PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्रीको फोन : प्रचण्डजीले समेत चासो राख्ने गरी खेलाडीलाई कारवाही किन भयो?



पहिलोपोस्ट

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्रीको फोन : प्रचण्डजीले समेत चासो राख्ने गरी खेलाडीलाई कारवाही किन भयो?

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीमाथि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारवाहीलाई लिएर सरकार र सत्तारुढ दलले समेत चासो देखाएको छ। 

शुक्रवार बिहान सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै क्रिकेट खेलाडीमाथि भएको कारवाहीप्रति चासो व्यक्त गरेका हुन्। 

कांग्रेस सभापतिमा पुन: निर्वाचित भएका देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले खेलाडीमाथि भएको कारवाहीबारे चासो राख्दै ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। 

प्रचण्डले ध्यानाकर्षण गराएसँगै प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर कारवाहीबारे जानकारी लिएका थिए। 'क्रिकेट खेलाडी माथिको कारवाही के हो? किन गरिएको हो?,' देउवाले चन्दसँग चासो राखेका थिए। 

'प्रचण्डजीले समेत चासो राख्ने गरी कस्तो कारवाही गरिएको हो? यसलाई समाधान गर्नुस्,' देउवाले टेलिफोनमा चन्दलाई निर्देशन दिएका थिए।

चन्द क्यानको अध्यक्ष हुँदाहुँदै हालै सम्पन्न कांग्रेस अधिवेशनबाट बैतडी जिल्ला सभापतिमा निर्वाचित भएका छन्। 

क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, खेलाडीद्वय सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेको थियो। 

खेलाडी वर्गीकरणको विषयलाई लिएर ज्ञानेन्द्र सहितले असन्तुष्टि जनाएका थिए। असन्तुष्टिलाई सार्वजनिक सञ्चार माध्यममा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा चित्त नबुझाएको क्यानले उनीहरुलाई कारबाही गरेको बताएको छ। 

चार खेलाडीलाई कारबाही गर्दै क्यानले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो।

 

यो पनि पढ्नुस् :

ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नु भएन : क्यान अध्यक्ष चतुरबहादुर चन्द (अन्तर्वार्ता)

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell