PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वर्ष २०२१ मा नेपाली खेलकुद : अस्थिर मन्त्रालय र राखेप, महिला भलिबल टिमले दिलायो खुसी



मुकुन्द घिमिरे

वर्ष २०२१ मा नेपाली खेलकुद : अस्थिर मन्त्रालय र राखेप, महिला भलिबल टिमले दिलायो खुसी

काठमाडौं : २०२१ मा विश्व खेलकुदमा अघिल्लो वर्ष कोभिड १९ महामारीबाट स्थगित खेलकुदहरु धमाधमसँग भए।

विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक यही वर्ष सम्पन्न भयो भने मिनि विश्वकप भनिने युरो कप पनि सम्पन्न भयो। लामो समय कोभिडका कारण ठप्प नेपाली खेलकुद पनि यो वर्ष चलमलायो। दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भयो, टीयू क्रिकेट मैदानमा पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो। भलिबलमा नेपालले सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जित्दै खेलकुदका लागि वर्षको सुखद अन्त्य गर्‍यो।

अर्कोतर्फ खेलकुदको उपल्लो निकाय राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय राजनीतिक अस्थितरताको चपेटमा पर्‍यो। मन्त्री पटकपटक फेरिए। राखेप सदस्यसचिव र बोर्ड सदस्यको मन्त्रीसँगको टकराव अदालतसम्मै पुग्यो।

यो वर्षलाई फर्किएर हेर्दा यस्तो देखियो खेल क्षेत्र।

क्रिकेटका सिरिज

अप्रिल महिनामा नेपालले नेदरल्याण्ड्स र मलेसियासँग काठमाडौंमा त्रिदेशीय सिरिज खेल्यो। फाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै नेपाल च्याम्पियन बन्यो।

सेप्टेम्बर महिनामा ओमनमा क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबिचको त्रिकोणात्मक सिरिज सम्पन्न भयो। प्रतियोगितमा नेपालले दुई जित र दुई हार निकाल्दै औसत प्रदर्शन गर्‍यो।

फुटबल सिरिज

नेपालले मार्च महिनामा बंगलादेश, कीर्गिस्तान यू २३ र नेपाल सम्मिलित त्रिदेशीय सिरिज खेल्यो। त्यसपछी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण सम्हाले। उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्यो भने विश्वकप क्वालिफायर्स अन्तर्गतका खेलहरु खेल्यो। जसमा अस्ट्रेलिया र जोर्डनसँग पराजित हुँदा चाइनिज ताइपेइलाई हरायो। त्यसपछि साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसँग दुई खेलको मैत्रीपूर्ण सिरिज काठमाडौंमा खेल्यो। जसमा एक बराबरी र एक हार व्यहोर्‍यो। यसैवर्ष नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुग्यो र उपविजेता बन्यो।

फुटबल र क्रिकेटमा फ्रेन्चाइज

नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग यसैवर्ष सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा यसपटक फुटबलका खेलाडीहरु देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीहरुले राम्रै पैसा पनि पाए। त्यस्तै विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरु नेपाल आए। अर्थात युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमायो। प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

त्यस्तै क्रिकेटमा एभरेस्ट प्रिमियर लिगले पनि राम्रो चर्चा कमायो। टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी खेलाडीहरु आएर नेपालमा खेल्दा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले भने सहभागिता जनाएनन्। पाकिस्तानी टोलीका पूर्व कप्तान शाहीद अफ्रीदी टीयू क्रिकेट मैदानमा उत्रँदा दर्शकहरुको उत्साह हेर्नलायक थियो। फाइनलमा पोखरा राइनोजलाई हराउँदै चितवनले उपाधि जितेको थियो।

पारस र विराजको सन्यास

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले यसैवर्ष संन्यास लिए। महर्जनले मार्च महिनामा सम्पन्न त्रिदेशीय सिरिजमा सिरिजको फाइनलमा बंगलादेशविरुद्ध खेल्दै सन्यास लिए। एक हिसाबले सन्यास लिनका लागि महर्जन भाग्यमानी देखिए। घरेलु मैदानमा दर्शकहरुको उपस्थितिबिच उपाधि जित्दै सन्यासको अवसर मिल्यो महर्जनलाई। अझ उनले विदाइको बेला प्रधानमन्त्रीबाट ‘ब्लेजर’ लगाउँदै बिदा भए।

सन् २००८ मार्च २५ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलिमा डेभ्यु गरेका उनले राष्ट्रिय टोलीबाट ७३ क्याप जितेका छन्।

त्यस्तै क्रिकेटका लेजेन्ड पारस खड्काले पनि यसैवर्ष सन्यास लिए। कुनै समय नेपाली क्रिकेटकै 'पर्याय' बनेका थिए पारस खड्का। ओझेलमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन उनले खेलेको भूमिकाले नै उनलाई क्रिकेटको 'पर्याय' बनाएको थियो। उनै पारसले अगस्ट महिनामा नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिए।

३३ वर्षीय पूर्व कप्तान खड्काले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।

डिभिजन ५ बाट आफ्नो कप्तानीमा नेपाललाई एक दिवसीय टुर्नामेन्ट (ओडीआई) सम्म डोहोर्‍याएका पारसको संन्यासलाई नेपाली क्रिकेटमा एउटा 'युग'को अन्त्य भएको रुपमा क्रिकेट प्रेमीहरुले व्याख्या गरेका छन्।

अस्थिर मन्त्री

अस्थिर सरकार नेपालको सन्दर्भमा नौलो विषय होइन। सबै क्षेत्र त्यसको सिकार हुँदा खेलकुद क्षेत्र अछुतो रहन सक्ने कुरै भएन। फरक राजनीतिक पृष्ठभूमिबाट आएर खेलकुद मन्त्री बन्ने र खेलकुद भित्रको कुरा नबुझ्दै मन्त्रीबाट खोसुवा पर्नु नियमित आकस्मिकता नै बन्दै आएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतासँगै बनेको सरकारबाट मन्त्री बनेका जगतबहादुर विश्वकर्मा पछिल्लो समय लामो अवधि मन्त्री बन्न सफल रहे।

अघिल्लो वर्ष डिसेम्बरमा उनी हटाइएपछि दावा लामा, एकवाल मियाँ र कृष्णगोपाल श्रेष्ठले खेलकुद मन्त्रालय सम्हाले र गुमाए पनि। अहिले यस मन्त्रालयको कमान महेश्वर गहतराजको हातमा छ।

राखेपमा गञ्जागोल

माओवादी नेता महेश्वर गहतराज खेलकुद मन्त्री बनेपछि आक्रमक रुपमा अगाडि बढेका छन्। उनले मन्त्रालय सम्हालेसँगै केपी ओली निकट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई स्पष्टीकरण सोधे। अन्य बोर्ड सदस्यको नियती पनि उही भयो। कार्य सम्पादन चित्त नबुझेको भन्दै हटाए। र, कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाए युवा तथा खेलकुद मन्त्रालयको सह सचिव विष्णुराज ढकालले। र, पछि प्रकृया पुरा गरेरै टंक घिसिङ सदस्य सचिव बने।

अर्कोतर्फ बोर्ड सदस्य र सिलवाल पनि मन्त्रीको निर्णय विरुद्ध अदालतको ढोकामा पुगे।

सिलवालको कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो। त्यसपछि कात्तिक १ गतेको मन्त्रिपरिषदले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

अदालतले मन्त्रालयको निर्णय उल्टाइदिएपछि राखेप र मन्त्रालयमा अन्योलको अवस्था कायम छ।

भलिबललाई सेन्ट्रल जोनको उपाधि

डिसेम्बर महिना बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले जित्यो। फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

खेलमा पहिलो सेट नेपालले २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा नेपालले २५–१५ ले जित निकाल्दा चौथो सेट उज्बेकिस्तानले २५-२२ ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यस्तै प्रतिस्पर्धात्मक पाँचौ सेटमा नेपालले १५– १० ले जित निकाल्दै उपाधि जितेको हो।

यो सँगै नेपाली महिला टोलीले लगातार दोस्रो पटक सेन्ट्रल जोनको उपाधि जितेको हो। पुरुषतर्फ भने नेपाली टोली पदकविहीन रह्यो।

क्रिकेटको विवाद उत्कर्षमा

यो वर्षको अन्त्यसम्मका नेपाली क्रिकेट निकासविहीन भएर अडिएको छ। सोमपाल कामीको ग्रेडिङलाई लिएर सुरु भएको खेलाडी र क्रिकेट संघको विवादले उग्र रुपमा लिँदा ज्ञानेन्द्र मल्लको कप्तानी र दीपेन्द्रसिंह ऐरीको उपकप्तानी खोसिएको छ। साथै चार जना खेलाडी कारवाहीमा परेका छन्। अन्य केही खेलाडीले कारवाहीमा परेका खेलाडीको समर्थनमा ऐक्यवद्धता जनाइरहेका छन्। ज्ञानेन्द्र मल्ल लगायतले पत्रकार सम्मेलन नै गरेर कारवाही पुनर्विचार गर्न आग्रह गरेका छन्। यो प्रकरणमा प्रधानमन्त्रीले पनि चासो दिइरहेका छन्। क्यानको बोर्डकै केही सदस्यहरुले खेलाडी कार्वाही र अन्य गतिविधिलाई लिएर नेतृत्वको चर्को विरोध गरेका छन्। नेपाली टोलीको नयाँ कप्तान सन्दीप लामिछाने बनेका छन् भने प्रशिक्षकका रुपमा पुबुदु दासानायके नेपाल आइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell