्दा पौडेलले संविधानमाथि खतरा भएको र यसका लागि कांग्रेस मिलेर अघि बढ्नुपर्ने सुझाएका हुन्।
'संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो,' पौडेलको विज्ञप्तिमा लेखिएको छ, 'सबैलाई समेटेर सशक्त र एकतावद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस्, अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफल रहोस्।'
महाधिवेशनको सुरुमा पौडेल सभापतिको आकांक्षी भए पनि साझा उम्मेद्वार चयन गर्न नसक्दा पौडेलले 'वाकओभर' दिएका दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा आज दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्।
मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६२६ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्।
शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका थिए।